म तिम्रो सहर छोडी आफ्नै गाउँ जाँदै छु

समाधान संवाददाता २०७७ वैशाख ४ गते १६:०९

मोती भुजेल

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ।


मुलुक अढाई सातादेखि ‘लकडाउन’ मा छ । यसबीचमा पनि घर फर्कनेको ताँती छ । हरेक दिन सयौं मान्छे आफू काम गरिरहेको सहर छाडेर थातथलो फर्किरहेका छन् । सरकारले यी मानिसलाई न सहरमै अड्याउन सकेको छ, न सहज रूपमा घर पुर्याइदिने प्रबन्ध नै मिलाउन चाहेको देखिन्छ । अहिलेको विश्वव्यापी संकटमा हरेक मुलुकले आकस्मिक रूपमा निर्णय गरेर युद्धस्तरमा काम गर्नुपर्ने समय हो । कोरोना भाइरस (कोभिड(१९) रोकथाम र नियन्त्रणका लागि हरसम्भव उपलब्ध हुनसक्ने सबैखाले उपाय अपनाउनु पर्छ । हाम्रो देशले पनि अकस्मात लकडाउन गर्दा यसका केही तत्कालीन नकारात्मक लाग्ने प्रभावहरू देखिरहेका छन् ।

Advertisement

लकडाउन पूर्व कानमा तेल राखेर घाम तापेको सरकार झल्याँस् बिउँझेर लकडाउन गर्दा ज्यालादारी मजदुरहरु अफ्ठयारोमा परेका छन् । गत चैत्र ६ गते देखि सन्चालन हुने एसइइ परिक्षाको सिट प्लान सकेर बसेका सरकारी कर्माचारी र भोली पल्ट परिक्षा दिन भनेर घर देखि टाढा १५ दिनको लागि भएपनि एक महिनाको अग्रीम डेराभाडा तिरेर बसेका दुरदराजका कैयौं विधार्थीलाइ अन्तिम क्षणमा यो राजधानीको सरकारले तत्कालको लागि उद्दार गरेकै हो ।

चीनबाट सुरु भएको संक्रामक रोग विश्वभर फैलिन थालेपछि विश्व स्वास्थ संगठनले कोरोना भाइरस संक्रमणलाई महामारी घोषणा गर्यो । र यससँग लड्न सबै राष्ट्रहरुलाई एकजुट हुन आव्हान गर्यो ।

Advertisement

नेपाललाइ पनि जोखिमयुक्त देश घोषणा गरेको धेरै दिन सम्म पनि राजधानीको सरकारले तत्काल ठोस कदम चालेन । एसइइ परिक्षा स्थगीत गरेको पाँच दिन बितीसक्दा पनि लकडाउन पश्चात के कस्ता समस्याहरु आइपर्न सकछन् भन्ने कुराको हेक्कै राखेन फलस्वरुप आज ज्यालादारी मजदुरहरु मर्कामा परेका छन् । न गाउँ जान दिन्छ सरकार न सहरमा बाँच्न दिन्छ ।

यदि सरकारले पहिले नै दूरदर्शी सोच राख्न सकेको भए या व्यवस्थापन राम्रो मिलाउन जानेको भए, यो समस्या टार्नै नसकिने थिएन । मुलुकमा कोरोना भाइसरको पहिलो संक्रमणको घटना देखिएको एक महिनासम्म राजधानिको सरकार अलमलियो । विश्वव्यापी संकट सिर्जना भइसक्दा पनि पर्याप्त तयारी नै गरेन । एकैपटक मुलुकभित्र संक्रमणको दोस्रो घटना पाइएपछि सरकार हत्तपत्त लकडाउन घोषणा गर्नुपर्ने अवस्थामा पुग्दा यो स्थिति निम्तियो ।

संक्रमण फैलिन नदिन लकडाउन अपरिहार्य थियो । एसइइ परिक्षा स्थगितपछि ज्यालादारी मजदुर र असंगठित क्षेत्रका कामदारहरू, जसको सहरमा टेक्ने र समाउने कुनै आधार थिएन उनीहरूको समस्याबारे राजधानीको सरकारले बुझ्नै सकेन । सिक्नुपर्ने हो,ठुलाठुला बिकसित राष्ट्रहरुको हबिगत देखेर तर सिकेन । लकडाउनको पाँच दिनपछि सरकारले न्यून आय भएकाहरूका लागि राहत कार्यक्रम त ल्यायो, तर त्यसले ज्यालादारी मजदुरहरूलाई छुनै सकेन । भोलि उठी के खाने केही टुंगो नभएपछि उनीहरूका लागि जाने ठाउँ आफ्नै गाउँ थियो । गाडी नचले पनि, बाटामा खाने सामलको उचित व्यवस्था नभए पनि, उनीहरू घर पुग्ने लामो पैदलयात्रामा निस्किए । आफ्नो घर छ । परिवार छन् । आफ्नै खेत बारी छ । फिर्दाको भोगाइ आफैंमा दुख्खदायी भएपनि ।

कर्मथलोमा पेट पाल्न धौ–धौ भएपछि बाटो लागेकाहरू सयौं किलोमिटर पैदल हिँडेर घर पुगेका छन् । कोही अझै हिँडिरहेका छन् । उनीहरूका गोडामा उठेका ठेला त केही दिनमा बिसेक होलान् ,बाटोमा भोकले निमोठिएको पेट केही दिनमा शान्त होला, तर यो बेला राज्यबाट आडभरोसा नपाएको घाउ नचाहेर पनि उनीहरूको मनमा खील बनेर गढिरहेनछ । यसमा सरकारले संकटको समय भनेर सुख पाउँदैन । नागरिकलाई सरकारको साथ चाहिने नै अप्ठ्यारो परेका बेलामा हो । सामान्य बेलामा त उनीहरूले आफ्नो गरेर खाएकै छन् नि, बरु राज्यलाई दुई–चार पैसा कुत पनि तिरेका छन् । त्यसैले उनीहरूले अहिले भोगेको कष्टभन्दा उनीहरूप्रति राज्यको गैरजिम्मेवारी र लाचारीपन बढी दुख्खलाग्दो छ । लकडाउनको उद्देश्य संक्रमण फैलिन नदिनु हो । तर यसको आधारभूत सर्त हुन्छ, लकडाउनमा परेका मानिसहरूको न्यूनतम आवश्यकता प्रबन्ध गरिदिनुपर्छ ।


कोरोना भाइरस (कोभिड(१९) रोकथाम, नियन्त्रणका र जाँचका लागि आवश्यक समान र किट अमेरिकाले त थप्न सकेको छैन । हाम्रो देशले थप्छ भनेर ढुक्क नबसौं । अब गाउँ जानै पर्छ ।

तर, यहाँ सरकारले ज्यालादारी मजदुरहरूलाई कर्मथलोमा अड्याउन विफल भएको छ । यसमा पालिका र वडाहरूले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्नुपर्छ । आवश्यक स्रोत–साधन जुटाउन संघ र प्रदेश सरकारले सघाउनुपर्छ । हाम्रो जस्तो सानो मुलुकमा यति धेरै स्थानीय तहहरु छन यिनीहरुको आवश्यकता केका लागि त । सरकारले तेस्रो पटक लकडाउनको अबधि पनि थपिसकेको छ । ज्यालादारी मजदुरहरुको सहर छाड्ने क्रम अझै बड्ने छ सरकार यसमा गम्भीर बन्नसकिरहेको छैन । जो बीच बाटोमा पुगिसकेका छन् उनीहरूलाई यस्तै कष्टकर पैदलयात्रा जारी राख्न लगाउनु किमार्थ उचित हुँदैन । आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर, पालिका तथा प्रदेश सरकारहरूले कुनै तवरबाट उनीहरूलाई निश्चित गन्तव्य सम्म पु¥याउनै पर्छ ।

रहरले लकडाउन अवज्ञा गरेका होइनन् । सरकारी तवरबाट जति लकडाउनको अवज्ञा भएको छ त्यसको अनुपातमा कम छ । यो बेलामा मानवअधिकार भन्ने शब्द कहाँ छ । सरकारले थप्न सक्ने भनेकै लकडाउन हो । फेरि पनि थप्छ । कोरोना भाइरस (कोभिड(१९) रोकथाम, नियन्त्रणका र जाँचका लागि आवश्यक समान र किट अमेरिकाले त थप्न सकेको छैन । हाम्रो देशले थप्छ भनेर ढुक्क नबसौं । अब गाउँ जानै पर्छ । परनिर्भर अर्थतन्त्रले अल्पविकसित वा अविकसित मुलुकका मौलिक परम्परा, सीप, ज्ञान, बजार र वितरण प्रणालीलाई पूरै ध्वस्त बनायो । विकासका नाममा प्रकृतिविरोधि कार्यहरूबाट विनाशको शृंखला सुरु भयो ।

गाउँघरका कृषिउपज र तीबाट बनेका खाद्यपदार्थ उत्पादन गर्ने ससाना उद्योग, कलकारखाना र स्वदेशी कच्चा पदार्थमा आधारित औषधि उत्पादन गर्ने उद्योगहरूले विकसित राष्ट्रका अत्याधुनिक प्रविधि र ज्ञान अनि पुँजीसँग प्रतिस्पर्धा गर्ने कुनै गुन्जायस रहने कुरै भएन । फलस्वरूप नेपाल र नेपालजस्तै अर्थतन्त्र भएका अल्पविकसित वा अविकसित राष्ट्रको अर्थतन्त्र पूरै परनिर्भर हुन थाल्यो । यो परनिर्भरताले यतिसम्म गरेको छ, आज जुनसुकै ग्रामीण र विकट भेगमा पनि चाउचाउ, चिसो पेयपदार्थ, बियर, व्रान्डेड रक्सी, चुरोटजस्ता बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामानहरू सहजै पाउन सकिन्छ, तर ढिँडो, सातु, सिन्की, गुन्द्रक, अठिया केरा, लट्टे, बेथे, लुँडेजस्ता सागपात र खाद्यपदार्थहरू पाउन सहज छैन ।

त्यसैले पनि अब गाउँ जानै पर्छ फेरी कृषि क्रान्ति गर्नै पर्छ । केही समय लाग्ला मानवजातिले यो महामारीलाई अवश्य परास्त गर्नेछ । त्यतिन्जेल धेरै जनधनको क्षति भने भइसकेको हुनेछ । महामारी नियन्त्रणपछि अब विश्वको शक्ति सन्तुलन र अर्थव्यवस्थामा निकै ठूलो उथलपुथल आउनेछ भन्ने पूर्वानुमान गर्न हामीजस्ता गैरअर्थशास्त्रीलाई पनि कठिन छैन । हरेक संकटले अवसर पनि ल्याएको हुन्छ । त्यसका लागि आवश्यक चिन्तन र विमर्श गरौं । कोरोना कहर मात्र होइन, अर्थतन्त्रलाई परनिर्भरबाट आत्मनिर्भर बनाउने अवसर पनि हो । साँच्चै कोरोना महामारी पछिको संसार फरक हुनेछ ।

धर्म र जातिको सर्वोच्चताका लागि भाँडिदै गएको समाज, सम्पन्न र विपन्नबीच बढ्दै गएको खाडलजस्ता समस्याले ग्रस्त विश्वलाई कोरोना महामारीले साँच्चै पाठ सिकाउने छ । मानव इतिहासले महामारीका थुप्रै रुप भोगेको छ । इतिहासमा महामारी बनेर फैलिएका यस्ता थुप्रै विपद्ले हामीलाई केही न केही पाठ सिकाएको छ । तर समयक्रममा ती पाठहरु भुल्ने गर्दा हामी पटकपटक महामारीका फेरिएका रुपलाई भोग्न वाध्य हुने गरेका छौ । कोरोनापछि नेपालका दूरदराजका मानिसहरु कामको खोजीमा भारत जान छाड्नु पर्छ । अमेरिका प्रतिको आकर्षण घटाएर आफ्नै देशमा केहि गर्नु पर्छ ।

जेबी टुहुरेले गाएको गीतमा जस्तै ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ’। हामी मजदुर किसान अनि नेपाली अब त गाउँ जानु पर्छ । सहर त केही मुट्ठीभरलाइ मात्रै हो । हाम्ले सहर छाड्नै पर्छ ।

तपाईको प्रतिक्रिया