म्याग्दीमा ३२ सय परिवारलाई राहत

समाधान संवाददाता २०७७ वैशाख ५ गते १४:०५

म्याग्दी

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी)का कारण प्रभावित म्याग्दीका तीन हजार २०० परिवारलाई राहत वितरण गरिएको छ । छ वटा स्थानीय तहले वडा कार्यालयमार्फत हालसम्म तीन हजार २५९ विपन्न परिवारलाई राहत वितरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीका अनुसार वडा कार्यालयमार्फत दाल, चामल, नुन र तेलको प्याकेज बनाएर वितरण गरिएको हो । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिक, विपन्न र सुकुम्बासीहरुलाई बन्दाबन्दीपछि आयस्रोत गुमेकाले भोकै बस्न नपरोस् भन्ने उद्देश्यले सरकारले खाद्यान्न उपलब्ध गराउने कार्यक्रम ल्याएको छ ।

बेनी नगरपालिकाको १० वटा वडामा दुई हजार परिवार राहत वितरणका लागि छनौट भएकामा एक हजार १७० परिवारलाई उपलब्ध गराइसकिएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । सदरमुकाम बेनी बजार, ज्यामरुककोट, सिंगा, पुलाचौर, घतान, अर्थुङ्गे र पात्लेखेतमा राहत वितरण भइसकेको छ । छ सय परिवारलाई राहत वितरणका लागि छनौट गरेको धवलागिरी गाउँपालिकाले २५७ परिवारलाई वितरण गरेको छ ।

Advertisement

यस्तै लुलाङ, मुदी, मल्कवाङ, मराङ र ताकममा राहत वितरण भएको छ । मुना र गुर्जामा वितरण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । मालिका गाउँपालिकामा ८८८ परिवारका तीन हजार ३४७ जनसङ्ख्याका लागि राहत वितरण गरिएको छ । एक हजार २०० बोरा चामल, ६७ बोरा नुन र ६१ बोरा दाल वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

मङ्गला गाउँपालिकाले ६१८ परिवार र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगतरूपमा ३२६ परिवारलाई रु चार लाखको खाद्यान्न खरिद गरेर वितरण गर्नुभएको छ । रघुगङ्गामा वडामार्फत राहतका लागि ६०० परिवारको सफारिस आएको नायव सुब्बा दयाराम पौडेलले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले ५०० परिवारलाई छनोट गरेर वडा कार्यालयमार्फत राहत वितरण गर्न शुरु गरेको प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिनुभयो । प्रतिपरिवार एक बोरा चामल, तीनदेखि चार केजी दाल, दुईदेखि तीन लिटर खाने तेल र तीन वटाका दरले हात धुने साबुन वितरण भइरहेको उहाँले बताउनुभयो ।

कोरोना रोकथाम नियन्त्रण, व्यवस्थापन र राहतका लागि बेनी नगरपालिकाले रु ५० लाख, अन्नपूर्ण गाउँपालिकाले रु ७०सत्तरी लाख, रघुगङ्गा गाउँपालिकाले रु ३४ लाख, मङ्गला गाउँपालिकाले रु ३० लाख, मालिका गाउँपालिकाले रु २० लाख र धवलागिरि गाउँपालिकाले रु ५० लाख विनियोजन गरेका छन् । रासस

तपाईको प्रतिक्रिया