पोखराबाट पनि गएका थिए भारतको मुस्लिम सम्मेलनमा

धार्मिक सभामा गएर पोखरा फर्केका मुसलमानको कोरोना परीक्षण हुँदै
समाधान संवाददाता, पोखरा
भारतीय राजधानी नयाँदिल्लीको निजामुद्दिन मर्कज (बंगलेवाली मस्जिद) मा बितेको महिना सम्पन्न तबलिगी जमातको इज्तिमामा पोखराबाट समेत २ जना गएको पाइएको छ ।
उक्त सम्मेलनमा संलग्नमध्ये कतिपयमा कोरोना भाइरसको संक्रमण देखिएको हुँदा पोखराबाट गएकाहरुको पनि परीक्षण हुन लागेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार आफ्नो फेसबुक लाइभबाट उक्त जानकारी दिएका हुन् । ‘मैले पोखरा १३ का वडाध्यक्ष दर्शन लामासँग कुराकानी गरें, मियापाटन जहाँ मुस्लिम दाजुभाइहरु बस्नुहुन्छ, उहाँले २ जनाको नाम दिनुभयो, एकजना घर सप्तरी र अहिले सिद्धार्थ चोकमा काठको व्यापार बस्ने, अर्काे सायद मियापाटनको हुनुहुँदोरहेछ, उहाँको नाम र नम्बर कास्कीको सीडीओ साब र एसपीलाई पठाएर स्वाब संकलन गर्ने भन्या छ,’ मुख्यमन्त्रीले भने, ‘आरडीटी टेस्ट आज (शनिबार) भएछ ।’
सिद्धार्थचोकमा बस्नेको आरडीटी परीक्षण नेगेटिभ आइसकेको जानकारी उनले दिए । मुख्यमन्त्री गुरुङका अनुसार आइतबार दुवैजना र उनका परिवारहरुको पीसीआर परीक्षण नै गरिँदैछ । ‘उहाँहरुसँगको कन्टयाक्ट ट्रेसिङ गरेर कन्ट्याक्टमा आएकाहरुको पनि टेस्ट गरेर उदयपुरको घटनाजस्तो, दिल्लीको घटना जस्तो, लखनऊको घटनाजस्तो नहोस् भनेर सचेत भाछौं,’ उनले भने ।
उदयपुरमा बसेका १ नेपालीसहित ११ भारतीय नागरिक गरी १२ जनामा शुक्रबार कोरोना संक्रमण भेटिएको थियो । उनीहरु भारतमा भएको मुस्लिम धार्मिक सभा (तबलिगी जमातको इज्तिमा)मा सहभागी भएर फर्किएकाहरु थिए ।
उनीहरुलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिसकिएको छ । शनिबार उदयपुरमा अरु संक्रमित भेटिएका छन् । शनिबार फेरि उदयपुरमा १ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
तपाईको प्रतिक्रिया