भोको पेटले लकडाउन भन्दो रहेनछ

समाधान संवाददाता २०७७ वैशाख ७ गते ८:४८

महेन्द्र पौडेल उपाध्याय

कुरा वैशाख ४ गते रातिको हो । लकडाउनको समय झोलामा केही थान बिस्कुट, चाउचाउ र सानो पोको चिउरा र केही जोर टिसर्ट र पाइन्ट हालेर ७ जनाको यात्रा शुरु भो ४ सय किलोमिटरको । खल्तीमा एउटा हजार र अर्को पाँच सयको नोट, न ठाउँको पत्तो छ न त जाने बाटोको ज्ञान छ । याद छ केबल गाउँबाट आउदा गाडीले बुटवल हुँदै ल्याएको । बिहीबार मिर्मिरेमै मादी गाउँपालिका छोडेका उनीहरु ११ घन्टाको यात्रापछि साँझ मात्रै पोखरा १७ बिरौटा आइपुगे ।


कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागिधारमा खानेपानी आयोजनामा काम गर्ने दाङ घर भएका यज्ञबहादुर बुढाथोकी, नगेन्द्र पुन, दीपक केसी, जागुराम चौधरी, राजेश चौधरी र सल्यान घर भएका तेजबहादुर ओली र दिपक गिरी वैशाख ४ गते पोखराको बिरौटा चोकमा आएर अलपत्रमा परे । अब कता जाने के गर्ने भनेर ! संयोगले म उनीहरु अलपत्र परेको ठाउँ पुगे । उनीहरुलाई थाहा छैन कति हिँड्नुपर्छ र कति दिन लाग्छ घर पुग्न । बाटोमा पानी किन्दा साहुजीसँग सोधेछन्, साहुजीले गुगलमा सर्च गर्दा पोखराबाट दाङ पुग्न ३ सय ४७ किलोमिटर लामो बाटो रहेको बताएछन् । अलपत्र परेका ती मजदुरहरुले पहिलो दिन बिहीबार मात्रै करिब ४० किलोमिटरको दूरी पार गरिसके ।

मैले कुरा गर्दै जादा पत्ता लाग्यो दाङको सदरमुकाम पुगेपछि पनि १ दिनभरिको पैदल हिंड्नुपर्ने रहेछ उनीहरुको घर पुग्न । मोटामोटी हिसाब गर्दा उनीहरुले ४ सय किलोमिटरभन्दा धेरै दूरी पैदल हिंड्नुपर्ने । अझ २ जना पुग्नुपर्ने त्यो भन्दा ८६ किलोमिटर उत्तै ।


कामै सकियो, काम गर्ने ठाउँको दोकानमा पनि रासन छैन । पसलेले सामान दिन सक्दैनौं भन्यो र लकडाउन कहिलेसम्म हुने हो भन्ने पनि थाहा भएन


मैले हिसाब गरें दिनमा ४० किलोमिटर हिँडे भने पनि १० दिनभन्दा बढी लाग्छ दाङ पुग्न । अर्का २ लाइ १२ दिन लाग्छ घरसम्म पुग्न तर उनीहरु हप्ता दिनमा पुगिन्छ कि भन्ने आश गरेर हिडेका रहेछन् । त्यसमाथि प्रशासनको ठाउँठाउँमा हुने अवरोधबारे त उनीहरुलाई जानकारी छैन, विचरा !


मजदुर टोलीका ३७ वर्षीय यज्ञबहादुर बुढाथोकी काम गर्ने ठाउँमा पनि रासन सकिएपछि घरतिर लागेको सुनाए । मादी गाउपालिकाले वितरण गरेको २५ केजी चामलसहित अन्य सामग्री पाएका थियौें भन्छन् ‘राहतै सकियो’, ‘कामै सकियो, काम गर्ने ठाउँको दोकानमा पनि रासन छैन । पसलेले सामान दिन सक्दैनौं भन्यो र लकडाउन कहिलेसम्म हुने हो भन्ने पनि थाहा भएन,’ उनले भने, ‘दोकानमा भएको चाउचाउ र चिउरा पोको पारेर निस्केका हौं । राजमार्ग नछोडी गए त पुगिएला नि !’


पैदल हिड्नुपर्ने बाटोको दुरी सुनेपछि उनीहरु आफै झसंग भएका बताछन् । ओली दुखी हुँदै भने गाडीमा आउँदा त एकदिनमै छिचोल्ने बाटो पैदल हिंड्दा निकै धेरै दिन लाग्ने भो, न बासको ठेगान न खानेको नै । ‘जहाँ पुगिन्छ उतै बस्ने त हो । खाने कुरै पाइएन भने चिउरा साथमा छ, उनीहरु भन्छन्, ‘हामी धेरै नै छौं । पानी आएन भने त खुला ठाउँमै सुते पनि समस्या हुँदैन । राति पनि हिड्नका लागि सहयोग होस् भनेर पोखराको पृथ्वीचोकमा २ सय ५० पर्ने टर्च लाइट किनेका छौं ।


लकडाउन घोषणासँगै कुनै पनि ठाउँमा होटल रेस्टुरेन्टहरु खुलेका थिएनन् । उनीहरुलाई दाङको यात्रा गर्दा गर्दै बिहीबार बिरौटाबाट प्रहरीले पनि अघि बढ्न दिएन । मैले सोचें विचरा रातमा ओत लाग्ने ठाउँ छैन, मुख्यमन्त्रीलाई फोन गर्दा लागेन र उहाँका राजनीतिक सल्लाहकारलाइ फोन गरें वडाको क्वारेनटाइनमा भन भन्नु भो । वडाध्यक्षलाई फोन गर्दा त्यस्तो क्वारेन्टाइन नरहेको बताउनुभयो ।


सिडिओ, मेयर सबै ठाउँ सम्पर्क गरें जताबाट आएका हुन् उतै फर्किन भन्नु र बाहिरबाट आएकालाइ क्वारेन्टाइन व्यवस्थापन गर्न सकिदैनँ मादी नै फर्किन लगाउनुहोला भनेर उत्तर आयो । अन्तिममा केही सिप नलागेपछि मैले कास्की २ (क) बाट निर्वाचित सांसद कृष्ण थापालाई फोन गरं । उहाँले यस्तो राति हामीले मानवताको नाताले जसरी भए पनि व्यवास्था गर्नुपर्छ भन्नुभयो । गाह्रो परे आफू आउने बताउनुभयो । हुन्छ माननीय ज्यू म एक पटक कतै कुरा गर्छु अफ्ट्यारो परेमा फेरि खबर गर्छु तपाईलाईं भनी मैले फोन काटें ।


रातिको ८ बजिसकेको थियो सबैतिर फोन गरे कोरोनाको कारण डराउर कसैले कोठा दिन मानेनन् ढिलो नगरी मैले ड्यामसाइड क्लबका अध्यक्ष पदम ढकाललाइ फोन गरें र सहयोग गर्न सकिन्छ र भनेर सोधे, हुन्छ म होटलसँग कुरा गर्छु भनेर भन्नुभयो । ढकाल सरले होटल स्पोर्टमा अनुरोध गर्दा २ बटा कोठा दिने पक्का भयो । यसरी ७ जना उनीहरुको टोलीलाई ढकाल सरको सहायताले होटल स्पोर्टमा राख्न सफल भइयो ।


होटलमा व्यवस्थापन गरेपछि माननीय कृष्ण थापालाई व्यवस्थापनका बारेमा जानकारी गराएँ । भोलि के कस्तो व्यवस्थापन गर्ने अरु सल्लाह गरौंला भन्नुभयो । होटलवालाले पकाएर खुवाउन कोही पनि स्टाफ नभएको कारण गाह्रो छ, जस्तो हुन्छ त्यस्तै खानुहोला भन्दै अन्तिममा मासको दाल र भात पकाएर दिए । होटल सञ्चालकले राति मानवताको हिसावले बास दिएको हो, होटल सञ्चालक भन्छन्, ‘फेरि यस्तो बेला होटलमा मान्छे राख्यो भनेर वरिपरिकाले गाली गर्छन्’ । दिउसो थाहा पाए ढकाल सरलाई पनि छिमेकीले गाली गरेछन् । पोखरामा होटल व्यवसायहरु ठप्प भएको महिना दिन बितिसक्यो कस्सो कोठा पाइयो । अफ्ठ्यारो परेको बेला कतै कोठा नमिल्दा कोठा दिनुभएकोमा स्पोर्ट होटलका सञ्चालकलाई मनमनै मुरीमुरी धन्यवाद दिएँ ।


त्यो रात होटल स्पोर्टमा व्यवस्थापन गरेर ढकाल सर र म घरतिर लाग्यांै । रातिको साढे ८ वा ९ कति बजेको थियो घर पुगे बुवा रिसाउँदै, ‘आमाबुवाको मन छोरा छोरीमाथि छोराछोरीको मन ढुंगामुढा माथि’ भन्दै कता गएर आइस यस्तो बेलामा तलाई कोरोनाले छोयो भने के गर्ने अलि विचार गरेर घरै बस भन्नुभो । मनमा त्यो टोलीलाई कसरी घर फर्काउने भन्ने पिरले होला बुवाको गाली सुनेका नसुनी गरेर कोठामा गएँ ।


राति ९ बजेर १९ मिनेट जाँदा फेसबुकमा तस्बिरसहित मादी गाउँपालिका वडा नम्बर ८ बाट दाङका लागि ५ जना र सल्यानको लागि २ जना लकडाउनको बेला हिडेर पोखरा १७ मा आएर अलपत्र परेकालाई होटलमा राखेर सहयोग गरियो । यसरी हिडेका नागरिकलाई जिम्मा लिने कसले ? भनेर फेसबुकमा पोस्ट गरे । आदर्श समाज दैनिकका पत्रकार प्रकाश ढकालले फोन गर्नु भो । ‘महेन्द्र भाइ राम्रो गरेछौ परेको सहयोग म पनि गर्छु है’ भन्नु भो झन् हौसला थपियो । दाइसँग भोलि बिहान ६ बजे भटेर कुरा गरौंला भनेर फोन काटें । लगत्तै समाधान पत्रिकाका अनुप पौडेलले पनि फोन गर्दा तेही उत्तर दिएँ । राति भोलि के गर्ने होला भन्ने कुराले निन्द्रा लागेन मोबाइल चलाएर बस्दा कुन बेला निदाएछु थाहा पाइनँ ।


लकडाउनको शुरुदेखि नै गण्डकी प्रदेश सरकारले मजदुरहरुलाई आफू बसिरहेको ठाउँ नछोड्नु भन्ने समाचार रेडियो र टेलिभिजनमा सुनिथ्यो । तर यी मजदुरहरुले सरकारको लकडाउन मात्रै बुझे अरु निर्देशन मानेनन्, हुन् पनि भोको पेटले लकडाउन के चिन्थ्यो ।


मजदुर अलपत्र परेको थाहा पाए पनि सुरुमा खासै चासो भने दिइएको थिएन, सायद नजिकका होलान फर्किन्छन् भनेर होला, प्रहरी प्रशासनले व्यवस्था मिलाउछ भनेर होला, म जान्दिनँ । मेरो उद्देश्य त केबल अलपत्र परेकाले दुख नपाए हुन्थ्यो कतै व्यवस्थापन गर्न पाए हुन्थ्यो भन्ने थियो ।


पत्रकार ढकाल दाइले बिहान ६ साढे ६ कति बजेतिर फोन गर्नु भयो । दाइको फोन घन्टीले मलाई उठायो । बिरौटा भेटेर जाने कुरा भयो । उहाँ बिरौटा आउनु भो, बिरौटामा अन्य लकडाउन उल्लगन गरेकाहरुको भिडियो खिचेर प्रकाश दाइ र सोही बेला बिरौटामा अचानक भेट हुनु भएका जनता टेलिभिजनका पत्रकार गिरिधारि पोखरेलसहित होटल तिर लाग्यांै । त्यहाँ बसेर यज्ञबहादुर बुढाथोकीसँग सोधपुछ गरेर प्रकाश दाइ र म सम्बन्धित निकायमा फेरि फोन गर्नतिर लाग्यौं ।


अलपत्र मजदुरको ब्यवस्थापन गरिदिन आग्रह गर्दा सुरुमा सबैले झन्झट सम्झेर होला पन्छाए । धेरैतिर फोन गरें, तर सुरुमा कसैले जिम्मेवारी लिन मानेन, मजदुरसँगै रहेर सम्बन्धित निकायमा फोन गरिरहें, ‘यताबाट उता र उताबाट यता भनेर देखाउने फोनले वाक्क परेको थिए । मेरो केही चलेन भन्ने सोचमा थिएँ तै पनि प्रयत्न गर्न छोडिनँ ढकाल दाइ पनि जसरी पनि उद्दार गर्नुपर्छ भनेर कस्सिनु भो ।


गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतलाई फोन गर्दा सचिव हरि बस्याल सरसँग सल्लाह गरेर मालेपाटन वा लामापाटनको क्वारेनटाइन राख्ने कुरा भो । बस्याल सरले सुरुमा मालेपाटन भनेपछि होटलबाट मालेपाटनतिर लम्कियौ, तर जिल्ला प्रशासन कार्यालय कास्की नजिक पुग्दा मेरो माबवाइलमा फेरी मालेपाटनमा राख्न नमिल्ने जानकारी बस्याल सरबाट आयो । सवा ७ बजे होटलबाट निस्केकालाई टोलीलाइ संघीय प्रहरी कार्यालय अगाडि राखेर फेरि फोन गर्न तिर लागें । प्रकाश दाइ फेवातालको के रिपोर्ट कि समाचार छ पुगेर आउँछु भन्नुभयो । बस्दा बस्दा १० बजिसकेको थियो म दोकानमा के पाइन्छ किनेर खुवाउछु भन्ने सोचमा थिएँ । केही समयपछि दाइले फोन गर्नुभयो महेन्द्र भाइ खानको व्यवस्था लेकसाइडमा रहेको ओम शान्तिले गर्छ है भन्नु भयो मन ढुक्क भयो ।


मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेको नम्बर खोजी कुराकानी हँुदा मुख्यमन्त्रीज्यू र अन्य मन्त्री ११ बजे बैठक बसेर सल्लाह गर्ने कुरा थाहा भयो । त्यसपछि केहिबेरमा बाटोमा नबस्नुहोला भनेर प्रहरीले भनेपछि सहिद पार्कमा लाग्यौं । केही मिनेटपछि सहिद पार्कमा बस्न मिल्दैन भन्दै एक प्रहरी जवानले भने । मुख्यमन्त्री निवास र जिल्ला प्रशासन कार्यालय कास्की नजिक भएर होला । कोमागाने मितेरी पार्क जानु भन्ने प्रहरीबाट निर्देशन आयो फेिी मितेरी पार्कतिर लाग्यौं । प्रकाश दाइ र राससमा काम गर्ने राधिका कँडेल दिदीले खाना प्याकिंङ गरेर ल्याउनुभएको रैछ, मितेरी पार्कमा बसेर खुसी हुँदै खाना खाए । आपतमा सहयोग गर्ने ओम शान्ति परिवारलाई धेरै धेरै साधुवाद ।


हामी पनि भोकै भएको हुँदा खाना खान जाऊँ भन्ने कुरा भयो र करिब १२ बजेको आसपास आ–आफ्नो घर तिर खान खान लाग्यौं । म खान खाएर १५ मिनेटमा फेरि मितेरी पार्क पुगें । अनि प्रकाश दाइलाई फोन गरें । उहाँले भाइ काम पनि गर्ने प¥यो भन्नुभो र एकछिनमा काम सकेर आउने वाचा गर्नुभो ।
म लगायत ७ जनाको टोली निर्णयको पर्खाइमा थियौं । ११ बजे छलफल भएर निर्णय आउँछ भनेर मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले भन्नुभएको थियो । बिहान ७ बजेबाट ठाउँ ठेगानको पत्तो नभएर हो कि कुर्दा सारै गाह्रो भो । कुर्दाकुर्दै १ बज्यो, २ बज्यो साढे २ तिर फेरि एक पटक गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतसँग सम्पर्क गरे उनीहरुको व्यवस्थापन कसरी गर्ने त्यो पनि सल्लाह गरौंला, मन्त्री रामशरण बस्नेतले ‘सकेसम्म पोखरामै राख्ने प्रबन्ध मिलाउछौंं भन्नुभो । फेरि एकछिनमा आफै फोन गर्नु भयो र पानी पर्न लागेको छ ओत लाग्ने ठाउँ छ ? भनेर प्रश्न गर्नुभयो ? मैले मन्त्री ज्यु कतै व्यवस्था गरौंला भने ।


सिमसिम पानी परेको हुँदा केदारेश्वर मन्दिरको आश्रम रैछ । त्यहीँ ओत लागेर बस्यौ केहीबेरमै पानी पनि बस्यो । ३ बज्न लागेको थियो । मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङसँग पनि सम्पर्क गरेर कुराकानी गरें । उहाँले मादी नै राहत सहित पठाउने हो एकपटक हाम्रो भौतिक मन्त्री रामशरण बस्नेतलाइ फोन गर्नु भन्नु भो । राम्रो रेस्पोन्स गर्नु भएकोमा खुसी लाग्यो । मन्त्री रामशरण बस्नेतलाई कल गर्दा मुख्यमन्त्रीको मा जाँदै छु एकै छिन् है भन्नु भो । फेरि ३ बजेर ३६ मिनेट जाँदा मन्त्री रामशरण बस्नेतलाई फेरि कल गरें । मान्य मन्त्री बस्नेतले एसपीसँग कुरा गरेको छु गाडी त्यहीं आउछ भन्नु भो । गाडी ४ः२५ सम्म पनि आएन, लकडाउनको समय भएका कारण होला गाडी खोज्न अफ्ट्यारो परेको । ४ः२६ मा फेरि फोन गरें । मन्त्री बस्नेतले म बुझिहालें भनेर फोन काट्नुभो । फेरि २ मिनेटमै गाडी हिँडिसकेको छ भनेर मलाई फोन गर्नुभो । उहाँले मुख्यमन्त्री कार्यालय हुँदै राहत लिएर मात्र पठाउनुहोला है भन्नु भो । मैले हुन्छ भनिपछि फोन काट्नु भयो ।


एकछिनमा ७ जनाको टोलीलाई कोमागाने पार्कबाट बैदाम प्रहरी कार्यालय अगाडीको सानो चौरमा राखियो फेरि पानी सिमसिम परेको हँुदा भित्र ओतमा बस्न प्रहरी दाजुहरुले भन्नुभयो, नरम शैलीमा सहयोग गर्नुहुने सम्पूर्ण प्रहरीहरुलाई धन्यवाद । केही बेरपछि बोलेरो जिप आयो र ७ जनाको टोली जिपमा चढें । म मेरो मोटरसाइकलमा रुझ्दै मुख्यमन्त्री कार्यालय पुगें । अहिले यस्तो अवस्थामा घर जान दिन मिल्दैन, मन्त्री रामशरण बस्नेतले बताउनुभयो । मन्त्रीज्यूले गाह्रोमा परेकालाई सहयोग गर्नुभएकोमा मलाई धन्यवाद भन्नुभो ।
मुख्यमन्त्री कार्यालयबाट ३५ किलो चामल, १४ किलो चिउरा, १४ किलो दाल, साढे २ लिटर तेल, ७ पोका नुन राहतसहित ७ जनाको टोली बोलेर चढेर खुसी हँुदै मलाई धन्यवाद दाजु पुगेर फोन गर्छौ है भने सहयोग गर्न पाउँदा सारै खुसी लाग्यो । उनीहरुको दुःख गण्डकी प्रदेश सरकारले बुझ्यो ।


अहिले पोखरालगायत देशका विभिन्न ठाउबाट दैनिक सयौं व्यक्ति घरतिर लागेका देखिन्छन् । ठाउँठाउँमा प्रहरी लगाएर चेकजाँच गरे पनि दोस्रो बाटोबाट प्रहरीको आँखा छल्दै उनीहरु गन्तव्यमा लागिरहेका देखिन्छ । बिहीबार साँझ मात्र १७ जनाले नजिक भएको हुँदा अर्को टोलीलाई प्रहरीले बिरौटाबाटै छिनेडाँडा फर्काइदिएको थियो । सरकारले पीडित र विपन्नलाई राहत उपलब्ध गराउने भने पनि दैनिकी टार्न समस्या हुन थालेपछि मजदुरहरु घरतिर लागेका भेटिएको छ ।


अलपत्र परेका नागरिकलाइ सुरक्षित स्थान पु¥याउन सहयोग गर्नुभएकोमा मेरो व्यक्तिगत तर्फबाट गण्डकी प्रदेशका माननीयहरु तथा सहयोग गर्ने सबैमा विशेष धन्यवाद् ।
अनेरास्ववियुको राजनीतिमा क्रियाशील पौडेल गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाको स्वकीय सचिव हुन्

तपाईको प्रतिक्रिया