रोग, भोक र गरिबीले पहिल्यैदेखि लकडाउन जिन्दगी

समाधान संवाददाता २०७७ वैशाख ७ गते १५:२५

अनुप पौडेल, पोखरा

श्रीमतीलाई के रोग छ भन्ने थाहा छैन । खाटमा ओछ्याउने तन्ना ओडेर दिनभर सुतिरहन्छिन् । बोल्दा पनि बोल्दिनन् ।

‘पहिल्यैबाट पैंतलामा खुन जम्थ्यो । विस्तारै अरु भागमा त्यस्तै हुन थाल्यो । अहिले निधारमा खुन जमेको छ,’ सेती किनारको शान्तिघाटमा भेटिएका लोकबहादुर गुरुङले सुतिरहेकी श्रीमतीतिर हेर्दै सुनाए ।

Advertisement

धादिङका गुरुङको आफ्नै उमेर पनि अरुको साहरामा चल्नुपर्ने हुन लागिसक्यो । बिमार परेकी श्रीमतीको उपचार गर्न उनले सक्दो प्रयास गरे । ‘गण्डकी गएँ, त्यहाँबाट मनिपाल जानु भन्यो, त्यहाँ पनि गएँ । उपचार गर्न सक्दिन भन्ने लागेपछि अस्पताल जानै छाडेँ,’ उनले अस्पताल धाउँदाका पीडा साटे ।

२ महिना पहिलासम्म भारतीय पेन्सन क्याम्प नजिकै बस्थे । आजभोलि शान्तिघाटको पौवामा भेटिन्छन् । श्रीमती दिनभर सुतिरहँदा आफू सेती बगेको हेरेर दिन बिताउँछन् । मनका कुरा सेतीसँगै साट्छन् ।

Advertisement

छोराछोरी दुवै गाउँमा छन् । लकडाउन अघि बिहान सबेरै उठेर सडकमा भेटिने प्लास्टिक टिप्ने र त्यसैलाई बेचेर केही आम्दानी गर्थे । त्यही कमाइ जीविका धान्ने आधार थियो । तर, आजभोलि दैनिकी फेरिएको छ । काम केही छैन ।

खान, बस्न मुस्किल हुन लागेपछि केही दिनअघि गाउँतिर लागेका पनि थिए । बिमार श्रीमतीलाई लिएर हिँडेका उनी पोखरा कट्नै पाएनन् । ‘घर जानलाई हिँडेको थिएँ । तालचोकमा प्रहरीले रोके । सबै कुरा सोधे अनि यतै फिर्ता पठाइदिए,’ उनले भने ।

भोको पेट ३ दिन बिताए उनले । स्थानीयले दिएको चामलले जेनतेन ज्यान धानिएको छ । ‘साहुहरुले चामल दिएको थियो । बिहान त्यही पकाएर खाएँ । बेलुकालाई पनि राख्याछु,’ गुरुङ लवजमा उनले सुनाए ।

मनमा भएको पीडा चुनाव ताकालाई साँचेर राखेका छन् । भन्छन्, ‘के हो म कुरा बुझ्नै सक्दिन । भोलि चुनावमा १० औंला जोडेर आउँदा भनुँला भनेर मनमा कुरा राख्याछु ।’

जीविका चलाउन मुस्किल भएको पत्तो पाएपछि पोखरा महानगरपालिकाले लोकबहादुरलाई राहत दिएको छ । आइतबार सेती किनारको शान्तिघाटमै पुगेरै महानगरको द्रुत प्रतिकार्य समूहले राहत उपलब्ध गराएको हो ।

तत्कालका लागि उनलाई १२ किलो चामल, २ किलो दाल र नुन वितरण गरिएको समूको नेतृत्व गरिरहेका पन्जिकरण शाखा प्रमुख चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया