मुस्ताङमा १५ जनाको कोरोना परीक्षण

समाधान संवाददाता २०७७ वैशाख ८ गते १५:४०

एसके थकाली, जोमसोम

मुस्ताङको घरपझोङ गाउपालिका र थासाङ गाउपालिकामा विदेशबाट आएका शंकास्पद व्यक्तिहरुको र्‍यापिड डाइगोनोष्टिक टेष्ट (आरडीटी) परीक्षण सुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङको समन्वयमा जिल्ला अस्पतालका मेडिकल चिकित्सकले १५ जनाको र्‍यापिड परीक्षण गराएका हुन् । विदेशबाट फर्किएर जिल्ला आएकाको कोरोना परीक्षण आइतबार देखि सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।

Advertisement

थासाङ गाउपालिकाको घासा स्थित जनता आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ७ जना, छिमेकी देश भारतबाट आएको तिब्बतीयन शरणार्थी ३ जना, घरपझोङ –५ ठिनीमा १ जना, कारागार शाखामा २ जना र जिल्ला अस्पताल जोमसोममा २ जना गरी कुल १५ जनाको कोरोना परीक्षण भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

र्‍यापिड परीक्षण गरिएका सबैको रिपोर्ट नेगिटिभ आएको उनले बताए । यस्तै, सोमबार वारागुङ मुत्तिक्षेत्र गाउपालिका–१ रानीपौवामा २ जना र घरपझोङ–२ मार्फामा ११ जना विदेशबाट आएका व्यक्तिहरुको कोरोना परीक्षण गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

Advertisement

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले चैत्र महिनाको पहिलो साता विदेशबाट मुस्ताङ आएको व्यक्तिहरुको जिल्लाको ५ वटै स्थानीय तहलाई विवरण माग गरेको थियो । तर, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाबाट विवरण आईनपुगेको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए । पूरै विवरण नआएकाले कोरोना परीक्षण गर्न समस्या परेको बताए । मुस्ताङमा १ सय ७७ थान

पिपिई मौज्दात

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि मुस्ताङका विभिन्न सरोकारवाला निकायले व्यक्तिगत सुरक्षा उपकरण पिपिई उपलब्ध गराएका छन् । कोरोना परीक्षणमा खटिने जिल्लाका चिकित्सकहरुको स्वास्थ्य सुरक्षार्थ जिग्मे फाउन्डेसनबाट ७० थान, गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनबाट १४ थान, पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीबाट १० थान सहयोग भएको हो । यस्तै, प्रदेश स्वास्थ्य निर्देशनालयबाट ५८ थान, नेपाली सेनाबाट ५ थान र नेपाल रेडक्रस सोसाइटीबाट ५ थान पिपिई उपलब्ध भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

प्राप्त पिपिई मध्ये २ थान पिपिई खर्च भएको उनले जनाए । प्रदेश क्षेत्रीय स्वास्थ्य निदेशनालयले २ चरण गरी १ सय २० थान र्‍यापिड डाइगोनोष्टिक किट उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया