मेडम ! हाम्रो पीडा कसले सुन्छ ?

समाधान संवाददाता २०७७ वैशाख १० गते ६:०१

जमुना वर्षा शर्मा

जिन्दगीका भोगाइ, अनुभव र अनुभूति सबैका आ–आफ्नै हुन्छन् । आफूलाई परेको समस्या आफैलाई ठूलो लाग्नु स्वभाविक पनि हो । केही दिनअघि ‘लकडाउन र त्यो साँझको यात्रा’ मा पोखरादेखि बागलुङसम्मको स्कुटर यात्रामा छोराछोरीको ममताले जितेको पललाई उतार्ने प्रयास गरेकी थिएँ । उक्त यात्रामा प्रहरीले गरेको सहयोगदेखि प्रहरीकै अनावश्यक प्रश्नले भोग्नु परेको हैरानी समेत उल्लेख थियो ।


प्रकाशित लकडाउन डायरी पढेपछि एकजना प्रहरी अधिकृतको फोन आयो । मेडम ! लेख पढें राम्रो लाग्यो, लेख्न सक्नेले आफूले भोगेका समस्या उर्ताछन् तर लेख्ने समय नहुने र शब्दको खेतीसँग नजोडिनेहरुका पीडा कसले सुनिदेला ? दिनरात सुरक्षा सेवामा खटिने प्रहरीका पीडा हजुरका भन्दा कम छैनन् तर उनीहरु हजुरले जस्तो शब्द बगाउन सक्दैन ।

Advertisement


मेरो लेखमा पीडाको छटपटीभन्दा पनि वर्तमान असहज अवस्थामा छोराछोरीको मायाको एक भावना थियो, कोरोनाको त्रासमा झस्किएको एउटा अविचलित मन थियो अनि बिरामी सन्तानमाथि प्रहरीका अनावश्यक प्रश्नको एउटा भोगाइ थियो ।


‘कसलाई दोष दिनु, सायद हाम्रो संस्कार दोषी होला, जसमा हामी हुर्कियौं, नियम तोड्नुनै आफ्नो प्रतिष्ठा ठानेर रमायौं ।’

Advertisement
प्रहरी अधिकृत


लेखको प्रतिक्रियासँगै उहाँले धेरै कुरा भन्नुभयो । मैले सुनें र उहाँका भनाइ भित्रको पीडालाई महसुस गरेँ । त्यो दिन त्यस्तै भयो ।


साँझपखको यात्रा सम्झें, प्रहरीको सहयोग सम्झें, प्रहरीले नै गरेको त्यो अवरोध सम्झें, फेरी प्रहरी अधिकृतले नै भनेको त्यो भनाइ सम्झें, ‘मेडम प्रहरीका भोगाइ सुन्दा एउटा उपन्यास बन्ला के १ हजार १५ सय शब्दमा अट्ला र ? मानवीय कमी कमजोरी हरेकको हुन्छ तर बद्नाम सधै संगठनको हुन्छ, एउटा पत्रकारले गरेको गल्ती लिएर हजुरलाई त्यही दृष्टिकोणबाट हे¥यो भने न्याय होला ?’


गुञ्जिरहे तिनै वाक्यहरु । कतिबेला निदाएँ थाहा भएन ।


बिहान भयो, कहिले फिल्डमा कहिले घरभित्रैबाट स्रोतलाई सम्पर्क गरेर समाचार बनाउनु अहिलेको दिनचर्या हो । यत्तिकैमा मोबाइलको म्यासेन्जरमा एउटा म्यासेज आयो मेडम हाम्रो कुरा सुन्न त फुर्सद हुँदैन हजुरलाई लेख्ने फुर्सद के होला ? उत्तर के दिने भएँ । काम गर्दै थिएँ । एकछिन पछि फुर्सद भयो । नम्बर मागे अनि फोनमा कुरा गर‌े‌ं ।
सुन्नुस्, मेडम केही दिनअघिको कुरा हो, राजमार्गमा लकडाउन अनुगमनका लागि प्रहरी टोली निस्किएको थियो । विभिन्न ठाँउमा चेकजाँचसँगै आफ्नै ठाँउमा पनि मोबाइल चेक पोस्ट खडा गरी फर्केने क्रममा थियौं ।

एक चेक प्वाइन्टमा एक जना प्रहरी हबलदारले मोटरसाइकलमा आएका २ जना रोकेर आवश्यक सोधपुछ गरे । मोटरसाइकल सवार व्यक्तिको आवाज यसेै चर्को भयो । उहाँहरुले सामान लिएर आएको मलाई किन रोकेको भन्दै हबलदारलाई उल्टै थर्काउन थाल्नुभयो । हबलदारले सामान के थियो भनेर जान्न खोज्दै हुनुहुन्थ्यो । तर ती व्यक्तिले किन चाहियो ? मैले जे लिएर आए पनि भन्दै हबलदारलाई थर्काउनुभयो ।


वादविवाद बढ्दै गएपछि म गाडीबाट ओर्लें । मैले भने, प्रहरीले आफ्नो कर्तव्य पूरा गरेको हो सर, रिसाउनु पर्दैन हामी खटिएको हाम्रो लागि होइन, हजुरहरुकै लागि हो । मैले यति भन्न नपाउँदै उहाँ त मसँग झनै निर्मम भएर खनिन थाल्नुभयो । रिसकै आवेशमा खल्तीबाट परिचय पत्र समेत मतिर फाल्नुभयो । मैले परिचय पत्र किन फाल्नु भएको हातमा दिए पनि वा त्यहींबाट देखाए पनि हुने भने तर उहाँले नजिक किन आउने भन्दै अझ आवाज उचो बनाउनुभयो ।


कहिलेकाहिँ नेपाल प्रहरीका सकारात्मक समाचार हामीले पनि हेर्न पाए पक्कै पनि कार्यक्षेत्रमा खटिएका प्रहरीलाई ऊर्जा मिल्थ्यो होला नि ।


‘मलाई सम्झाउनु पर्दैन, म नेपाल सरकारको कर्मचारी हुँ’ उहाँमा देखिएको एक प्रकारको घमण्डले प्रहरीलाई निरीह बनाइरहेको थियो । प्रहरीमाथिको त्यो अभद्र व्यवहार कति सह्य थिएन ।


मैले हबलदारलाई मोटरसाइकल साइडमा लगाउन भने तर उहाँले साइड लगाउन मान्नु भएन बाइक अगाडि बढाउन खोज्नुभयो । उहाँको अटेरी व्यवहारले ड्युटीमा रहेका प्रहरीमाथि निकै अपमान गरेको थियो । मैले मोटरसाइकलको चाबी लिन लिन लगाएँ । उहाँले हामीलाई धम्की दिँदै भन्नु ‘आजको व्यवहारको मूल्य छिट्टै चुकाउनु पर्नेछ ।’ आक्रोशसहित केही ठाउँमा फोन पनि लगाउनुभयो ।


मानिसको भीड हुन थालेको थियो । भीड मध्येबाट एक जना आएर उहाँको परिचय मलाई बताउनुभयो । मैले जय नेपाल टक्राएँ, उहाँले जय नेपाल फर्काउनु भयो ( उहाँ फौजीचाहिँ होइन) । मैले उहाँलाई फेरि भने सरले यो ताप र रापमा आफ्नो ज्यान र परिवारभन्दा माथि देशलाई राखेर कर्तव्यमा खटिएका प्रहरीमाथि अलि विनम्र भएर बोलिदिएको भए के जान्थ्यो र ? हजुरले आफ्नो ‘इमरजेन्सी प्रुफ’ गर्न सक्नुभएन ।
उहाँमा उस्तै दम्भ थियो ‘मलाई सिकाउँदै हुनुहुन्छ, ख्याल राख्नुस् है साप ।’

मैले भने ख्याल राखंँे सर, मलाई केही फरक पदैन, मैले हजुरहरु जस्तो धेरैबाट यस्तो व्यवहार भोगिसकेको छु । लाग्छ, हजुरहरुको जस्तो धेरै व्यक्तिहरुको आक्रोश कुण्ठा पोख्ने हामी प्रहरीनै भएका छौं । यहाँको आक्रोश धम्की देख्दा यहाँले सके मलाई नसके यी हबलदार विरुद्ध कारवाहीका लागि लाग्नुहोला । आफै अनुशासन तोड्नेले अरुलाई अनुशासनको पाठ सिकाउनु कति सुहाउँला र ?


अनावश्यक वादविवादको शैलीले केही उपस्थित सर्वसाधरणा पनि उहाँका विरुद्ध बोल्न थाले । उहाँ बाटो लाग्नुभयो ।


यत्तिकैमा हबलदार आएर मेरो कानमा भने ‘सर, हजुरहरु हामीलाई आदेश गर्नुहुन्छ, सायद यी व्यक्ति पनि हजुरलाई आदेश गर्न मध्येकै होलान्, के आदेश गर्नेले नियम मान्नु पर्दैन ?’ हामीले अनुहार हेरेर कसरी थाहा पाउने ? कमसेकम बोली व्यवहारले हामीलाई हौसला दिए पनि हुने नि । हबलदारको प्रश्नले मलाई जवाफविहीन बनायो । ‘कसलाई दोष दिनु, सायद हाम्रो संस्कार दोषी होला, जसमा हामी हुर्कियौं, नियम तोड्नुनै आफ्नो प्रतिष्ठा ठानेर रमायौं ।’

यत्तिकैमा उहाँले पत्रकारको कुरा पनि उठाउनुभयो । ‘राज्यको चौथौ अंग मानिने पत्रकार जगतभित्र पनि अनुशासनको निकै खडेरी देख्छु, नरिसाउनु होला ।’


हरेक दिन सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा प्रहरीको दुुव्र्यवहार भन्दै समाचार आइरहेका हुन्छन् तर त्यसभित्र लुकेका पात्रले आफूलाई कसरी प्रस्तुत गरिरहेका छन् भन्ने विषय सोचनीय छ ।


उदेक लाग्छ । प्रहरीले एम्बुलेन्स रोक्यो, दूधको गाडी रोक्यो, औषधी बोक्ने गाडी रोक्यो, पत्रकारलाई रोक्यो । कहिल्यै सोचिएन कि, त्यो रोक्नु पछाडिको कारण के थियो ? दूधको गाडीले बढी भाडा लिएर मान्छे ओर्सान मिल्छ ? एम्बुलेन्सभित्र गाँजा देखि मान्छे ओसार्नेसम्म भेटेका छौंं । पत्रकारको पास भिरेर गाडीमा आफन्त इष्टमित्रलाई पटक पटक ओसार्न गरेको भेटेका छौं ।

राज्यले प्रदान गरेको सेवा सुविधालाई दुरुपयोग गर्न मिल्छ ? यस्ता कुरा कहिल्यै आउँदैनन्, प्रहरीले रोकेका कुरा कति छिटो अखबार र रेडियो टेलिभिजनमा आउँछन् वास्तविकता सुन्ने फुर्सद कसैलाई छैन । अहिलेको अवस्थामा प्रहरीले चेकजाँच नगरी पठाए अवस्था कस्तो होला ? फेरि दोष त प्रहरी मै आउँछ । कुनै कमजोरी नभइकन दूध, खाद्यान्न, एम्बुलेन्स लगायत अन्य अत्यावश्यक कामका सवारी र व्यक्ति रोकिने सम्भावना निकै न्यून हुन्छ ।


हेनुस्, मान्छे सवारी साधन लिएर हिड्न दिए लकडाउन खै पालना गरेको, के हेरेर बसेको छ प्रहरी भन्छन् । सडकमा हिँड्नेलाई बल प्रयोग गरेर लकडाउन पालना गर्न लगायो, अमानवीय, सम्वेदनाहीन र निर्दयी भन्ने आरोप लाग्छ । न्यूनतम सुरक्षा कवचबिना उच्च जोखिमका बीच महिना दिनदेखि २४ सै घन्टा सडकमा खटिएका प्रति कसैले सहानुभूति देखिँदैन । सधै नकरात्मक दृष्टिकोणबाट मात्र प्रहरीको छवि ल्याइदिँदा उच्च मनोबलले काम गर्नेप्रति न्याय हुन सकेको छैन ।

मानवीय कमिकमजोरी प्रहरी भित्र पनि छ, गलत गर्ने र कानुन उल्लंघन गर्नेलाई कारबाही भएको छ, हुनुपर्छ यसमा दुईमत छैन । कहिलेकाहिँ नेपाल प्रहरीका सकारात्मक समाचार हामीले पनि हेर्न पाए पक्कै पनि कार्यक्षेत्रमा खटिएका प्रहरीलाई ऊर्जा मिल्थ्यो होला नि ।


मेडम, निकै व्यस्त मान्छे तपाइँ, डिस्टर्ब गरें । मेरो कुरा सुनिदिनुभएकोमा धन्यवाद ! यति भन्दै उहाँले फोन राख्नुभयो ।


एकछिन सोचें अहिले सरकारले लकडाउन गरेको छ, मानिसको भीड रोक्न प्रहरीलाई आदेश छ । आदेश मान्यो सर्वसाधरण रिसाउने नमान्यो माथिल्लो निकायबाट दबाब । बाहिर देखिने र बनाइने विचार निकै सतही हुन्छन्, जो भोगिन्छ त्यो देखिँदैन, जुन देखिन्छ त्यो भोगिँदैन । पक्कै पनि अधिकार सिकाउनेले कर्तव्यको पालन गर्नैपर्छ । कानुनभन्दा माथि न उच्च पदस्थ व्यक्ति हुन्छ, न त पत्रकार, न त कुनै राजनीतिक दल ।


अहिलेको अवस्था विषम छ । जति संयमित भएर जोगिन सक्यो त्यति नै आफू, आफ्नो परिवार समाज र देश जोगिन सक्छ तसर्थ कानुनको पालना गरौं । इमान्दार रुपमा कर्तव्यमा खटिएकालाई सम्मान गर्रौ, आफ्नो पेसाको मर्यादा कायम राखौं, दुरुपयोग नगरौं ।

तपाईको प्रतिक्रिया