नेपालका लागि अमेरिकी अनुभव–संक्रमित हुँदैमा भर्ना गर्ने होइन, सम्भव पनि छैन

समाधान संवाददाता २०७७ वैशाख ११ गते १:४५

डा. सन्तोष पौडेल/अमेरिका

जुन दिन मेरो शरीर दुख्न सुरु गर्‍यो त्यो दिन म कोरोना संक्रमित बिरामीको उपचारमा थिएँ । काममा गएको दिन मार्च ३० मा १२ जना कोरोनाका बिरामीको स्वास्थ्य अवस्था बुझेर नोट लेख्दा असहज महशुस हुन थाल्यो ।

त्यसपछि अस्पतालमा रहेको ड्राइभ थु्र टेस्ट (गाडीबाट ननिस्कि स्वयं गरिने परीक्षण) गरेर घर गएँ । मलाई १०३ डिग्रीसम्म ज्वरो आएपनि २/४ दिनमा काममा जान सक्छु भन्ने लागेको थियो ।

ज्वरो सञ्चो नभए पनि मैले आफ्नो मनोबल उच्च राखेको थिएँ । परिवारमा सदस्यलाई भन्ने वा नभन्ने दोधारमा थिएँ । लक्षण देखिएको छैटौं दिनमा खाना रुच्न छोड्यो । सुरुमा खोकी थिएन । खोकी सातौं दिनबाट सुरु भएको थियो । १० औं दिनमा खोकी बढ्यो र अक्सिजन खस्न थाल्यो ।

म त्यो दिन सुत्न पनि सकिनँ । डर लाग्न थाल्यो । म आफैले जाँचेका कति बिरामीलाई मैले मेडिकल वार्डबाट आइसियूमा पठाएको थिएँ । त्यो बेला मलाई राम्रोभन्दा नराम्रो भएका बिरामीको याद आउन थाल्यो ।

घरमा बसेर कोरोनाविरुद्ध लडौं वा अस्पताल जाऔं भन्ने लागेको थियो । पछि मेरो श्रीमतीले यहाँको इमरजेन्सी सर्भिसलाई बोलइन् र मलाई अस्पताल लगियो । घरबाट नजिकैको अस्पतालमा पु¥याइयो । त्यहाँ जाँच गरेपछि मलाई घर जान सक्ने अवस्था छ भनियो । तर कमजोर महशुस भइरहेको थियो ।

त्यसले गर्दा मैले २ दिनका लागि अस्पताल बस्ने निधो गरें । सँगै काम गर्ने साथीहरु बीच रहें भने राम्रो हुन्छ भनेर काम गर्ने अस्पतालमा बेड खाली भए त्यही बस्ने इच्छा देखाएँ । तर त्यो बेला मेरो अवस्था निकै कमजोर थियो । इच्छाअनुसार मलाई त्यही अस्पतालमा लगियो ।

साथीहरुले मेरो ख्याल राखे । १३ औं दिनमा मेरो ज्वरो ९९ डिग्रीसम्म आयो । त्यो देख्दा मेरो मनोबल बढेको थियो । त्यसपछि मैले सिटामोलको प्रयोग गरिन । सायद जिन्दगीमा मैले दैनिक ४ वटासम्म सिटमोल खाएको थिइनँ ।

अस्पतालमा कसैसँग पनि भेट्न पाइँदैनथ्यो । त्यहाँ भित्र र बाहिर फोन राखिएको हुन्थ्यो । त्यसबाटै साथीहरुसँग कुराकानी गर्ने गथ्र्यौं । १६ औं दिनमा मेरो उपचार गरिरहेको साथीले मलाई घर जाने कि के गर्ने भनेर सोध्यो ।

अस्पतालमा बेड ओगटेर बस्नभन्दा घर जानै ठिक हुन्छ भनेर घर जाने निर्णय गरें । अहिले हामी ३०÷४० जनाको समूह छ । हाम्रोमा पीपीई थियो तर पर्याप्त थिएन ।

दिनमा एउटा मास्क दिइन्थ्यो । एकपटक लगाएपछि त्यसलाई खोलेर केही खाने भन्ने सम्भव थिएन । मास्क बाहिर भाइरस हुनसक्छ, हातमा भाइरस हुनसक्छ भनेर बिहान खाना आएपछि सिधै बेलुका खाना खान्थें ।

कतै केही छोइहाले पनि हात धुन्थें । तर त्यति गर्दासमेत संक्रमण देखियो भनेपछि कति खतरनाक भाइरस होला ! पर्याप्त सुरक्षा सामग्री भएका बेला ८ हजार स्वास्थ्यकर्मीको परीक्षण गर्दा ९ सय जनालाई देखियो भनेपछि यो भाइरस कत्तिको संक्रामक छ भन्ने आफै अनुमान लगाउन सकिन्छ ।

कोरोनासँग जुध्न नेपालले के गर्ने सक्छ ?

स्वास्थ्य क्षेत्रमा राम्रो लगानी भएका अमेरिकासँगै यूरोपका देशलाई अहिले कोरोनासँग लड्न गाह्रो भएको छ । कोरोनाविरुद्ध लड्ने तयारी गर्न यूरोपसँग प्रसस्त समय थियो तर यसलाई हलुका रुपमा लिइयो ।

अब पीपीई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर नेपालले सोच्नुपर्छ । उत्पादन संख्या धेरै भएका छिमेकी राष्ट्र चीन र भारतले नेपाललाई सहयोग गर्न सक्छन् । साधारण लक्षण भएकालाई अन्य ठाउँमा राखेर उपचार गर्न सकिन्छ भने अस्पतालमा राखेर पीपीई किन खर्च गर्ने ?

अहिले संक्रमितको संख्या कम भएकाले सबैलाई अस्पतालमा राखेर उपचार गर्न सम्भव छ तर त्यो दिगो हुँदैन । यो संख्या ढिलोचाँडो बढ्छ । समुदायमा कोही संक्रमित छ भने उनीहरुलाई छुट्टै घरमा राख्नुपर्छ ।

त्यो सम्भव नभए स्थानीय तहले होटल वा सरकारी भवनको व्यवस्था गनुपर्छ । अस्पतालमा बस्न आवश्यक नभएका बिरामीलाई समुदायमा जान नदिई त्यहाँ आइसोलेट गर्नुपर्छ । बिरामी कुन अस्पताल जाने, कसरी जाने र कसरी अरुको सम्पर्कमा नआउने भनेर योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ ।

ज्वरो आएका १० जना एकैचोटी दौडिन लागे भने सबैलाई सर्न सक्छ । चीनमा ४० जना हुँदा अमेरिकामा २ जना मात्र संक्रमित थिए । भविष्यमा संक्रमित बढ्न सक्छन् भन्ने लागेर हामीले तयारी गरिरहेका थियौं ।

अहिले कोरोनाका लागि भ्याक्सिन बनाउने काम तीव्र छ । यदि बनेको भ्यक्सिन सफल भयो भने विश्वका सबै देशमा पु¥याउँदा अर्को १२ देखि १८ महिनासम्म लाग्छ । सबै मानिस एकैपटक संक्रमित भए भने संसारका सबै देशको स्वास्थ्य क्षेत्र कोल्याप्स हुन्छ ।

त्यस्तो अवस्थामा घर बसेर बाँच्यो भने भगवान भरोसा नभए मृत्यु हुन्छ । प्राय जसो देश आफै लडिरहेकाले अहिले सहयोग गर्न पनि गाह्रो छ । हाल मलेरियाको औषधिको बारेमा अनुसन्धान भइरहेको छ । म आफैले १० दिनसम्म मलेरियाको औषधि खाएँ । यसले बाथका लागि पनि काम गर्छ । मेरो आमाले बाथका लागि यही औषधि प्रयोग गर्नुहुन्थ्यो ।

यो औषधि सकभर खाने औषधि त होइन किनकि यसले मुटुका बिरामीलाई असर गर्न सक्छ । मैले त्यो औषधि खाएँ र सुधार भयो तर औषधिले नै हो वा रोगको अवधि हो भन्नेचाहीँ भन्न गाह्र्रो छ ।

नेपालीलाई सन्देश

मैले आफ्नै परिवरलाई पनि बुझाउन समय लाग्यो । म स्वयं संक्रमित भएपछि मेरो परिवारका सदस्य र साथीहरु सतर्क हुनुहुन्छ । नेपालीको रोग प्रतिरोध क्षमता बढी छ, कोरोना लाग्दैन र मौसमले साथ दिन्छ भनेर बस्नु गलत हो । कोरोनाले धनी, गरिब, अमेरिकन, नेपाली केही भन्दैन ।

युवालाई लाग्दैन भन्ने गरिए पनि ती उमेर समूहका मानिसको पनि मृत्यु भएको छ । तर युवा पुस्ता अझ बढी सतर्क हुनुहोला किनकि तपाईंमा लक्षण नदेखिए पनि अरुलाई सार्न सक्नुहुन्छ । हात धुनुस् र सोसियल आइसोलेट गर्नुस् भन्ने मेरो सुझाव छ ।

यो जति शारीरिक समस्या हो त्यति नै मानसिक समस्या हो । मनोबल बढाउन घर परिवारको साथ आवश्यक हुन्छ । प्रत्यक्ष भेटेर कुरा गर्न नसके पनि फोनबाट कुरा गर्न सकिन्छ । आशा छ छिट्टै यसको भ्याक्सिन बन्नेछ ।

(डा. पौडेल अमेरिकाको बोस्टन राज्यमा कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका बेला स्वयं संक्रमित भएका थिए । १६ औं दिनमा कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका उनी अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।)

प्रस्तुति– अनुप पौडेल/पोखरा

तपाईको प्रतिक्रिया