लक डाउन अवज्ञा गर्ने ३५ डोल्पाली यात्रुलाई मुस्ताङबाट पाेखरा फर्काइयाे

समाधान संवाददाता २०७७ वैशाख ११ गते १३:३६

एसके थकाली, जोमसोम

Advertisement

विश्वव्यापी महामारीको रुपमा उत्पन्न नोभल कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि सरकारले लगाएको लक डाउन उलंघन गर्दै बिहीबार मुस्ताङ आएको एक बसका चालक तथा सहचालकसहितको ३५ जना यात्रुलाई गण्डकी प्रदेशको समन्वयमा पोखरा फिर्ता पठाईएको छ ।

बुधबार वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको सोर्सफोर्स तथा आन्तरिक व्यवस्थापनमा डोल्पाली यात्रु काठमान्डौंबाट मुस्ताङतर्फ आईरहेको श्रोतले जनाएको छ । घोडाघोडी यातायात सेवाको बा४ख ८७७२ नम्बरको यात्रु वाहक बसमा सवार ३५ जनालाई यात्रुलाई क्वारेन्टाईमा बस्न अनुरोध गरिएको तर क्वारेन्टाईन बस्न उनीहरु नपानेपछि म्याग्दी र मुस्ताङको सीमाक्षेत्रको घासा प्रहरी चेकपोष्टबाट पोखरा फिर्ता पठाईएको घासा प्रहरी चौकीका ईञ्चार्ज नीमप्रसाद तिमिस्सिनाले जानकारी दिए ।

लक डाउनको अवज्ञा गर्दै सरकारी निकायको कुनै अनुमती पत्र बिना मुस्ताङतर्फ आईरहेका उनीहरु सबै छिमेकी जिल्ला डोल्पाको थोरङ छोस्राङ गाउपालिकाको भएको ईञ्चार्ज तिमिल्सिनाले बताए । बसको सिट क्षमता २६ सिट भएपनि ३१ यात्रु चढेका थिए । लकडाउन छल्दै रातारात मुस्ताङ आइरहेको उक्त बसमा १२ पुरुष र २१ महिला भएको थासाङ–४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए । बसका डोल्पाली यात्रुलाई प्रहरी चौकी घासा र थासाङ–४ स्थानीयले लक डाउन अवधिमा आउजाउ गर्न नपाइने भनी सुझाएका थिए ।

प्रदेश सांसद महेन्द्रबहादुर थकाली र जिसस प्रमुख छिरिङ ल्हामो गुरुङको उपस्थितिमा उनीहरुलाई सम्झाइ बुझाइ गरिएको जनाइएको छ । सांसदसहितको रोहबरमा उनीहरुलाई १४ दिन क्वारेन्टा‍इनमा बस्न अनुरोध गरिए पनि उनीहरु नमानेको वडाध्यक्ष शेरचनले जानकारी दिए ।

Advertisement

उनीहरुलाई प्रदेश सरकारको समन्वयमा पोखरामा क्वोरन्टाइनमा राख्ने व्यवस्था भएको उनले बताए । लक डाउनको पहिलो चरणमा पोखरादेखि मुस्ताङ आएको ३ वटा बसका उपल्लो मुस्ताङका ७५ यात्रुलाई पर्वतको डिमुवा चेकपोष्टबाट पोखरा फिर्ता पठाइएको थियो ।

यस्तै ,लक डाउनको समयमा पोखराबाट पैदल तथा मालवाहक ट्रकमा आएका १२ जना व्यक्तिलाई क्वारेन्टाईनमा राखिएको थियो । घासा क्वारेन्टाइनमा बस्ने १२ मध्ये ७ जना व्यक्ति १४ दिन बिताएर घर फर्किसकेका छन् । कोरोना भाइरस फैलिन नदिन सरकारले लक डाउन गरेसँगै मुस्ताङका झन्डै ७ सय व्यक्ति एक महिना देखि पोखरामा अलपत्र छन् । उनीहरुलाई जिल्ला फर्काउने विषयमा विभिन्न प्रयास भइरहेको सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया