तनहुँमा ४ जना क्वारेन्टाइनमा

समाधान संवाददाता २०७७ वैशाख ११ गते १५:२०

कृष्ण न्यौपाने, दमाैली

बन्दाबन्दी लागू भएपछि सिराहाबाट तनहुँको बन्दीपुर गाउँपालिका आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । सिराहा घर भई बन्दीपुरस्थित एक कार्यालयमा कार्यरत श्रीमान्, श्रीमती र उनीहरुका दुई छोरालाई क्वारेन्टाइनमा राखिएको हो ।

बन्दीपुर गाउँपालिका–४ टुँडीखेलस्थित रत्नज्योति निम्न माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । “तीन दिन अगाडी बन्दीपुर आइपुगेका उनीहरुलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमै राखिनेछ,” अधिकारीले भन्नुभयो ।

Advertisement

जिल्लाका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून छ । यसअघि व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा दुई जना र देवघाट गाउँपालिका–५ स्थित धर्मार्थ अस्पतालमा एक जना क्वारेन्टाइनमा बसेका थिए । १४ दिन पुगेपछि स्वास्थ्य जाँच गरेर उनीहरुलाई घर पठाइएको थियो । जिल्लामा चैत १ गतेदेखि विदेशबाट फर्किनेको सङ्ख्या ८ सय २७ पुगेको छ ।

भानु नगरपालिकामा ९०, व्यास नगरपालिकामा १ सय ९४, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय २५, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा १ सय ३, देवघाट गाउँपालिकामा ३७, बन्दीपुर गाउँपालिकामा २३ र आँबुखैरेनी गाउँपालिकामा २६ जना विदेशबाट आएका छन् । ती सबै होम क्वारेन्टाइनमै छन् । जिल्लाका दश स्थानीय तहमा १ सय ८१ शय्या क्षमताको क्वारेन्टाइन बनाइएको छ ।

Advertisement

काठमाडौबाट मजदुर तथा विद्यार्थी ल्याइयो

बन्दीपुर घर भई काठमाडांैमा मजदूरी तथा अध्ययन गर्ने विद्यार्थीलाई गाउँपालिकाले उद्धार गरी घर ल्याएको छ । बन्दाबन्दीसँगै काठमाडौमा रोकिएका ७० जनालाई सवारीसाधनको व्यवस्था गरी गाउँ फर्काइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । थापाका अनुसार उनीहरु सबैलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ ।

६ जना थुनुवाको दू्रत परीक्षण

जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाइमा रहेका ६ जना थुनुवाको द्रूत परीक्षण (आरडिटी) गरिएको छ । थुनुवालाई जिल्ला अदालतमा पेश गर्दा अनिवार्य कोरोना परीक्षण रिपोर्ट पेश गर्नुपर्ने अदालतको आदेशानुसार उनीहरुको आरडिटीमार्फत् कोरोना सङ्क्रमण परीक्षण गरिएको हो । दमौलीका ४ र आँबुखैरेनीका २ गरी ६ जना थुनुवाको द्रूत परीक्षण गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाका दश स्थानीय तहमा ५ सय ५१ जनाको द्रूत परीक्षण सकिएको छ । परीक्षण गरिएकामध्ये ४ सय ८३ पुरुष र ६८ महिला रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार भानु नगरपालिकामामा ४८, व्यास नगरपालिकामा १ सय २२, म्याग्दे गाउँपालिकामा ३६, शुक्लागण्डकी नगरपालिकामा ७४, भीमाद नगरपालिकामा ७३, घिरिङ गाउँपालिकामा ४०, ऋषिङ गाउँपालिकामा ६२, देवघाट गाउँपालिकामा ३६, बन्दीपुर गाउँपालिकामा २२ र आँबुखैरेनी गाउँपालिकामा २१ जनाको द्रूत परीक्षण भइसकेको छ । त्यस्तै दमौली अस्पतालमा १६ जनाको द्रूत परीक्षण गरिएको छ ।

“सम्बन्धित स्थानीय तहबाट तालीमप्राप्त स्वास्थ्यकर्मी खटाएर टोल–टोलमा पुगेर द्रूत परीक्षण गरिएको छ,” अधिकारीले भन्नुभयो, “विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म बसेका सर्वसाधारणको द्रूत परीक्षण गरिएको छ ।” जिल्लाका लागि थप एक सय थान किट उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिएको छ । द्रूत परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । द्रूत परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

चैत १ गतेदेखि जिल्लामा विदेशबाट आउनेको सङ्ख्या ८ सय २७ पुगेको छ । भारतलगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ९०, व्यास नगरपालिकामा १ सय ९४, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय २५, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा १ सय ३, देवघाट गाउँपालिकामा ३७, बन्दीपुर गाउँपालिकामा २३ र आँबुखैरेनी गाउँपालिकामा २६ जना छन् । –––

तपाईको प्रतिक्रिया