माननीय ज्यू ! ‘हामी कहिले गाउँ जान पाइएला’ ?

समाधान संवाददाता २०७७ वैशाख ११ गते १७:२७

एसके थकाली, जोमसोम

हिउँदे व्यापार व्यवसायमा निस्किएका उपल्लो मुस्ताङी विगत १ महिनादेखि पोखरामा अलपत्र छन् । बर्खायाममा गाउमै खेतीपाती गर्ने र हिउदयाममा जाडो छल्न बेशी झर्ने उपल्लो मुस्ताङीको पुर्ख्याैली सभ्यता र सास्कृतिक प्रचलन हो ।

चालु वर्ष पनि साविक जस्तै उनीहरु जाडो छल्न पहाड र तराई क्षेत्रमा पुगे । बर्खायामको अन्तिम सास्कृतिक पर्व यार्तुङले हिउँदयामको संकेत गर्छ । यार्तुङ पर्व मनाए लगत्तै उनीहरुको ध्यान बेशीतर्फ मोडिन्छ । हिउँदमा मौसम प्रतिकुल हुने र खेतीपातीको कामकाज समेत नहुने भएकाले वैकल्पिक रोजगारीका लागि बेशी झर्ने उनीहरुको अर्को बाध्यता हो ।

Advertisement

बर्खायाममा खेतीपाती गर्ने र जाडो महिनामा घुमन्ते व्यापारको कमाईले उपल्लो मुस्ताङीको बर्षभरीको आर्थिक जिविका चलिरहेको छ । भौगोलिक रुपमा विकट मानिएको मुस्ताङी जिवनशैलीको सास्कृतिक प्रचलन ६ महिना गाउ र ६ महिना बेशीको व्यापार हो । गाउँका युवा तन्नेरी देखि बृद्धबृद्धा सबै हिउदपछि तल झर्छन् ।

एकाध व्यक्तिले मात्र गाउमा चौपाया र घरको रेखदेख गर्छन् । हिउदको घुमन्ते व्यापारको कमाईले एकसरो लुगाफाटा थप्ने , नुन तेल र खाद्यान्न बोकेर गाउ फिर्छन् मुस्ताङी। विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड–१९ कारण मुलुक लक डाउन भएको १ महिना पूरा भयो । तै पनि गाउँ उनीहरुको सपनामा पूर्ण बिराम लाग्यो । उनीहरु अहिले पोखरामा आफू बसेको गाउँ सम्झदै बस्न बाध्य छन् । गाउ फर्किने समयमा मुस्ताङमा भारी हिमपात भयो । हिमपातले जोमसोम–कोरला सडक अवरुद्ध भयो ।

Advertisement

हिउँ पग्लिएपछि गाउँ फर्किने पर्खाईमा बसेका उनीहरुलाई लक डाउनले अवरोध पुर्‍यायो । केही त गाउ फर्किए पनि बीच बाटोबाटै पोखरा फर्किन बाध्य भए । अहिले उनीहरु पोखराका विभिन्न स्थानमा छन् । कोही आफन्त कहा,कोही कोठा भाडामा त कोही गुम्बा र समाजघरमा आदीमा आश्रय लिएर बसेका छन् । हिउँदभरि कमाएको २ पैसा पनि सकियो, गाउँमा खेतीको काम बाँझो रह्यो अनि खर्च पनि त सकिँदै छ । उनीहरुले पोखरा र गाउँमा बसेका आफ्ना जनप्रनिधिलाई दिनहुँ फोन गरेर सोध्ने गर्छन्,‘ माननीय ज्यू ! हामीलाई कहिले गाउँ पठाईदिनु हुन्छ ? हामीले कहिले सम्म घर फर्किन पाउछौं ? ।’ यस्तै जनताको अनुत्तरित प्रश्नले पिरोल्ने गरेको उक्तक्षेत्रका गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले सुनाए। उनले भने, ‘म लगायत अरु माननीय ज्यूहरुले मुस्ताङीलाई गाउँ फर्काउन उत्तिकै सामूहिक पहल गरे । कोरोना कहरले विषम अवस्थाले रोकिदिएको छ । अब विस्तारै वातावरण अनुकुल बन्दै छ ।’ उनले अलपत्र मुस्ताङीको दुख र पीडाको दिनहुँ अपडेट हुने गरेको जनाए । ‘हामीले राहतका लागि निरन्तर सामग्री जुटाएका छौं, प्रदेश सरकारले पनि सहयोग गरेको छ ’ सांसद बिष्टले भने ।’

पोखरामा करिब तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका करिब ७ सय जनता अलपत्र रहेको जनाइएको छ । हिउँदे घुम्ती विद्यालयका रुपमा रहेका ४ वटा गुम्बा बिद्यालयका विद्यार्थी पनि गाउ फर्कन पाएका छैनन् । पोखरामा ६० देखि ९० बर्षका करिव ५० भन्दा बढी बृद्धबृद्धा रहेको सांसद बिष्टले उल्लेख गरे ।

कोरोना कहर जिल्ला स्तरीय समितिले मुस्ताङीहरुलाई घर फर्काउन पहल गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा प्रत्येक पालिकाका अलपत्र मुस्ताङीको तथ्याङ्क संकलन गर्न पालिका ,वडा र स्थानीय विपत व्यवस्थापन समितिले पहल गर्ने र त्यसलाई प्रशासनमा पेश गर्ने जनाइएको छ ।

छलफलको सहमतिमा जिल्लाको क्वारेन्टाईन क्षमताले नथेग्ने भएकाले उनीहरुलाई स्थानीय समाजघर र होमक्वारेन्टाईनमा राख्ने निर्णय गरेको लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । प्रत्येक पालिका र वडाका गाउँहरु बन्दाबन्दी गरेर अलपत्र परेकालाई व्यवस्थापन गर्न पहल भइरहेको उनले बताए

तपाईको प्रतिक्रिया