विद्यार्थी, मजदुर र दुखियालाई घरभाडा कहरबाट मुक्त गरौं

समाधान संवाददाता २०७७ वैशाख १२ गते १५:११

विवेक देवकोटा
नयाँ वर्षको पहिलो दिन बिहानै मलाई फोनको घन्टीले उठायो सोचें, ‘ह्यापी न्यु इयर’वाला होला । तर, त्यो फोन ‘न्यु इयर’का लागि थिएन । उनले मलाई आफ्नो कोठाको सामान ‘लकडाउन अवधिभर राख्दिनु प¥यो’ भन्नलाई फोन गरेका रहेछन् । किन यस्तो बेला सामान झिक्ने ? तिमी गाउँबाट फर्केपछि सारौंला के समस्या प¥यो ? भनी सोध्दा उनको जवाफले मलाई भावुक बनायो । भन्दै थिए, ‘मलाई घरबेटीले भाडा मागे मैले यो बेला भाडा दिन सक्दिनँ उताबाट बरू कोठा खाली होस् सामान लैजाऊ भन्ने जवाफ आयो अनि के गर्ने त्यसैले तपाईंलाई फोन लगाएँ ।’ यो एक विद्यार्थीको साँचो घटना हो । सम्बन्धित पक्षलाई अवगत रहोस् साँच्चै विद्यार्थी र विद्यार्थी जस्तै अड्कलेर बाँच्ने जीवनका मजदुरहरू पनि घरभाडाको समस्यामा छन् ।

विश्व मानव समाज कोरोना कहरले अतालिएको छ । नेपालमा पनि दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । यस्तो बेला हरेक मान्छेलाई सहायताको खाँचो हुन्छ । तर, हामी मानिसलाई अरूको बाध्यतामा खेल्न र पेल्न अति मजा लाग्छ । सरकारले अहिलेसम्मका लागि विपत व्यवस्थापन चित्तबुझ्दो नै गरेको छ । सरकारले व्यवस्था गरेको उपयोगी कुरामा चैत महिनाको घरभाडा नलिनु भन्ने निर्देशन पनि हो । सरकारको आदेश पालना नगर्नेलाई कारबाहीको पनि प्रावधान छ । तर, घरभाडा छुट हुन्छ कसरी ? घरधनीहरू डेरावाललाई निकाल्न तयार छन्, आफ्ना कोठाहरू खाली राख्न तयार छन्, तर भाडा छुट गर्न तयार छैनन् । एकादुई मनकारीहरूलाई छाडेर बाँकीका सबै घरधनीहरूको वास्तविकता यही हो ।

नेपालका ठूला सहरहरू काठमाडौं, पोखरा, भरतपुर, विराटनगर, वीरगन्ज, बुटवल लगायत नै हुन् । हामीले यी सहरहरूको जनजीवन जाने बुझेंकै छौँ । एक÷दुई महिनाको भाडा नलिँदैमा चल्नै नसक्ने घरधनी सायदै छैनन् भन्न मिल्छ । त्यसैले यो बेला आपत्मा परेकाहरूलाई घरभाडा मिनाहा गराउन सरकारको कुन तहले जमर्को गर्ने हो गरिहाल्नुपर्छ । खाली आदेशले मात्रै नपुग्ने भएपछि कार्यान्वयनका लागि मापदण्डको आवश्यकता छ । डेरामा बस्नेहरू उजुरीको झमेला मोल्दैनन् । अनि राज्य प्रशासन घरघर र व्यक्तिव्यक्ति माझ पुग्दैन । घरभाडा मिनाहा गराउनका लागि यसको जिम्मा त सरकारले लिनैपर्छ । तीन तहका सरकार छन् । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । त्यसो त संघ र प्रदेशसँग समन्वय गरेर स्थानीय सरकारले घरभाडा मिनाहाको विषयलाई अभियानका रूपमा अघि बढाओस् ।

विद्यार्थी जीवनकाबारे मैले खासै शब्द खर्चनु पर्दैन । जसले मेरो यो आग्रहलाई पढ्नुहुन्छ त्यो पाठकले लामो या छोटो विद्यार्थी जीवन बिताएकै हुनुहुन्छ । किसानका छोराछोरीहरू जो पढ्नका लागि बजारमा डेरा भाडामा लिन्छन्, उनीहरूको छुट्टै कथा हुन्छ । चामल, दाल, गेडागुडी, आलु, घ्यु घरबाट ल्याइन्छ । जब सकिन्छ तब घरमै दुगुर्नु पर्छ । धान, कोदो, मकै, दुध, घ्यू, बाख्रा बेचेर कमाईको पैसाले नुन, तेल, मसला, कपडा, औषधि र पढ्न पठाएका छोराछोरीको डेरा खर्चका साथै पढाई खर्च सबै पु¥याउनु पर्छ अभिभावकलाई । अब आफैं सोच्नुस् के ऋण नखोजी घर चल्छ त जब ऋणको बोझ बोकेर साहुको वचन मनमा बाँधेर डेरामा बसी पढ्नुपर्छ अनि उसको जीवन कति अड्कलेर चल्छ त उनीहरूलाई नै थाहा छ । के यस्तो महामारीका बेला उनीहरूलाई भाडामा छुट दिँदा सानो, कमजोर र गरिब भइन्छ ? पक्कै पनि न्यून आयस्रोत भएका परिवारका विद्यार्थीलाई यो बेला तपाईं हाम्रो सानो सहयोग उनीहरूका निम्ति ठूलो राहत हुनसक्छ ।

कुनै पनि प्रकारका राहतहरूको असली हकदार मजदुर हुन् । उनीहरूको पेट दैनिक ज्यालादारीबाट नै भरिन्थ्यो तर अहिले ज्यालादारीका सबै काम ठप्प छन् । मजदुरहरू कोही घरभाडामा बस्छन्, त कोही कार्यस्थलमै पाल टाँगेर बस्छन् । उनीहरूसँग राखनधरन को कुनै व्यवस्था हँुदैन । यस्तो बेला मजदुरलाई कुन हद सम्मको सकस प¥यो होला ! हामी उनीहरूको दुखमा कठ्ठै मात्र भन्छौं तर, यसलाई आफ्नो दुख ठान्दैनौं । मजदुरको दुख उनीहरूलाई नै भोग्न दिऊ ठीक छ । तर हामीले सक्ने सहयोग गर्दा उनीहरूको थोरै घाउ पुरिन्छ भने आफूले पुण्य कमाउने कुरामा किन लोभ गर्ने । मजदुरहरूको मजदुरीले नै हाम्रा दैनिक जीवनका आवश्यकताहरू पूरा हुन्छन् । उनीहरु दिन–रात, मीठो–नमिठो, फोहोर–सफा केही कुराको प्रवाह नगरी काम गर्छन् । तर, हामी उनीहरूलाई आफ्नो प्रसंग मै ल्याउन खोज्दैनौँ । त्यसरी मानवीयता बाँच्दैन । कम्तीमा मानवीय नाताले पनि योबेला हरेक घरधनीहरूले भाडा मिनाहाको सेवा गरौँ ।
यो संकटको घडीमा विद्यार्थी र मजदुरलाई मात्र अप्ठेरो परेको भने पक्कै होइन । सबै जात, धर्म, समुदायका मानिसहरू यो संकटसँग जुधिरहनुभएको छ । सबैलाई एकै किसिमको समस्या परेको छैन । जसलाई यो बेला गाँस र बाँसकै समस्या छ । उनीहरू सहायताका पहिलो हकदारहरू हुन् । हुन त सरकार र सरकारका विभिन्न निकाय तथा अन्य संघ संस्थाहरूले खाद्यान्न लगायत सामग्रीहरू वितरण गरेकै छन् । मैले घरभाडा छुटलाई मात्र जोड्न खोजेको कारण भाडा मिनाहा छुट्टै प्रकारको राहत हो । यसका लागि घरधनीहरूको तत्परताका साथ दया भावना जाग्नुपर्छ । विद्यार्थी र मजदुरलाई यो संकटका बेला डेराभाडा थुप्रिनु भनेको पोलेमाथि फकुन्डो हुनुजस्तै हो ।

बाहिरबाट हेर्दा डेरा भाडाको समस्या छैन जस्तो देखिन्छ तर, यही समस्याले कति मान्छेहरू सामानहरूको माया मारेर डेरा छाड्न बाध्य छन् । जसरी अन्य राहतका सामानहरू संघसंस्था, संगठन वा कुनै समूहका नाममा बाँड्न मिल्छ त्यसरी घरभाडा छुट गराउन मिल्दैन । त्यसैले यो महत्वपूर्ण तर कार्यान्वयन नभएको कामलाई सरकार र स्वयं घरधनीले व्यवहारमा उतार्न सक्छन् । स्वतस्फूर्त रूपमा भाडा मिनाहाको विषय व्यवहारमा लागू नहुने हकमा सरकारको सम्बन्धित निकायले एउटा प्रक्रियामार्फत विद्यार्थी, मजदुर लगायत आपतमा परेकाहरूलाई घरभाडा कहरबाट मुक्त गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया