महासंघद्वारा पत्रकारलाई सुरक्षा सामग्री

समाधान संवाददाता २०७७ वैशाख १२ गते १५:५५

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले कोभिड–१९ जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय धवलागिरि क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ ।

महासंघले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारका लागि मास्क, सेनिटाइजर र ग्लोब्स शुक्रबार प्रदान गरेको हो । महासंघको गण्डकी प्रदेश समिति उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य खेम सारु, संगम घर्तीमगर र सन्तोष गौतमको उपस्थितिमा महासंघका चारै जिल्ला शाखाका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

बागलुङमा ४०, पर्वतमा ३५, म्याग्दीमा २४ र मुस्ताङमा १० ‘सेट’ सुरक्षा सामग्री उपलब्ध गराइएको समितिका महासचिव गणेश पौडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय एन–९५ सहित सर्जिकल मास्क पनि प्रदान गरिएको छ ।

कोभिड–१९ को समाचार सङ्कल र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका प्रदेशका ११ वटै जिल्लाका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको समितिका उपाध्यक्ष शान्ति गुरुङले बताइन् । उनले विशेष सुरक्षा सावधानी अपनाउँदै संकटका बेला जिम्मेवार भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरिन् ।

सामग्री बुझेपछि बोल्दै महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषले सुरक्षा सामग्रीको उपलब्धताले पत्रकारको मनोबल बढ्ने धारणा राखिन् । शाखाले पनि विभिन्न निकाय र संघसंस्थासँग सहकार्य गरेर सुरक्षा सामग्री वितरण गरिरहेको उनको भनाइ छ । महासंघले  सुरक्षा सामग्री हालसम्म प्रदेश समितिले तनहुँ , लमजुङ , गोरखा, नवलपरासी (पुर्व) र मनाङका लागि सामग्री हस्तान्तरण गरिसकेको छ ।   

Advertisement

तपाईको प्रतिक्रिया