मा कसम…डन भनेको डनै हो के

समाधान संवाददाता २०७७ वैशाख १३ गते ११:३७

विष्णु गौतम

कोरना महामारीले विश्वलाई आक्रान्त बनाइरहेको समयमा तीन महिना अगाडिमात्रै भारतीय चलचित्र उद्योगका स्टार महेशबाबुको अभिनय रहेको चलचित्र ‘अब हामसे नाटकराना’ युटुबमा रिलिज भयो ।

सायद यही फिल्म हेरका थिए होलान् हाम्रा महेश बस्नेतले पनि । त्यसैले महेशबाबुकै शैलीमा विवाहको मण्डपबाटै नायिका अपहरण गरेझै समाजवादी पार्टीका साम्सद उपेन्द्र यादवका प्रिय पात्र डाक्टर सुरेन्द्र यादवलाई, यादवकै भाषामा अपहरण शैली अपनाए । तर महेश बस्नेतको बचपना नै हो यो राजनीतिक अपहरणको तरिका ।

Advertisement

कम्तीमा अपहरण गरेपछि त २४ सै घण्टा पहरा दिनुपर्ने थियो तर उनले त्यो गर्न सकेनन् अनि यादव भागे । महेशको अपहरण शैलीको काण्ड छताछुल्ल भयो ।फिल्म त्यतिमै सकिँदैन जसरी महेश बस्नेतको काण्ड सेलाएको छैन, अझै हात हाल्न पनि हम्मे हम्म पर्ने तातो नै छ ।

अपहरण गरेपछि महेशबाबुको योजना भनेको चुनावी एजेन्डा नै हुन्छ जसरी महेश वस्नेतले चुनावी एजेण्डाकै लागि यादवको अपहरण गरेका गरे । महेशबाबुले निमुखा जनतालाई गाँस र बासको कुरा गरे यता महेश बस्नेततले पनि यो भन्दा अगाडि आफ्ना आसेपासे नै सही उनको निर्वाचन क्षेत्रका निमुखालाई गास र बासको प्रबन्ध गरेकै हुन् चाहे त्यो बिनासकारी भूकम्पमा होस् वा अहिले चलिरहेको महामारीमा ।

Advertisement

यो कामका लागि महेशबाबुले फिल्ममा जनताको समर्थन पाए जसरी महेश बस्नेतले पनि पाएकै हुन् उनी यो तारिफको हकदार पनि हुन् । तर बिडम्वना महेशबाबु जनभावना अनुसार चले तर हाम्रा महेश तातो हावा भरेको बलुन झै हावाको झोक्कासँगै चले अनि विवादित भए ।

उनलाई राजनीतिक हावा सुरुबाटै भरे अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले । महेश बस्नेतका राजतीनिक गुरु पनि हुन् केपी ओली । किनभने नेपालका दुई कम्युनिस्टबीचको टकरावलाई निरन्तरता दिनका लागि युथ संघका संस्थापक अध्यक्ष केपी ओलीलेयुवासंघको मातहतमा नयाँ विभाग गठन गरे युथ फोर्स ।

जसको काम तत्कालीन एनेकपा माओवादीको वाइसिएलसँग लड्नु नै हो । वाइसिएलसँग लड्न सक्ने योग्य लडाकु, डन सामाजिक भाषामा समाजमा सकारात्मक काम गर्न सक्ने व्यक्तिका रुपमा महेश बस्नेतलाई देखे अनि तत्कालीन युवासंघका अध्यक्ष अजम्मर काङबाङ राईले संस्थापक अध्यक्ष केपी ओलीको निर्देशन मुताबिक महेश बस्नेतलाई युथ फोर्सको संस्थापक अध्यक्षमा नियुक्त गरे ।

महेश बस्नेतको मुख्य काम तत्कालीन समयको चुनावमा एकीकृत नेकपा माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘एक बुथ दुई सय युथ’ नाराका साथ युवा परिचालन गर्ने भनिरहेको बेला युवा संघले ‘एभ्री युथ, डाइनामिक, इफेक्टिभ युथ’ नारा दिएर युवा परिचालन गर्न स्थापना भयो जसको नेतृत्व केपी ओलीको निर्देशनमा महेश बस्नेतले लिए ।

उनी सफल पनि भए जसरी चलचित्रमा महेशबाबु सफल भए । तर सबै पोखिएका रंगहरु उत्कृष्ट क्यान्भास बन्न सक्दैनन् भन्ने कुरा हाम्रा महेश बस्नेतले बुझेनन् त्यसैले उनी योग्य चित्रकार भएर भएर पनि फोहर भए अझ भनांै उनी हावामा उडे । थाहा छैन उनी उडेको बलुनको डोरी केपी कमरेडले कहिले र कुन अवस्थामा जमिनमा तान्नु हुन्छ ?

डन छविबाट फिल्मी भाषामा स्लो मोसनमा राजनीतिमा इन्ट्री गरेका महेश बस्नेतको मुख्य योजना भनेको आफूमा लागेको डनको छविलाई सुधार्न चाहन्थे जसका लागि उनले अहिलेको नेकपाको माथिल्ला स्तरका नेताहरुको भक्त भएर काम पनि गरे । एक इमान्दार कार्यकर्ताले पार्टी अध्यक्षको निर्देशन मान्नु राजनीतिक धर्म पनि हो । उनले त्यो पूरा गरे ।

नेकपाकै नेतृ दिलु पन्तले काठमाण्डु टुडे भन्ने अनलाइनलाई अन्तर्वार्ता दिँदै भनेकी छन् ‘राजनीति गर्नु र गुण्डा हुनु फरक फरक विषय हुन् त्यसैले महेशजी तपाई जे हो त्यही विषयमा सोच्नुहोस् राजनीतिमा नआएकै भए राम्रो हुने थियो । महेश बस्नेत राजनीतिमा आएर सिधासाधा आमयुवालाई गुण्डा बनाउनु हुँदैन, तपाईं जे भए पनि आमयुवाको भविश्यको बारेमा पनि सोचिदिनुहोस् । व्यक्तिको सेवाले राजनीति चल्दैन ।’

महेशको राजनीतिक यात्रा सकिएको छैन जसरी मैले हेरिरहेको महेश बाबुको फिल्म पनि सकिएको छैन । एक घण्टा ५४ मिनेटको फिल्मको आधा आधीमात्रै हेरेको छु । अब फिल्मको समापन महेशबाबुको जयजयकारमा सकिन्छ कि महेश बस्नेतको राजनीतिक दुवै थाहा पाउन केही समय कुर्नु नै पर्ने हुन्छ । आशा गरौं दुवैले गरेको जबरर्जस्ती अपरहरण हुँदै होइन जे देखियो त्यो वास्तवमा जनहितका लागि गरेको काम नै होस् ।

महेश बस्नेतको राजनीतिक टर्नमा जोडिन पुगे खुंखार सोकल्ड डनहरुलाई टोले गुण्डाको संज्ञा दिन खप्पिस पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल । नेपालको बेमौसमी राजनीनिक अपहरणमा केन्द्रित काण्डका अर्का नायक हुन् उनी ।

उनले प्रहरी प्रमुखमा इन्ट्री मारेका बेला बोलेका थिए, ‘अब टोलेहरुको बाजा बजाउँछु ।’ सायद अपहरण काण्डमा गरिएको उनको राजनीतिक इन्टीले उनको कस्तो बाजा वज्छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्षकै भाषामा कर्कस धुन वा सुमधुर धुन बज्छ त्यो पनि केही समयमा देखिएला ।

महेश बस्नेत, केपी शर्मा र सर्वेन्द्र खनालज्यू म एक चलचित्र प्रेमी पनि हुँ, त्यसैले चलचित्र निर्माण, निर्देशन र हेर्न पनि त्यतिकै रुचि राख्छु जति तपाईंहरु जनताको नाममा राजनीति भन्दै आफ्नो गुट र कोटरीको पक्षमा मात्रै काम गर्नुहुन्छ । तर एउटा कुरा के हो भने तपाईंहरुले लिएको निर्णय जनघाती हुन सक्छन् वा आफूले हानेको बञ्चरोले आफ्नै घुँडो ताक्छ तर मैले बनाएको चलचित्र मैतिर फर्केर दर्शकले गाली गरेको रेकर्ड भने अहिलेसम्म छैन ।

त्यसैले मलाई साउथ स्टाइलको राजनीतिक फिल्ममा पनि सफलता हुने ठूलो धोको छ जसरी महेश बस्नेतलाई राजनीतिक डन बन्ने धोको छ । चोर, पुलिस र राजनीतिक डनका काण्डमा बनाइने फिल्मको उत्कृष्ट पात्र तपाईंहरुभन्दा अरु हुनै सक्दैन । अनि तपाईंहरुको व्यवहारले गर्दा पनि म मात्रै होइन सम्पूर्ण जनतालाई राम्ररी थाहा छ डन भनेको डन नै हो चाहे त्यो राजनीतिमा होस् चाहे त्यो फिल्ममा होस् ।

तपाईको प्रतिक्रिया