कोरोना जित्नेलाई मुख्यमन्त्रीकाे बधाई

पोखरा
कोरोना भाइरस रोग (कोभिड १९) बाट संक्रमित भई धौलागिरी अञ्चल अस्पताल, बागलुङमा उपचार गराएर फर्केका २ जनालाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन् ।
६५ वर्षीय मनकुमारी पौडेल वैशाख ६ गते र १९ वर्षीय अंशु सापकोटा वैशाख १२ गते निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । अब गण्डकी प्रदेश कोरोना बिरामी शून्य भएको छ । यो खबरले आफूलाई अत्यन्तै खुशी तुल्याएको मुख्य मन्त्री गुरुङले शनिबार विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
चिकित्सकहरुको सुझाव सल्लाह वमोजिम आफ्नो स्वास्थ्यको निरन्तर ख्याल गर्न उनले व्यवसायीसँग आग्रह गरेका छन् । साथै साधन स्रोतको सिमितताको बीचमा पनि उच्च मनोवल र धैर्यका साथ उपचारमा अहोरात्र खट्ने चिकित्सक एवं स्वास्थ्यकर्मी, व्यवस्थापनमा खट्ने अस्पताल व्यवस्थापन समिति, सम्पूर्ण अस्पताल परिवार लगायत सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘बलियो आत्मवल, धैर्य, उच्च सतर्कता र तयारीका साथ एकतावद्ध भई निरन्तर जुध्न सक्दा विश्वव्यापी महाविपद कोरोना भाइरस रोग (कोभिड–१९) को महामारी विरुद्धको यो लडाईं अवश्य जित्न सक्छौँ भन्नेमा यस सफलताले हामी सवैलाई थप उत्साह र हौसला प्रदान गरेको छ ।’
कोरोना भाइरस रोग (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि हामी सम्पूर्ण क्षमताका साथ लागिरहेका छौँ र सफलता पनि प्राप्त गरिरहेका उनले जनाएका छन् । सबैको साथ, समर्थन, सहयोग र ऐक्यवद्धतावाट नै यो सफलता सम्भव भएको हो भन्दै उनले यसको निरन्तरताबाट नै कोरोना भाइरस रोग (कोभिड १९) विरुद्धको यो लडाईं पूरै जित्न सकिन्छ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको जनाएका छन् ।
कोरोना भाइरस विरुद्धको यस युद्धमा अहोरात्र खटेर थकानमा पनि युद्धको अग्रमोर्चामा सक्रिय स्थास्थ्यकर्मी, सुरक्षाकर्मी र राष्ट्रसेवकहरुले खेलेको अहम् भूमिकाको उनले उच्च सम्मान गरेका छन् । उनले भनेका छन्, ‘ढुक्क भएर उच्च मनोवलका साथ युद्धको मोर्चा सम्हालिरहनुहोस् । गण्डकी प्रदेश सरकार हाम्रो साथमा युद्ध मोर्चामै छ भन्ने पूर्ण अनुभूति दिनेगरी हामी लागिरहेका छौँ र लागिरहनेछौँ । तपाईहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षा लगायत कुनै पनि सेवा–सुविधाको कमी महसुस हुनु दिने छैनौँ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
तपाईको प्रतिक्रिया