हे ईश्वर दया राखि मलाई अझ दुख दे

समाधान संवाददाता २०७७ वैशाख १३ गते १३:३०

अनिशा श्रेष्ठ

बोलीले मात्रै हुने भए इतिहासकै सबैभन्दा सफल प्रधानमन्त्रीको पदवी अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा जाने थियो । किनभने कोरोना संक्रमणको ४ महिना सम्ममा नेपालमा १ जनाको पनि मृत्यु भएको छैन ।

संक्रमितको संख्यात हामीलाई ठूलो लागे पनि विश्व जगतको तुलनामा अचम्म लाग्दो नगन्य नै हो । तर पनि दुखका साथ भन्नु पर्छ बाहिर राम्रा कपडा लगाउँदैमा कोही पनि समृद्ध र राम्रो हुँदैन । नत्र भने संसारका ठूला ठूला भ्रष्टाचारमा दौरा सुरवाल र कोट पाइन्ट लगाउनेहरुको नाम कसरि दर्ता हुन्थ्यो र ।

Advertisement

हो सरकारले पनि गएको चैत १० गते देखि लकडाउन भनेर बोलिदियो तर त्यसको प्रभाव कस्तो पर्ला त कुनै अनुमाननै गरेन । २०४६ सालको आन्दोलनवाट आएको बहुदलमा कांग्रेस कम्युनिस्ट र राजावादी भनेर पानी बाराबार र परेली तोडिएका कान्ड जस्तै ।

प्रभावको कुनै मूल्यांकन नै गरिएन त्यसैले त बिरामी भेट्न हिडेका मान्छे विचल्ली परे अनि दूधे बालकलाई दूध चुसाउन नपाएर चर्किएका स्तन नै काट्ने अवस्थासम्ममा पुगे कतिपय आम नागरिक ।

Advertisement

ठूलाहरुको त के कुरा भो र खुल्ले आम सरकारी झण्डासहितको सवारीमा अपहरण धन्दा चलाइरहेका छन् । नपत्याए नेकपाका ओलीभक्त महेश बस्नेतलाई सोध्नुस् त ? तर सानाहरु चरनबाट घर फर्कदा पनि ठूलै अपराध गरेझैं खुल्ला सडकमै कोर्रा खानु पर्छ ।

सबैलाई थाहा पनि भइसक्यो अब त कोरोना महामारीको कुनै औषधी छैन, बच्ने उपाय भनेको एक अर्काबीचको दुरी बढाउनु मात्रै हो । तर पनि कतिपय अवस्थाहरु यस्तो आउँछ मर्नु भन्दा बहुलाउनु निको ।

भोकले तड्पिएर स्वाभिमान बेचेर बाँच्नु भन्दा कोरनाको मृत्यु नै सही । नत्र भने इथियोपिया र सोमालियामा भड्किएको गृहयुद्धमा त्यहाँका नागरिक भोकले मरिरहँदा बाच्न चाहनेहरुले बाच्नका लागि आफ्नै हातका औंला खाएर सास धान्थे र ।

उनीहरुले कुनै अनुमान गरेनन् भोलि पनि त भोक लाग्छ अनि के खाने ? जति बेला औंला थियो हात थियो उनीहरुले सोचे हात नभएर मरिँदैन तर खान नपाएर मरिन्छ त्यसैले उनीहरुले तत्कालको समस्या ठूलो देखे ।

के थाहा सरकारलाई अहिले नेपालमा पनि कतिपय मजदुर वर्गमा यस्तै समस्या छ कि ? सरकार त हामीले कोरोना फैलनबाट रोक्न सफल भयौं भनेर जुंगाको ताउ लगाउँदै होला ।

भित्र भित्रै मजदुर र न्यून वर्गीयहरु सरकार रुपी भगवानलाई गाली गर्दै छन् जसरी कविले भगवानलाई गाली गरे झैं ‘दुखीको घरमा मात्रै तेरो बास हुने भए, हे ईश्व दया राखी मलाई अझ दुख दे ।’

सबैलाईलाग्छ एक छाक भए पनि मिठो खाउँ तर राम्रो त होइन सास धान्न पनि समस्या हुन लागेको छ केही ज्यालादारी मजदुरहरुको । करिब १५ वर्ष देखि फेवातालमा डुंगा चलाइरहेकी ३६ वर्षीयामहिलाको पीडा पनि ठ्याक्कै त्यहि कविताको पंक्तिजस्तै छ ।

बिहान तरकारी बेचेर छोराछोरी सकुल पठाउने अनि दिनभर फेवातालमा डुंगा चलाउने उनको दैनिकी नै थियो । उनले विगत सम्झँदै भनिन्, ‘आजका दिनसम्म कसैसँग एक सिता भात मागेर खाएको छैन, सरकारले सामान्य राहत दिने कुरा त गरेको छ तर मेहनत र प्रत्येक पसिनाको कणले बाँचेको ज्यान त्यो राहत शब्दमा नै भक्कानो छुट्दो रहेछ ।’

कामका बेला गाउने पसिना भन्दा अहिलेको राहत शब्दसँग साटिएको स्वाभिमानका खातिर बग्ने आशुको मूल्य बढी लाग्न थालेको छ उनलाई । त्यसैले त भन्छिन्, ‘डुंगा खियाउँदा बनेको बाटो मेटिएझैंश्रीमानले छोडेको विछोडको पीडा पनि छोरीको अनुहार हेरेर मेट्दै छु ।’

उनी निकै स्वाभिमानका साथ भन्छिन्, ‘मलाई काम गरेर खान लाज लाग्दैन तर अहिले राहतका लागि लाइन बस्नुमा निकै लाज लाग्ने गरेको छ । तर विकल्प पनि त छैन नि हैन र ?

आजभोलि उनी पे्रमीको उपहार छोरीलाई जत्ति पटक हेर्छिन् त्यति नै पटक धोकेवाज प्रेम भुल्न सहयोग गरेको डुंगा हेर्न पनि तालको छेउमा त्यतिनै आउँछिन् । लकडाउन तोड्न होइन स्वाभिमानको मोह अडेको कमाइको भाँडो हेर्न ।

तपाईको प्रतिक्रिया