सुखमा सबै, दुखमा पो गाउँ !

समाधान संवाददाता २०७७ वैशाख १३ गते २१:०८

अञ्जु क्षेत्री

मानिसले बनाएका कलकारखाना, उद्योग, व्यवसाय सबैजसो रोकिएका छन् लकडाउनमा । समय भने नरोकिने रहेछ । प्रकृतिलाई शायद मान्छेको नियम लाग्दैन । मानिसको जीवनयात्रा भनेकै समयसँगको गति न रहेछ ।

मानिसले पुर्खाका संघर्ष, इतिहास, अनुभवबाट सिक्यो । सिक्दै अघि बढ्दै यहाँसम्म आएको यात्रामा कोरोना जस्तै कयौं भड्घाराहरु आए, हामीले ती सबैलाई जित्दै आएका छौं ।

Advertisement

यो यात्रा विगतको समीक्षा र भविष्यको योजनावद्ध प्रयासको परिणाम पनि हो । बन्दाबन्दीभित्रै आजबाट म थप एक वर्ष परिपक्व भएकी छु । यो क्षणमा विगतको सम्झना र समीक्षा गर्दै भावी जीवनको खाकाबारे घोत्लिन मन लागेको छ ।

अहिलेको पर्वतको मोदी गाउँपालिका साबिक चित्रे गाउँ गाविस वडा नम्बर ६ सरादी खोलामा मेरो जन्म भयो । म परिवारकी साहिली छोरी हुँ । त्यही गाउँमा ४ वर्षसम्मको बालपन बित्यो ।

Advertisement

त्यसपछि बुवाले मलाई कुश्माको नारायण माविमा ल्याएर भर्ना गरिदिनुभयो । केही समय जसोतसो स्कुल गए पनि मलाई कुश्मामा मनै बसेन । रमाइलो गाउँ नै फर्किएँ म । घर वरिपरि मौसम अनुसारका फलफूल प्रशस्तै हुन्थे ।

सुन्तला, आम्बा, मौसम, निबुआ, कागती जे मन पर्छ रुखमा चढेर आधा खायो, आधा फाल्यो । पछि खान मिल्छ भनेर झोलामा लुकाएर स्कुल पनि लैजान्थें म । बिछट्टै रमाइला लाग्छन् ती दिन, अहिले सम्झिँदा पनि ।

बिदाको दिन आएपछि घरभन्दा तलको रतिखोला छेउछाउ गइन्थ्यिो । निहुँ हुन्थ्यो दाइदिदीहरुसँग गोरु चराउनु, सानो डको बोकेर पतै सोहोर्नु । तर ध्यान अन्तै थियो, काफल, अमला, दमौरा, जामुन, कटुस, औसेलु, चुत्रो कहाँ कहाँ खान पाइन्छ ?

कहिलेकाँही खोला छेउछाउ र जंगलभरि दौडिदा दौडिदै साँझ पर्न लाग्थ्यो । साँझमा घर आएको एकछिन पनि खाना मिल्थ्यो । खानाअघि आमाको ममतामयी गाली । आमाले गाली गर्दा म रुँदै बस्थें । रोएर चोर औंलाले घरको भित्ता कोटाइरहन्थे घन्टौसम्म खाल्डो नै पर्ने गरी ।

बुवा राजनीति र सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो । त्यसो हुँदा मेरो मनमा पनि अलि अलि सानैदेखि यसको छाप बसेको थियो । बाल वय बितेको सुन्दर, प्रिय गाउँ आजभोलि पनि म बेला बेलामा जाने गर्छु ।

अहिले लाकडाउनमा पनि फेरि त्यही गाउले बोलायो सुसेली हालेर । त्यो चिसो देउरालीको हावा, खोलानाला, झर्ना, दाउरामा पकाएको खाना, ढुंगाले छाएको वुढा हजुरबाकै पालाको घर । फेरि त्यही घरमा केही दिन बस्ने समय मिल्यो । गाउँको जीवन अर्कै, वास्तविक र हार्दिक हुन्छ ।

राति ओछ्यानबाट देखिए छन् सालका ध्वासोले काला भएका दलिन । दलिनमा पुराना केही सामग्रीसमेत देखिए । आमासँग लाइट मागेर २ भ¥याङ उक्लेर तीन लतामाथि पुगें । मोबाइलमा खिचें ती पुराना बस्तुका तस्बिर ।

एउटा कुनामा कालो बाकस मिल्किए को थियो । म बाक्सातिर लम्किएँ । माकसमाथि पुरानो ठेकीको पनि थियो । एकैचोटि म बाल्यकालमा पो पुगें । त्यस्तै बाकसभित्र स्वस्थानी र गीताका किताब हुन्थे । तिनै किताबभित्र आमाले पैसा राख्नु हुन्थ्यो । कहिलेकाँही नभई नहुँदा म कसैले नदेख्ने गरी पैसा निकाल्थें पनि ।

सम्झनाले ओतप्रोत भएर बाकस खोलें । पुराना किताब, कापी, दिदीका, मेरा, भाइबहिनीका भेटिए । खोतल्दै जाँदा एउटा सानो रातो डायरी पनि फेला प¥यो । पल्टायर हेरें पुराना अक्षर अनि केही रसिद पनि त्यहीभित्र रहेछन् ।

हतारहतार खोलेर हेरें, म शिशु कक्षामा भर्ना भएको रसिद पनि रहेछ । डायरीले दिवंगत भइसक्नु भएका हजुरबालाई पनि सम्झाइदियो । हजुरबाका पालाको घर अनि हजुर बुवाको मदुस र हजुरबुवाले हुक्का तान्ने तमाखु पनि दलिनमा अझै सुरक्षित रहेछन् ।

५ पुस्तासम्म यो घर छ र पो अझै याद ताजै छन् । मै यो घरमा जन्मेको आज ३५ वर्ष भयो । मान्छेको वृद्धा हुँदै जाँदा कमजोर हुँदो रहेछ, यादचाहिँ जति पुराना भए उति हार्दिक हुँदा रहेछन् ।

विवाह स्याङ्जा भए पनि कर्मथलो अहिले पोखरा महानगरपालिका वडा नं. ५ भएको छ । संसारभर फैलिएको कोभिड १९ को महामारीमा गाउँघर फर्कने लहरसँगै म पनि केही दिनदेखि माइती गाउँमा छु ।

मलाइ जन्मदिने वुवाआमा, म जन्मेको घर, हुर्केको गाउँप्रति मेरो असीम माया र सम्मान छ । यहाँका खेतगरा, डाँडापाखा, खोलाखोल्सी, वनजंगल, चराचुरुङ्गी सबैले मलाई माया गरिरहेको मलाई भान हुन्छ ।

जीवन यापनका क्रममा मान्छे जन्मस्थानबाट टाढा टाढासम्म पुग्छ । यो माहामारीले देशकै बजारतिर विभिन्न काम गर्ने र परदेशमा रहेकालाई पनि गाउँ फर्काइदिएको छ । आफ्ना बाबुआमाको काखमा ल्याइदिएको छ, आफ्नो माटोको सुगन्धमा रम्ने अवसर दिएको छ ।

रोगको महामारी फैलिनु राम्रो किमार्थ होइन तर यसले हामीलाई मान्छेको वास्तविक धरातल चिनाइदिएको छ । हाम्रो अहं, स्वार्थ र वास्तविकताबीचको दुरी देखाइदिएको छ । स्वच्छ हावा, सफा वातावरण, मीठो पानी, स्वस्थकर खाना, कलकल झरना र चराहरुको मीठो आवाजले मेरो गाउँको बसाइलाई थप यादगार बनाइदिएको छ ।

यसपालिको जन्मघर बसाइमा थुप्रै याद ताजा भएर आए । म पढेको स्कुल, मेरा वालसखा र छरछिमेकीहरुले मलाई मेरो शैशवकालमा लगे । आफू हुर्केको घरका कोठा चोटाहरु म चहारें, त्यहाँ रहका पुराना, बाकसहरु मैले खोली हेरें ।

हजुरबाको डायरी फेल प¥यो, त्यसका पानाहरु पल्टाउँदै जाँदा हजुरबुवाको साथमै बसेजस्तो लाग्यो । मैले आजसम्म जे जानें, जे पढें, त्यो सबै हजुरबुवाकै योगदान हो ।

जसरी हामी उहाँकै वंशका हाँगबिंगा हौं, त्यसरी नै मैले सिकेका, पढेका कुरा पनि उहाँले सिकाएका अक्षरका हाँगाबिगामात्रै रहेछन् । हजुरबा हक्की स्वभावका हुनुहुन्थ्यो । सत्यको पक्ष लिने, असत्यको डटेर विरोध गर्ने स्वभाव मैले उहाँबाटै सिकेकी हुँ । यो जीवनपर्यन्त जीवनमा जारी राख्नेछु ।

मातातीर्थ औसीको समयमा म आमाको मातृ वासल्यमा पुगें । अर्काे तवरले पनि यो बसाइ अवस्मरणीय भयो । यो जन्मदिन म बुवाआमा र मलाइ हुर्काउने आँगनमा मनाउँदै छु ।

धेरै बेफाइदा, संकट भए पनि लकडाउनकै करण मलाई यो अवसर जुरेको हो । सुख र खुसीमा सबैका सबै हुन्छन् तर दुखका बेला आफ्नै चाहिन्छन् । आफ्नै जन्मस्थान चाहिन्छ र आफ्नै माटो चाहिन्छ भन्ने मैले देखें र भोगें यसपटक ।

त्यसले जहाँ पुगे पनि आफ्नो माटो नबिर्साै, आफन्त र धरातल नबिर्साैं । जीवनको यो मोडसम्म विभिन्न तवरले साथ, सहयोग गर्नुहुने सबै आफन्त, शुभेच्छुक र साथीभाइलाई सम्झेकी छु । विरोधीहरुलाई पनि सम्झना छ, उहाँहरु नभएको भए मबाट केही गल्ती पनि हुन सक्थे ।

क्षेत्री पोखरा -५ की महिला वडा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया