मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

समाधान संवाददाता
लकडाउनको निरन्तरता र मोडालिटीबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री केपी ओलीले अपरान्ह २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठकमा एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको सम्भावित जोखिमबारे छलफल हुनेछ। बैठकले एक साता लकडाउन थप्ने निर्णय गर्ने बताइएको छ । सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन भोलि सकिँदैछ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एक साता थप्न सुझाव दिएको छ। स्वास्थ्य मन्त्रालयले पनि एक साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियो।
लकडाउनलाई राजधानीमा केही खुकुलो बनाउने दबाब आए पनि कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह विज्ञहरुले समितिलाई दिएका छन्।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।
छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले लकडाउन खुल्दा खुला सिमाका कारण जोखिम बढ्ने भएकोले पनि सरकार लकडाउन थप्ने निष्कर्षमा पुगेको हो।
नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ। कोरोनाबाट विश्वभर २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने दुई लाख बढीले ज्यान गुमाएका छन्।
तपाईको प्रतिक्रिया