वीरगन्जमा युवतीको मृत्युको कारण कोरोना होइन

समाधान संवाददाता २०७७ वैशाख १४ गते १७:५०

वीरगन्ज
लगातार ३ पटकको आरडिटी रिपोर्ट पोजिटिभ देखिएकी मृतक युवतीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । यसबाट उनको मृत्युको कारण कोरोना भाइरस कोभिड १९ नभएको पुष्टि भएको छ ।

नारायणी हस्पिटलका डा नीरज सिंहका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकाकी आइतबार मृत्यु भएकी २३ वर्षीया युवतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।


पटकपटकको आरडिटीमा पोजिटिभ देखिएपछि उनको कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको थियो । तर पिसिआर रिपोर्टबाट त्यस्तो पुष्टि हुन सकेन । ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।

एक महिना पहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार नारायणी अस्पताल लगेर भर्ना गरिएको थियो ।

आइतबार उनको तेस्रो आरडिटी रिपोर्ट पोजेटिभै आयो । आइतबार दिउँसो १ बजे उनको त्यही अस्पतालमा मृत्यु भएको थियो । मृत्युको कारण पत्ता लगाउन उनको स्वाबको पिसिआर परीक्षण गरिएको हो । उक्त परीक्षणबाट भने नेगेटिभ नतिजा आयो ।

Advertisement

तपाईको प्रतिक्रिया