अरु बेलाभन्दा बढी खाद्यान्न माैज्दात छ थाेक बिक्रेताका गाेदाममा

समाधान संवाददाता २०७७ वैशाख १५ गते ९:३६

भरत कोइराला, पोखरा


विश्वभर कोरोनाको महामारी फैलिएपछि नेपाल सरकारले पनि आन्तरिक तयारी थालेको थियो । यसैबीच चैत ११ गतेबाट मुलुकभर लकडाउन भयो । लकडाउन घोषणालगत्तै सबैभन्दा ठूलो चिन्ताको विषय थियो खाद्यान्न आपूर्ति । कालोबजारीको डर पनि उत्तिकै थियो । आम उपभोक्ता र व्यवसायी पनि अब के हुने हो भन्ने चिन्तामा थिए ।

लकडाउन घोषणालगत्तै सरकारले स्थानीय तहको समन्वयमा राहत उपलब्ध गराउने घोषणा गरेपछि त झन् बजारमा खाद्यान्नको चरम अभाव हुने अनुमान गरिएको थियो । अझ घरायसी प्रयोजनको एलपी ग्यास त बजारमा पाइनै छाडेको थिए । त्यसैले त आधा सिलिन्डर भरेर बजारमा पठाउने निर्णय मात्र भएन कार्यान्वयनमा समेत आयो । तर बजारमा ग्यासको माग विस्तारै कम भएपछि डेढ सातामै भरी सिलिन्डर बजारमा पठाउने निश्कर्षमा सरकार पुग्यो । पहिले नै उपभोक्ताले जोहो गरेकाले अहिले ग्यासको बिक्री ठप्पप्राय रहेको व्यवसायीहरु बताउँछन् ।

Advertisement

अहिले बजारमा न त खाद्यान्न अभाव छ न ग्यास नै । चोकचोकमा पसलहरु खुलेकै छन् । उपभोक्ताले चाहेका बेला चाहेका सामान किनिरहेकै छन् । बरु थोक बिक्रेताका गोदाम अरु बेलाभन्दा अहिले भरिभराउ छन् । गोदाम भरिएपछि घरमा गल्ली र बरण्डामा समेत सामान थुपारेका छन् बिक्रेताहरुले ।

पर्वत सदरमुकाम कुश्माको गणपति स्टोर्सका सञ्चालक देव शर्मा पौडेल सुरुका दिनमा सामान आपूर्तिमा केही समस्या देखिए पनि अहिले भने सामान्य रहेको बताउँछन् । उनले भने, ‘सामान पाइँदैन होला भने प्रसस्तै मगायौं, अहिले त अरुबेला भन्दा बढी खाद्यान्न छ गोदाममा ।’ सुरुआती दिनमा गहुँको पिठो (आँटा) बजारमा पर्याप्त थिएन । अहिले पनि गण्डकी प्रदेशका सबैजसो जिल्लामा आँटा पनि पर्याप्त छ ।

Advertisement

कुश्माकै स्नेहा किराना स्टोर्सका सञ्चालक ज्ञानेन्द्र कर्माचार्य बजारमा अहिले कुनै पनि सामानको अभाव नरहेको र भाउ पनि नबढेको बताउँछन् । पहिलाजस्तो दिनभर पसल नखोले पनि ग्राहकले चाहेका बेला सामान उपलब्ध गराउँदै आएको उनले जनाए ।

अहिलेका लागि पर्याप्त खाद्यान्न रहे पनि ४÷६ महिनापछिको अवस्थाका बारेमा अहिले नै सोच्नुपर्ने पर्वतका सिडिओ कल्पना घिमिरे बताउँछिन् । ‘जिल्लामा धेरै उर्बर भूमि बाँझै रहेको पाइएको छ । सम्बन्धित पालिकाले अब बाँझो जमीनको उपयोगको नीति ल्याउनुपर्छ ।’ पहिलो चरणमा राहत वितरणमा हतार गरिएको टिप्पणी गर्दै उनले अबको राहत वितरण अवस्था हेरी किसानको उत्पादनका आधारमा गरिनुपर्नेमा जोड दिइन् । उद्योग वाणिज्य संघ पवर्त अध्यक्ष केदारनाथ शर्मा पनि यसमा सहमति जनाउँछन् ।

गाउँमा खाद्यन्न बढी ढुवानी
लकडाउन लगत्तै सुरुमा बजारमा चलहपहल थियो । १ साताका लागि घोषणा गरिएकाले तत्कालै खुल्ला र काम पनि सुचारु होला भन्ने आशा धेरैलाई थियो । त्यसो भएन । लकडाउन थपिएको थपियै भयो । जागिरे देखि सामान्य कामदारहरु पैदलै भए पनि गाउँ फर्कन थालेपछि अहिले बजार चकमन्न छ । मानिसको चहलपहलपहल नभएपछि सामान बिक्री त घट्ने नै भयो । होटेल, रेस्टुरेन्ट मात्र होइन ससाना उद्योगको ढोका नखुलेको महिना दिन कटिसकेको छ । कुश्मामा खाद्यान्नका थोक व्यवासायी ज्ञानेन्द्र कर्माचार्य भन्छन्, ‘अहिलेको व्यापार त गाउँमा बढी छ । मानिसको भीडभाड उतै छ, गाउँका पसलबाट अरु बेला भन्दा बढी माग आएको छ ।

गण्डकी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल पछिल्ला दिनमा गाउँमा दोब्बरभन्दा बढी मानिस फर्केकाले खाद्यान्न माग बढेको बताउँछन् । उनले भने, ‘पहिला २ जनामात्र हुने घरमा अहिले ६÷७ जना पुगेका छन् । गाउँमा उत्पादन छैन, बजारबाट खाद्यान्न ढुवानी गर्नुको विकल्प छैन ।’

पर्वतमा खाद्यान्नको दैनिक लगत
लकडाउन लगत्तै जिल्ला प्रशासन कार्यालय पर्वतले उद्योग वाणिज्य संघसँगको सहकार्यमा जिल्लामा खाद्यान्नको मौज्दातको लगत संकलन ग¥यो । १ महिना अघि नै लिएको लगतका आधारमा ६ महिनालाई जिल्लामा पुग्ने खाद्यान्न रहेको अनुमान पनि गरियो । प्रजिअ कल्पना घिमिरेको अग्रसरतामा दैनिक रुपमा मौज्दातको अवस्था राख्ने काम अहिले पनि भइरहेको छ । बरु नपुगेको सामान ढुवानीमा प्रशासनले नै सहजीकरण गर्दै आएको छ । प्रजिअ घिमिरे भन्छिन्, ‘बागलुङको बलेतिर धेरै नै सामान पर्वतबाट जाने भएकाले मागको ३० प्रतिशत मात्र दिने भनेका थियौं । तर अहिले त मागेजति सामान पठाइएको छ ।
म्याग्दीसँग जोडिएको वारिबेनी म्याग्दीकै बजारमा निर्भर छ । दक्षिण पश्चिमका बिहादी, हुवास लगायत बजार स्याङ्जाको वालिङ बजारमा निर्भर छन् । ती ठाउँमा सामान ढुवानीका लागि तत्तत् जिल्लासँग समन्वय गरिएको प्रजिअ घिमिरेले बताइन् ।

कुश्माकाे हाेलसेल पसल अनुगमन गर्दै प्रदेशकाे टाेली

उद्योग वाणिज्य संघ पर्वत अध्यक्ष केदारनाथ शर्मा सामान ढुवानी अरु बेलामा भन्दा पनि बढी भएकाले अभावको कुनै संकेत नै नभएको र बजार भाउमा पनि खासै समस्या नदेखिएको बताउँछन् । तर मसला, मुसुरो, तेल लगायतका सामानमा अझै पनि न्यून बिजकीकरणको समस्या रहेकाले यसमा नियमनकारी निकायले विचार पु¥याइदिन उनले आग्रह गरे ।

तेल, चामल, आँटा र रातो दालको भाउ बढ्यो
संकटका बेला बजार भाउ उर्लिन्छ कि भन्ने आशंका सरकारी अधिकारीहरुलाई थियो । तर त्यसो भएको छैन । ठूलो मात्रामा राहत वितरण हुँदा त्यसको असर बजार भाउमा पर्छ कि भन्ने अनुमान पनि सही ठहरिएन । बरु गोदाममा सामान ठेलमठेल रहेकाले पहिलाको भन्दा केही सस्तोमा खुद्रा बिक्रेतालाई दिनु पर्छ कि भन्नेमा थोक ब्यापरी पुगेका छन् । उपभोक्ता मञ्च गण्डकी अध्यक्ष अहिले बजारमा तेल, चामल, आँटा र रातो दालको भाउ केही बढे पनि अरु सामानमा पहिलाकै मूल्य कायम रहेको बताए । उनले भने, ‘नेपालमै उत्पादित र प्याकेजिङ गरिएका सामानमा खुद्रा मूल्य केही बढाएर बजारमा ल्याइएको छ, यसका लागि उत्पादनस्थलमै पुग्नुपर्ने हुन्छ ।’

आँटाकाे गाेदाम

थोक पसलमा भाउको समस्या नभए पनि ससाना पसलहरुले बढी मूल्य लिएको गुनासो आएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल बताउँछन् । उनले भने, ‘दर्ता नभएका ससाना पसलले थोक बिक्रताबाट सामान्य ग्राहकले जसरी सामान लैजाने र उपभोक्ताबाट बढी असुल्ने गरेका छन्, यसमा स्थानीय तहले निगरीनी बढाउनुपर्छ ।’

उधारोको चिन्ता छैन
कुश्माको बड्गाउँ बजारका व्यवसायी रुद्रप्रसाद गौंडेलले थोक व्यवसाय थालेको दसकौं भयो । ग्रामीण भेग केन्द्रित उनको व्यवसायका क्रममा उधारो कारोबार पनि उस्तै हुन्थ्यो । तर अहिले उनले सामान उधारोमा दिनुपर्ला र उठाउन गाह्रो होला भन्ने नै छैन । उनले भने, ‘पहिला पहिला बाँकीमा सामान पठाइन्थ्यो, अहिले त कसैले बाँकी माग्दै माग्दैनन्, उधारोको चिन्ता छैन । ग्रामीण भेगका पसलेले पहिला उधारोमा प्रशस्तै सामान लैजाने गर्थे । अनि उपभोक्तालाई पनि उस्तै गरी उधारो दिनुपर्ने हुन्थ्यो । अहिले खुद्रा र थोक बिक्रmेता दुवैलाई उधारोको चिन्ता नरहेको उद्योग वाणिज्य संघ पर्वतका महासचिव गणेश लामिछाने बताउँछन् । त्यसो त थोक बिक्रेताले पनि अहिले नगर्दै भुक्तानी गरेर सामान ल्याउने गरेका छन् ।

खरिद बिल भए पास नचाहिने
ग्रामीण भेगमा मानिस थुप्रिएपछि त्यही अनुुसार ढुवानी गर्नुपरेको छ । लकडाउनका सुरुका दिनमा सामान ढुवानीमा केही समस्या थियो । तर अहिले खरिद बिलका आधारमा गाडीलाई आवतजावत गर्न दिइएको पर्वतका डिएसपी श्यामु अर्याल बताउँछन् । गाडीका कामदार र व्यवसायीवाहेक अरुलाई बोकेमा भने कारवाही गरिन्छ । पर्वत प्रशासनको यो निर्णय प्रभावकारी भए पनि केही सुधार गर्नुपर्ने देखिएको छ । सामान लिएर जाँदा खरिद बिल हुने भए पनि सामान लिन आउँदा भने धेरै ठाउँमा झन्झट बेहोर्नुपरेको ग्रामीण भेगकका व्यवसायीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा भएकाे छलफलमा प्रजिअ र प्रदेशकाे टाेली

मोदी गाउँपालिका ४, क्याङबाट सामान लिन आएका होमबहादुर पुनले गाडी लिएर आउनेबेलामा धेरै ठाउँमा सास्ती खेप्नुपनरेको सुनाए । उनले भने, ‘सिडिओ कार्यालयले बनाएको नियम राम्रो छ तर आउने बेलाका लागि पनि सहज बनाउनुपर्छ ।’

बजार अनुगमन तीब्र
लकडाउनका बेला दैनिक उपभोग्य सामानको अवस्था र बजार भाउ बुझ्न गण्डकी प्रदेशका मन्त्रीसहितको टोली चैतको १२ गते बुधबार अनुगमनमा निस्कियो । उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री विकास लम्सालसहित कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालसहितको टोलीले पृथ्वीचोकस्थित कृषि उपज बजार र दूध बिक्री केन्द्रमा अनुगमन गरेको हो । त्यसो त लकडाउन सुरु हुनु अघि नै संघीय मन्त्री लेखराज भट्ट आफै पोखरा आएर ग्राहकको रुपमा अनुगमन गरेका थिए ।

बजार अनुगमनका लागि पर्वतकाे कुश्मा पुगेकाे टाेली

उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय मातहतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले खाद्यान्न मौज्दातदेखि बजार भाउ नियमित गर्न लकडाउनका बेला पनि अनुगमन गर्दै आएको छ । लकडाउन सुरु भइसकेपछि कास्की, तनहुँ, स्याङ्जा र पवर्तमा गरी ७० पटक भन्दा बढी अनुगमन गरिएको निर्देशनालयका बजार अनुमगन शाखा प्रमुख भरतमणि बरालले बताए । उनले भने, ‘अहिलेका अनुगमन कारवाहीमुखी भन्दा पनि बजारको अवस्था के छ भनेर गरिएको हो । यसको प्रभाव निकै राम्रो देखिएको छ ।

अनुगमनका सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख प्रशान्त पोखरेल लकाडाउनका बेला उपभोक्ताले सामान पाए हुने तर उत्पादन मिति र गुणस्तरमा ख्याल नगर्ने गरेको पाइएको बताए । सहरी क्षेत्रमा यो समस्या रहे पनि ग्रामीण भेगमा अझै बढी रहेको उनको भनाइ थियो ।

अहिले भारतमा उत्पादिन तरकारी आयातमा रोक लगाइए पनि नेपालकै विभिन्न जिल्लाबाट तरकारी ल्याएर अभाव पूर्ति गरिएको छ । यसका लागि स्थानीय प्रशासनले सहजीकरण गर्दै आएको छ । कतिपय स्थानीय तहले किसानको बारीबाटै खरिद गरेर बजार पु¥याँउँदै आएका छन् । गण्डकी प्रदेशका किसानले तरकारी किसानले खासै समस्या बेहोर्नु परेको छैन । तर कुखुरा र अण्डा उत्पादक किसानहरुले भने मारमा परेका छन् । पर्वत, बागलुङ, म्याग्दी लगायत जिल्लामा अण्डाको र मासुको अभाव देखिएको भए पनि अन्य जिल्लामा भने उत्पादन बजारमा लैजान समस्या भएको र भाउ पनि घटेको बताएका छन् ।

तपाईको प्रतिक्रिया