सुत्केरी श्रीमती र काखे बालककाे भाेक मेट्न राहतका लागि धर्नामा वीरबहादुर

समाधान संवाददाता २०७७ वैशाख १५ गते १०:४६

कृष्ण दवाडी, पाेखरा

पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १ सय ९४ परिवारको नाम टोल विकास संस्थाले संकलन गरेर वडामा पठायो तर राहत आयो ५४ परिवारलाई मात्र ।

केहीको नागरिकता नभएको तथा कोहीलाई कागजपत्र पूरा नभएको भन्दै वडाले नाम फिर्ता पठायो । दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने सो बस्तीका अधिकांशले राहत पाउन नसकेपछि उनीहरुले पटक पटक वडाको ध्यानाकर्षण गराए । वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दासमेत राहत नआएपछि उनीहरुले आइतबार वडा कार्यालयमा धर्ना दिए । सोही धर्नामा थिए ३९ वर्षीय वीरबहादुर विश्वकर्मा । दैनिक ज्यालादारीबाट कमाएको पैसाले परिवार पाल्दै आएएका विश्वकर्माको लकडाउनपछि आम्दानी छैन ।

५ जनाको परिवारमा २ महिनाको सुत्केरी श्रीमती घरमा छन् । सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोसिलो खानेकुरा त परै जाओस् साँझ बिहान २ छाक खाने अन्नसमेत छैन । लकडाउनको १ महिना छिमेकीसँग पैँचो मागेर भए पनि सुत्केरी श्रीमती र तीन बालबच्चाको पेट भरेका उनकाे घरमा अहिले पकाउने केही पनि छैन । घरमा चुलो बाल्ने उपाय नभएपछि शनिबार पौरखी समूहले व्यवस्था गरेको पाँच प्याकेट खाना सबैले बाँडेर छाक टारे ।

Advertisement

साँझ माइली भाउजूले दिएको चामल र छिमेकी दिदी पर्नेले दिएको दालले शनिबार साँझ र आइतबार बिहानको चुलो बलेको तर अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले अन्य टोलवासीसहित वडामा राहतका लागि धर्नामा आएको उनले बताए । “घरमा सुत्केरी श्रीमती छन्, कति दिन अरुसँग चामल र दाल मागेर परिवार पाल्ने ? अहिले सबैको अवस्था मेरोजस्तै हो नि । सरकारले कि हामीलाई काम गर्न जान दिनुपर्‍याे नत्र परिवार पाल्न राहत चाहियो”, विश्वकर्माले भने । नागरिकता नभएकाले नै आफूलाई राहत पाउनबाट वञ्चित गरिएको हुनसक्ने उनकाे अनुमान छ ।

वर्षौंदेखि मुस्ताङबाट आएर यहीँ बसोबास गरेको बताउँदै उनले एक पटक बनाएको नागरिकता हराएपछि पुनः अर्को नबनाएको जनाए । राहत माग्दै कृष्ण टोल, पार्वती टोल र शान्तिनगर टोलका २ सय हाराहारीका उनीहरुले बास्तोलाथरमा रहेको वडा कार्यालयमा मध्याह्नदेखि धर्ना दिएका थिए । प्रभावित परिवारको भीडभाड बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मी र वडाका कर्मचारीको पहलमा उनीहरुको नाम सङ्कलन गरिएको थियो ।

Advertisement

टोल विकास संस्थाका उपाध्यक्षसमेत रहेका कान्छा लामाले टोल विकास संस्थाबाट १ ९४ कै नामावली वडामा पेश गरिएकामा चैत २७ गते ५४ परिवारलाई राहत वितरण गरिएकामा अन्य परिवारले राहत नपाएको बताए । वडाध्यक्ष र सचिवलाई ५ दिनअघि वडामा आएर राहतका लागि आग्रह गर्दा २ दिन पर्खिन भने पनि केही सहयोग नपाएपछि टोलवासी वडामा धर्नाका लागि आएको तर वडाध्यक्ष सम्पर्कमा नआएको उनले बताए । “वडाले पक्षपात गरेको छ , एउटै वडामा भए पनि कोहीलाई राति÷राति घरमा राहत पुर्‍याउने, हामीले चाहिँ सरकारको राहत कस्तो हुन्छ कहिल्यै देख्न पनि नपाउने”, लामाले आक्रोश व्यक्त गरे ।

वडाध्यक्ष रामराज लामिछानेले राहतका लागि प्राप्त एक हजार ९४५ आवेदनमध्येबाट पहिलो चरणमा ६ सय ८८ परिवारलाई राहत वितरण गरिएको बताउँदै पाउनुपर्ने वास्तविकरुपमा प्रभावित कोही छुटेको भएमा दोस्रो चरणमा दिइने बताए । एउटै व्यक्तिले पटक÷पटक राहत लिने प्रवृत्ति रहेको भन्दै उनले दोस्रो चरणको राहत वितरण गर्नुअघि पहिलो चरणमा राहत पाएका सबैको नामावली मागिने र छुटेकालाई वितरण गरिने जानकारी दिए । “राहत वितरणलाई प्रभावकारी बनाउन वडासदस्यको नेतृत्वमा सबै टोल विकास संस्थाका अध्यक्षसहितको वितरण समितिमार्फत राहत दिएका हौँँ । छुटेकालाई केही दाता खोजेर पनि छुट्टै दिएका छौँ”, वडाध्यक्ष लामिछानेले भने । रासस

तपाईको प्रतिक्रिया