आकर्षक स्तनले यौवन झल्किन्छ

समाधान संवाददाता २०७७ वैशाख १५ गते १३:१३

निरू केसी

एउटा रेडियो कार्यक्रममा गाउँखाने कथाको प्रश्न सोधिएको थियो बच्चाको खाना, श्रीमानको खेलौना, श्रीमतीकाे गहना के हो ?  सही जवाफ कसैबाट आएन । अन्त्यमा उद्घोषकले नै सही जवाफ बताए स्तन भनेर ।

उत्तर सुनेपछि एकछिन सन्न भएँ । स्तनको अपार महत्त्वबारे धेरै बेर घोत्लिएँ अनि यस सम्बन्धी विभिन्न अनुसन्धान गर्न थालें । निचोडस्वरूप स्तनको महत्त्व र सौन्दर्यलाई जोगाउने केही उपयोगी टिप्सहरू तयार गरेकी छु । 

Advertisement

स्तनपायी प्राणीका पोथी जातिहरूमा दुई वा दुई भन्दा बढी स्तन हुन्छन् । सन्तान उत्पादनपछि जीवनदानका लागि प्रकृतिले नै स्तनको विकास गरी तरल दुग्ध पदार्थ भरिदिएको हुन्छ ।

मानव जातिका स्त्रीमा भने स्तनको महत्त्व पृथक छ । सन्तानलाई जीवनदानसँगै स्त्री सौन्दर्य र यौनजीवनमा समेत स्तनको उल्लेख्य भूमिका रहन्छ । आकर्षक स्तनले यौवन झल्किन्छ भने जस्तोसुकै पोसाक लगाए पनि चिटिक्क सुहाउँछ ।

Advertisement

हाम्रा धार्मिक,पौराणिक तथा साहित्यिक काव्यहरूमा समेत सुन्दर स्तनको चर्चा र महिमा वर्णन गरिएको पाइन्छ । गहिरो नाभिस्थान, शंखजस्तो गला, छिनेको कटी, उँचा र पुष्ट स्तनको चर्चा सुन्दर युवती तथा अप्सराहरूको वर्णनमा पाइन्छ ।

हुन त कसैको स्तनको आकार प्रकार र बनोटमा मानिसको हात हुँदैन, यो त प्रकृति प्रदत्त बहुमुल्य गहना हो । यद्यपि आफ्ना स्तनहरू र सौन्दर्यलाई चीरकालसम्म जोगाइ राख्न र आकर्षण बढाउन भने केही उपायहरू अपनाउन सकिन्छ । 

स्त्री सौन्दर्यको चर्चा गर्दा ज्यादा साना वा ज्यादा ठूला, तल लत्रिएका, कोखातिर फर्किएका, एउटा सानो र अर्को ठूलो भएका स्तन नराम्रा मानिन्छन् । त्यस्तै स्तनभन्दा पेटको भाग बाहिर निस्केको शरीरलाई राम्रो मानिँदैन ।

पेट, छाती,कटीको भाग एकनासले समतल भएको घ्याम्पो जस्तो शरीर पनि राम्रो देखिदैन । ठिक्क उचाइ, उठेका स्तन, बारुले कम्मर, केही फुकेको कटी स्त्रीशुलभ आकर्षक कद मानिन्छ । 

विशेषगरी सन्तान जन्माएपछि स्तन तथा पेटको आकार प्रकार र सौन्दर्यमा व्यापक गिरावट आउने हुँदा यसै अवस्थामा केही उपयोगी कुरामा ध्यान पुर्‍याउँदा जीवनभर पछुताउनु पर्दैन । शिशु जन्मेपछि  उसको प्राण रक्षार्थ आमाको स्तनबाट दूध बग्न थाल्छ ।

सौन्दर्य बचाउनका खातिर शिशुलाई स्तन नचुसाई पाउडर दूध या खुवाउनु चाहिँ घातक र भ्रामक बुझाइ हो । बच्चालाई दूध चुसाएर स्तनको सौन्दर्य गुम्दैन बरु स्तन क्यान्सर जस्ता रोगबाट बच्नको साथै जन्मान्तरलाई पनि बढाउन मद्दत पुग्छ । तसर्थ निश्चित समयसम्म बच्चालाई स्तनपान गराएर आफ्नो मातृधर्म पुरा गर्नुपर्छ । स्तनपानसँगै सन्तानलाई स्वस्थ निरोगी राखी आफ्नो सौन्दर्य कायम राख्ने केही टिप्स चाहिँ अपनाउनु पर्छ । 

१. वस्त्र

स्त्री जातिले पहिरिने गोप्य अङ्गका बस्त्रहरूले स्वास्थ्य र सौन्दर्यमा अहम् भूमिका खेलेको हुन्छ । तसर्थ उपयुक्त किसिमको वस्त्रको छनोट गर्नुपर्छ । केटीहरूमा विशेषगरी १० देखि १४/१५ वर्षको उमेरमा स्तनको वृद्धि हुनथाल्छ ।

पहिले ससाना गिर्खा जस्तो डल्लो बढ्दै मांसपेशीको वृद्धि र विकास हुन थाल्छ । यस्तो बलामा उनीहरू डराउने, लजाउने, भयभीत हुने गर्छन् । आफूमा आएको परिवर्तनलाई लुकाउन बाक्लो र कसिलो लुगा लगाउन खोज्छन् ।

कसिला बस्त्रले मांसपेशीको विकासमा रोकावट ल्याउँछ । परिणामस्वरूप मांसपेशी आवश्यक मात्रामा बढ्न पाउँदैनन् । कसिलो लुगाले स्वासप्रस्वास, रक्तसञ्चार प्रक्रिया र अन्य विकासमा पनि समस्या पर्छ । दैनिक कृयाकलाप गर्न पनि कठिन हुन्छ । यसकारण यो उमेरमा हलुका, सजिला वस्त्र लगाउनुपर्छ र लगाउन दिनुपर्छ ।

२ गर्भावस्थामा रेखदेख

स्तनको जतन गर्नुपर्ने विशेष अवस्था भनेको गर्भावस्था र सुत्केरी अवस्था हो । गर्भावस्थाका प्रथम महिनादेखि नै स्तनको आकार वृद्धि हुन थाल्छ । यो समयमा पनि कसिलो लुगा लगाउनु हुँदैन ।

छालामा चिलाउने खालका खस्रा, बाक्ला ब्रा लगाउनु हुँदैन । कटनबाट बनेका नरम ब्रा लगाउनुपर्छ । यस समयमा शरीर ज्यादै कोमल हुने हुँदा स्तन,पेट तथा साँप्रामा कन्यायो भने पछि गहिरा धर्सा बस्ने हुँदा नङले कन्याउनु हुँदैन । चिलाउने समस्या आउन नदिन स्किन एलर्जी हुने खालका खाना खानु हुँदैन ।

त्यस्तो वस्तुको नजिक जानु  हुदैन । पसिना र घमौराबाट बच्न  बारम्बार नुहाउनुपर्छ । यो समयमा कसै कसैको स्तनको मुन्टामा कालोपोतो आउन सक्छ । सुत्केरीपछि त्यो हराउँदै जान्छ । यद्यपि सुत्केरी हुनुपूर्व नै स्तनको मुन्टाहररू नरम कपडा र  मनतातो पानीले रगडेर कालो फाल्ने तथा दूधका नलीहरू सफा गर्नुपर्छ । सुत्ने बेलामा ब्रा खोल्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ । 

३.सुत्केरी अवस्थामा स्तनको स्याहार

बच्चाको जीवन भन्दा आफ्नो सौन्दर्य ठूलो कुरा होइन । तसर्थ तपाईं स्वस्थ हुनुहुन्छ भने बच्चा जन्मेको केही बेरमै उसलाई आफ्नो दूध चुसाउनु पर्छ । प्रकृतिले हामीलाई आफ्नो बच्चा जन्माउने र उसलाई पुग्ने अमृततुल्य दूध दिएको हुन्छ ।

त्यसैले ढिलाइ नगरी बारम्बार बाक्लो बिगौती दूध बच्चालाई खुवाउनु पर्छ । स्तनपान गराउँदा स्तनपानका केही नियम पनि पालना गर्नुपर्नेछ । स्तनको निप्पल सानो भएर बच्चाले दूध चुस्न नसकेमा, दूध जमेर नली बन्द भई स्तन गान्निएमा चिकित्सकलाई भेट्नु पर्छ ।

यस्तो भएमा कसैको शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ ।  बच्चालाई पर्याप्त दूध पुग्नको लागि आमाले माछा, मासु, मेथी, ज्वानो आदिको झोल प्रशस्तै खानुपर्छ । दूध बढी भएर बच्चाले दूध नसकी स्तन गानिने, सुन्निने, गिर्खा बस्ने, चर्किने भयो भने झोल खान कम गर्नुपर्छ ।

कतिपय महिलामा माथिका समस्या आइपर्दा जथाभावी दूध दुहुने, निचोर्ने, पम्प लगाउने गरेर स्तनको सौन्दर्य गुमेको हुन्छ । यसकारण दूध बढी भएमा अरूका बच्चालाई चुसाउने र झोल कम खानुपर्छ ।

सुत्केरी पछि दूधको पर्याप्तताको कारण स्तन झाँट्टिने, तल लत्रिने र छाला तन्किने हुन्छ । जसको कारणपछि स्तनको मांसपेशी झुन्डिएको देखिन्छ । यस्तो हुन नदिन साइज अनुसारका ब्रा लगाइराख्नु पर्छ । उत्तानो परेर सुतिरहनु हुँदैन ।

दूध चुसाउँदा दुवै स्तनको दूध बराबर चुसाउनु पर्छ नत्र पछि एउटा स्तन ठूलो एउटा सानो हुन्छ । सुत्केरी अवस्थामा ज्यादा पोसिलो खाना खाने,आराम गर्ने ,काम कम गरिने हुँदा कसरत पनि कम हुन जान्छ । शारीरिक तौलसँगै स्तनको आकार पनि ज्यादै बढ्न गयो भने विचार पुर्‍याउन पर्छ नत्र तौल घटेपछि स्तनको छाला ज्यादै झ‍ोल्लिन्छ ।

४.कसरत

शारीरिक सुगठन र फिटनेसका कुरा महिलामा पनि उत्तिकै आवश्यक छ । हाम्रो शरीर तथा पेटमा अनावश्यक बोसो जम्मा भई मोटोपन बढ्न गएमा सौन्दर्यमा ह्रास आउँछ । पेटको मासु ज्यादा बढ्न नदिई स्तन उँचा देखाइ राख्न नियमित शारीरिक व्यायाम गर्नुपर्छ । शरीर दुब्लो भएमा पनि खानपिनमा विचार पुर्‍याइ व्यायाम, योग जारी राख्नुपर्छ । 

५.पहिरन

पहिरनले व्यक्तिको सौर्न्दर्य र व्यक्तित्वलाई झल्काउँछ । राम्रो महंगो र फेसनको लुगा भन्दैमा आफ्नो आङमा नसुहाउँने लुगा लगाउन हुदैन । शरीरको बनावट अनुसार पहिरनको छनोट गर्न सकिएन भने इज्जत र सौन्दर्य बढ्नुको सट्टा घट्न जान्छ । तसर्थ आफ्नो शरीर तथा स्तनको आकार, प्रकार, बनोट अनुसारको लुगा छनोट गर्नुपर्छ ।

नेकको भाग कम काटिएको वा धेरै काटिएको, कम्मरको भाग टाइट वा खुला भएको पहिरनले पनि स्तनको साइज फरक फरक देखाउँछ । यदि स्तनको आकार निकै सानो छ या दुब्लो भएर लुगा मिलिरहेको छैन भने यस्तो अवस्थामा फमब्रा लगाउन पर्छ । ब्रा ज्यादै खुकुलो, कसिलो र तन्केर जिउमा अमिल्दो भएको नलगाउनु होस्  । 

६.उपचार

हामीले स्तनको जतन गर्दागर्दै पनि यसको सौन्दर्य गुमायौँ या ज्यादै सानो र ठूलो भएर लत्रिएको छ भने उपचार पनि अवश्य छ । यस्तो उपचारले पक्कै तपाईंलाई सन्तुष्टि दिन्छ दिदैन,सकरात्मक असर गर्छ गर्दैन भन्ने बुझेर मात्र गर्नुहोला ।

उपचार भन्दैमा विज्ञापन गरिएका प्रचारमुखी महंगो सामानको पछि नलाग्नु होला । उपचारका केही विधि र शल्यक्रिया समेत हुने गर्छन् । सर्जरी गरेर पनि स्तन टाइट बनाउन सकिन्छ । जुनसुकै विधि अपनाउनु पूर्व चिकित्सकसँग परामर्श लिई ‍औषधी उपचार गर्न सकिन्छ । 

पचार भन्दैमा विज्ञापन गरिएका प्रचारमुखी महंगो सामानको पछि नलाग्नु होला । उपचारका केही विधि र शल्यक्रिया समेत हुने गर्छन् । सर्जरी गरेर पनि स्तन टाइट बनाउन सकिन्छ । जुनसुकै विधि अपनाउनु पूर्व चिकित्सकसँग परामर्श लिई ‍औषधी उपचार गर्न सकिन्छ । 

   [email protected]

तपाईको प्रतिक्रिया