भष्मासुर कोरोनाबाट के सिक्यौं ?

समाधान संवाददाता २०७७ वैशाख १५ गते १६:१३

इस्वर पहारी

साथीभाइसँग फेसबुकमा गफ हुन्छ । भेट हुँदाका चिया गफ महिना दिन भयो हराएको । दिन पनि कस्तो आयो घर भित्रै बसिरहनुपर्ने । बजारमा चहलपहल घटेको देख्दा पनि अचम्म लाग्दो रहेछ ।

सायद मेरो मात्र होइन अधिकांशको दैनिकी यसरी नै गुज्रिरहेको छ । कोरोनाले विश्वभरका मानिसमा त्रास देखिन्छ नै त्योभन्दा ठूलो कुरा यसले हामीलाई पाठ सिकाएको छ । चर्पी जाँदा मात्र हात धुने हामीलाई छिनछिनमा हात धुने बनाएको छ ।

Advertisement

विश्वका मै हुँ भन्ने मान्छेको घमण्डलाई पनि यसले चिरेको छ । पैसा, पेशा अनि काम भन्दा पनि आफ्नो ज्यान महत्वपूर्ण हुन्छ भन्ने कुरा कोरोनाले बुझाएको छ । तलब काटिने त्रासले कति कामदार संकटमा पनि काम गरिरहेका छन् ।

वर्षौंदेखि सहरमा बस्दै आएका कति गाउँ फर्केर बाँझो खेतमा उत्रिए । गाउँ बिर्सिएकालाई भष्मासुर कोरोनाले गाउँको महत्व बुझाएको छ । कति अब सहर नफर्कि गाउँमै श्रम गर्लान् ।

Advertisement

बिना काम सडकमा लखरलखर हिँड्नेलाई अरुको संसर्गमा आउँदा त्रसित हुने बनाएको छ । सेनिटाइजर भन्ने शब्द नसुनेका कतिले कोरोनाले गर्दा यसको महत्व बुझ्न पाए ।

मास्कको प्रयोग हावाबाट सर्ने रोगबाट बच्ने अचुक उपाय हो भन्ने भएको छ । सामाजिक दुरीको महत्व बुझ्न पाइएको छ । कोरोना नियन्त्रणमा आएपछि जनमानसमा चेतनाको स्तर बढ्छ भन्ने मलाई लागेको छ ।

हो, कोरोनाले हरेक क्षेत्र तहसनहस भएको छ र पुरानै अवस्थामा फर्किन समय लाग्नेछ । आफैं महशुस गरौं त हाम्रा कति बानी परिवर्तन भएका छन् । घरमा बस्दा खल्तीको आयतन घटबढ भइरहेको छ ।

कामका लागि परिवारबाट टाढा भएकाले घरमा आमाबुवा अनि बालबच्चासँग समय बिताउन पाएका छन् । दिनभर सँगै बस्दा कति परिवारका सदस्यमा समझदारी बढेको छ, कति परिवारमा झैझगडा पनि उत्तिकै छ ।

प्रविधिको प्रयोग बढेको छ । इन्टरनेटमार्फत घरमा बसेर नयाँ कुरा सिक्ने मौका कोरोनाले जुराएको छ । विद्यार्थीले अनलाइनमार्फत पढिरहेका छन् । देशमा भएका दक्ष जनशक्तिको प्रयोगबाट देशभित्रै औषधिजन्य सामग्रीहरुको उत्पादनमा जोड दिनुपर्छ भन्ने कुरा कोरोनाले सिकाएको छ ।

संकटमा सरकारको दायित्व के हो भन्ने कोरोनाले बुझाएको छ । स्वास्थ्यकर्मीलाई तयार राख्नुपर्छ भन्ने पाठ सरकारले सिकेको छ । अन्त्यमा, दैनिक कामकाज, कार्यालयको जिम्मेवारी लगायतबाट वाक्क भएकाहरुले राहतको सास फेरेका छन् ।

प्रकृतिको सुन्दरतासँगै चराचुरुङ्गीको चिरबिर आवाजमा आफूहरुलाई हराउन सकेका छन् । कोरोना मात्र होइन भविष्यमा आउन सक्ने संक्रमणबाट बच्न भौतिक र मानसिक रूपमा सबै पक्ष तयार हुनुपर्छ भन्ने पाठ सिक्ने मौका मिलेको छ । आशा गरौं छिट्टै हाम्रो जीवनको गति पुरानै लयमा बग्ने छ । अन्त्यमा मेरो आग्रह – घरमै बसौं, नयाँ कुरा सिक्ने प्रयत्न गरौं ।

तपाईको प्रतिक्रिया