खेतबारीबाटै तरकारी बिक्री भएपछि किसान खुशी

समाधान संवाददाता २०७७ वैशाख १५ गते १६:३९

वालिङ

तरकारी तथा कृषिजन्य उत्पादन खेतबारीबाटै बिक्री भएपछि यहाँका किसान खुशी भएका छन् । ‘लकडाउन’का कारण उत्पादित तरकारी बजारमा लैजान नपाएका यहाँका किसानको तरकारी वालिङ नगरपालिकाले खेतबारीबाटै खरिद गरेपछि किसान खुशी भएका हुन् ।

Advertisement

लकडाउनका बेला अन्य जिल्लाबाट तरकारी ल्याउन नदिने र नगरपालिकाभित्रै उत्पादन भएका तरकारीलाई पहिलो प्राथमिकता दिएसँगै नगरभित्र उत्पादित तरकारीले बजार पाएको वालिङ कृषि शाखा प्रमुख केशबहादुर थापाले बताउनुभयो । “नगरपालिकाका १४ वटै वडामा व्यावसायिकरुपमा उत्पादन भएका तरकारीजन्य वस्तुको फार्ममै पुगेर तथ्याङ्क सङ्कलन गर्‍याैं, उहाँले भन्नुभयो, “उत्पादित तरकारी खरिद गरेर राहत वितरणको प्याकेजमा समावेश ग¥र्यौं भने अन्य वालिङ कृषि बजारमार्फत बिक्री वितरण भइरहेको छ ।”

बाहिरबाट तरकारी ल्याउँदा सङ्क्रमण फैलन सक्ने भएकाले पनि वालिङभित्रै उत्पादित तरकारीको बिक्री वितरणमा प्राथमिकता दिइएको छ । जसले गर्दा फाइदा यहीँका किसानलाई भएको शाखा प्रमुख थापाको भनाइ छ ।

नगरपालिकाले नगरभित्रका तरकारी उत्पादक फार्मसँग तरकारी खरिद गरेसँगै आफ्नो फार्मबाट झण्डै १२ क्विन्टल बन्दागोपी बिक्री भएको वालिङ– १२ को पनियारे कृषि फार्मका सञ्चालक युवा व्यवसायी पीताम्बर डुम्रेले बताउनुभयो । “फार्ममा धेरैमात्रामा बन्दागोपीसहित अन्य बोडीलगायतका तरकारी उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “नगरपालिकाले खेतबारीमै आएर १२ क्विन्टल बन्दागोपी लगेको छ ।” उत्पादित तरकारी कहाँ बेच्ने होला भनेर चिन्तित भइरहेका बेला नगरपालिकाले तरकारी खरिद गरिदिएर सहयोग गरेकामा खुशी लागेको व्यवसायी डुम्रेको भनाइ छ ।

आफूले लगाएको बन्दा तथा अन्य उत्पादित तरकारी बिक्री गर्ने बेलामा लकडाउन शुरु भएकाले बिक्री गर्न नपाएर खेतमै रहेको तरकारी नगरपालिकाले खरिद गरेकामा वालिङ– ६ लालुपातेकी व्यवसायी पार्वती अर्यालले पनि खुशी व्यक्त गर्नुभयो । “विगतका वर्षमा यहाँ उत्पादन भएको तरकारी नजिकैको जगत तथा वालिङ बजारमा लगेर बिक्री गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “बिक्री नभई खेर फाल्नपर्छ कि भन्ने पिरलोले सताइरहेका बेला नगरपालिकाले बन्दालगायतका अन्य बकुल्ला, सिमी, साग र मटरकोसा खरिद गरिदियो ।”

Advertisement

यहाँ उत्पादन भएको तरकारी बिक्री गरेरै घर खर्च चलाउने गरेको व्यवसायी अर्यालले बताउनुभयो । वालिङ– ४ एलादीमा ‘रोहित कृषि तथा पशुपालन फार्म’ सञ्चालन गर्नुभएका रोहित गुरुङले उत्पादन गर्नुभएको बन्दागोपी नगरपालिका र वडा कार्यालयले झण्डै तीन क्विन्टल खरिद गरेर राहत वितरणको प्याकेजमा समावेश गरी वितरण गरेको छ ।

“कडा परिश्रम र लगानी गरेर तरकारी उत्पादन त गरियो तर बिक्री गर्ने बेलामा भने लकडाउनका कारण मर्कामा परियो”, उहाँले भन्नुभयो, “नगरपालिका र वडा कार्यालयले वितरण गर्ने राहतको प्याकेजमा तरकारी पनि समावेश गरिदिएकाले बिक्री सम्भव भयो ।” नगरपालिकाले जिल्ला बाहिर तथा अन्य पालिकाबाट वालिङमा तरकारी आयातमा रोक लगाएसँगै यहीँको उत्पादनले बजार पाएको हो । रासस

तपाईको प्रतिक्रिया