बालबालिकाले खोप पाउन थाले

समाधान संवाददाता २०७७ वैशाख १५ गते १९:५८
SALT LAKE CITY, UT - APRIL 26: In this photo illustration a one dose bottle of measles, mumps and rubella virus vaccine, made by MERCK, is held up at the Salt Lake County Health Department on April 26, 2019 in Salt Lake City, Utah. (Photo Illustration by George Frey/Getty Images)

बागलुङ

लकडाउनका कारण प्रभावित खोप सेवा पुनः सञ्चालन भएको छ । महिना दिनदेखि खोप पाउनबाट बञ्चित गर्भवती र बालबालिकाले खोप पाउन थालेका हुन् । धवलागिरि अञ्चल अस्पतालमा सोमबार २५ बालबालिकाले नियमित खोप लगाएका छन् ।

अस्पतालमा हरेक सोमबार र बिहीबार बालबालिका र आइतबार र बुधबार गर्भवती महिलालाई खोप दिने गरिन्छ । कोरोनाको जोखिमले रोकिएको खोप सेवा सञ्चालनमा आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अपनाएर खोप दिने गरेका छन् । खोप सेवा सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नेलगायत विशेष सावधानी अपनाउने गरिएको छ । सोमबार धवलागिरि अञ्चल अस्पतालसँगै ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि खोप सेवा प्रदान गरेको छ ।

Advertisement

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा तीन चरणमा नियमित खोप कार्यक्रम सञ्चालन गरिन्छ । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा हरेक महिनामा १ देखि ७ गतेसम्म खोप सेवा चल्छ ।

दोस्रो चरणअन्तर्गत हरेक महिनाको ७ देखि ११ गतेसम्म गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको दुई वडामा सञ्चालन गरिन्छ ।

Advertisement

यस्तै, तेस्रो चरणमा १७ देखि २२ गतेसम्म ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका बाँकी वडामा खोप सेवा सञ्चालन हुँदै आएको छ । “लकडाउनले प्रभावित बनेको खोप सेवा गत बुधबारदेखि शुरु भएको छ”, कार्यालयका चेन कोल्ड असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीले भन्नुभयो, “पुरानै समय तालिकाअनुसार सम्बन्धित पालिकामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।”

जिल्लामा मासिक करिब ५५० नवजात शिशु एवं बालबालिकाले खोप सेवा लिने गर्छन् । जन्मेदेखि १५ महिनाको अवधिमा सात पटकसम्म विभिन्न रोगका विरुद्ध बालबालिकामा खोप लगाउने गरिन्छ । रासस

तपाईको प्रतिक्रिया