कोरोना छल्दै, योगअभ्यासमा रमाउँदै विदेशी पर्यटक

समाधान संवाददाता २०७७ वैशाख १५ गते २०:१६

एसके थकाली, जोमसोम

विश्व व्यापी माहामारीको रुपमा उत्पन्न नोभेल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुक लक डाउन गर्‍यो । कोराना सन्त्रास छाइरहेको रहेको र लकडाउन भएकै अवस्थामा राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै ४ साताअघि मुस्ताङ आएका २ सय ३ पर्यटक मध्ये १२ जना पर्यटक अझै मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा सुरक्षित रुपमा बस्दै आएका छन् ।

आफ्नो देशमा कोरोना संक्रमण अत्यधिक मात्रामा बृद्धि भइरहेकाले मुस्ताङबाट अन्तिम १२ जना पर्यटकले जान नचाहेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए । उनीहरुले नेपालमा कोरोना भाईरसको जोखिम कम भएकाले यही बस्न रुचाएको एक्याप प्रमुख दाहालले बताए ।

Advertisement

दाहालका अनुसार मुस्ताङमा बसेका अन्तिम १२ पर्यटकहरु ९ देशका छन् । एक्यापका अनुसार मुस्ताङमा रहेका १२ पर्यटक मध्ये अष्ट्रेलियाका २ जना, रसियाका २ जना, अमेरिकाका २ जना छन् भने फ्रान्स, जर्मन, इटाली, जापान, स्वीडेन र युक्रेनका १/१ जना पर्यटक छन् ।

मुस्ताङको छेङ्गुरमा ५ जना, जोमसोममा ४ जना र घाँसामा १ जना पर्यटक बस्दै आइरहेका छन् । यसअघि नेपाल पर्यटन बोर्ड र सम्वन्धित राजदूतावासको समन्वयमा मुस्ताङबाट २१ देशका १ सय ९१ विदेशी पर्यटकको उद्दार भएको एक्यापले जनाएको छ ।

Advertisement

बाँकी रहेका १२ पर्यटक भने कुनै समस्या नरहेकाले स्थानीय प्रशासन र एक्यापको सम्पर्कमा नआएको एक्याप प्रमुख दाहालको भनाइ छ । मुस्ताङबाट उद्दार भएका कतिपय पर्यटक सम्वन्धित देश फर्किसकेका छन् भने कतिपय अझै पोखरा र काठमाडाैंमा हुनसक्ने जनाए । मुस्ताङमा रहेका १२ जना पर्यटक मध्ये ५ जना विदेशी पर्यटकले भने ४ साता अघिबाट बारागुङ मुक्तिक्षेत्र–१ को छेङ्गुर स्थित होटल मुस्ताङ मनोरमा इनमा बस्दै आइरहेको पाइएको छ । उनीहरु त्यहाँ कोरोना भाइरसको जोखिम छल्ने र दैनिक योगअभ्यासमा व्यस्त रहेको एक्यापका पर्यटन सहायक प्रेम बस्नेतले जानकारी दिए ।

दैनिक ३ पटक अर्थात बिहान, दिउँसो र बेलुकी ३ पटक निरन्तर योगकर्ममा व्यस्त हुने गरेको बस्नेतले बताए । विभिन्न प्रकारको योगअभ्यास गर्दै आइरहेका उनीहरु तत्कालै मुस्ताङ छोड्न नचाहेको उनको भनाइ छ । यस्तै, योग अभ्यासमा व्यस्त रसियाका पर्यटक पेवेल ग्याल्किनले हिमाली सौन्दर्यतामा रमाउदै सुरक्षित रहन चाहेको बताए । ग्याल्किनले कोरोनाले यहिँ शारीरिक व्यायाम गर्दै बस्दा आनन्दित तुल्याएको अनुभव सुनाए । उनले आफूहरु अझै केही समय बस्ने बताए ।

तपाईको प्रतिक्रिया