‘भइन्जेल खाइयो, नभएपछि कराउन पर्‍यो’

समाधान संवाददाता २०७७ वैशाख १५ गते २२:१४

अनुप पौडेल, पोखरा

पोखरामा राहत बाँड्ने विषय पहिलो दिनबाटै विवादित बन्दै आएको छ । राहतका लागि फारम भर्दा अनेकथरी कागजात चाहिने भनिएपछि महानगरको चर्को आलोचना भयो ।

पहिचान खुल्ने कागजात भए हुने भन्दै त्यो विवाद सल्टाइयो । फारम भर्न हुनेखाने पनि लाइन बसे । वडा तहबाट जेनतेन विपन्न परिवार छनोट गरेर महानगरमा पठाइयो । तर, अहिले फेरि राहत नपाएको भन्दै सर्वसाधरण सडकमा उत्रिएका छन् ।

Advertisement

पोखरा–९ कृष्ण टोलका स्थानीयले आइतबार वडा कार्यालय घेराउ गरे । वडाध्यक्षले आश्वासन दिएर घर फिर्ता पठाएको भोलिपल्ट सोमबार उनीहरु महानगरको कार्यालय पुगेका हुन् ।

महानगर अगाडि प्रदर्शन गर्दागर्दै प्रहरीले त्यहाँबाट उनीहरुलाई हटायो । राहत माग्न महानगर पुग्नेको भीडमा भेटिइन् मनकुमारी परियार । उनका श्रीमान् घरबाट भित्रबाहिर गर्न सक्दैनन् ।

Advertisement

उनीसँगै भेटिएकी पवित्रा परियारले एकपटक पनि राहत पाएकी छैनन् । बालुवा चालेर जीविका चलाउने गरेकी उनी लकडाउन पछि घरमै छन् । चिनजान भएकालाई मोटरसाइकलमा बोकेर घरघरमै पुर्‍याएको तर आफ्नो समस्या कसैले नबुझेको उनले सुनाइन् ।

पवित्रा परियार

घरमा भएको रासन सकिन लागेपछि बाध्य भएर कार्यालय घेराउ गर्न परेको पवित्राले बताइन् । ‘अहिलेसम्म कत्ति पनि राहत पाएको छैन । भएको रासन डेढ महिनामा खाइयो,’ उनले भनिन्, ‘भइन्जेल त्यसैले पुग्यो, नभएपछि कराउन पर्‍यो । राहत माग्दा वडाध्यक्षले भोलि आउँछ भने तर त्यस्ता भोलि कति गए गए ।’

चुनावताका उम्मेदवारको लाम लाग्ने गरेको पोखराको सुकुम्बासी वस्तीका झन्डै डेढ सयभन्दा बढी महानगरको कार्यालय पुगेका हुन् । पोखरा बसपार्कका सुकुम्बासी चुनावको नतिजाका मुख्य गोटी हुन् ।

चुनावमा उनीहरुको मत मुख्य चासो बन्ने गरेको छ । उनीहरुको मत तान्न दलका नेताहरुले आश्वासन कति देखाए कति ! चुनाव पनि आए गए । तर उनीहरुको जीवनशैली रतिभर फेरिएको छैन । बरु उनीहरुलाई सपना देखाउने नेताहरुले भने आआफ्नो गतिलै प्रबन्ध गरेका छन् ।

हरेक चुनावमा आश्वासन मात्रै पाएका उनीहरु राहत माग्न काखे बालकसहित सडकमा उत्रिएका छन् । महानगरले उपलब्ध गराएको तथ्यांकमा उक्त वडाका ६ सय ८८ जनालाई राहत बाँडिएको उल्लेख छ । त्यसमध्ये ३ जनासम्म सदस्य भएको परिवारको संख्या २ सय ९६ र सोभन्दा बढी सदस्य भएकाको संख्या ३ सय ९२ छ ।

अरुले उक्साएको संकेत पाएका छौं – वडाध्यक्ष लामिछाने

टोलका बासिन्दा राहत नपाएको भन्दै वडा कार्यालय र महानगर पुगिरहँदा वडाध्यक्ष रामराज लामिछाने भने पटकपटक गरेर १ सय ४६ जनाले राहत पाइसकेको बताउँछन् । कसैले २/३ पटकसम्म राहत लिएको र पाउनुपर्ने कोही छुटेको उनले स्वीकार गरे ।

‘टोलमा सबै गरेर १ सय ९४ घरधुरी छन् । त्यसमध्ये महानगरबाट राहत पाउने ५१ जना हो,’ वडाध्यक्ष लामिछानेले भने, ‘कोही दिनै नपर्नेले पाएको र कोही छुट्नु भएको साँचो हो ।’

राहत पाउन छुटेका ६६ जनाले निवेदन बुझाएको र मंगलबार उनीहरुलाई राहत वितरण गरिने उनले बताए । महानगरले दिने भनेको राहतका लागि १९ सय ४५ जनाले फारम भरेकोमा टोल विकास संस्थामार्फत ६ सय ८८ जनालाई वितरण गरिएको उनले जानकारी दिए ।

राहतका विषयलाई लिएर राजनीतिक दलले उक्साएको संकेत पाएको उनले सुनाए । ‘नदेखी भन्न मिल्दैन तर हामीले त्यस्तो संकेत नपाएको भने होइन । अरुले उचाल्दिने प्रवृत्ति छ ।’ उनले भने । राहत पाउन छुटेका ९ सय १५ जनाको सूची महानगरलाई बुझाएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया