विपद्मा बर्दिया–पोखरा सम्पर्क समाजको सक्रियता, सयौं मजदुरलाई राहत र उद्धार

समाधान संवाददाता २०७७ वैशाख १६ गते १६:०१

समाधान संवाददाता
पोखरा, १६ वैशाख

कोरोना भाइरसका कारण चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण अलपत्र परेका बर्दियाली मजदुरहरुको उद्धार र राहतमा बर्दिया पोखरा सम्पर्क समाजले सक्रियता देखाएको छ । बर्दियाबाट आएर पोखरा र आसपासका जिल्लामा मजदुरी गर्नेहरुलाई समाजले विभिन्न निकायको पहलमा उनीहरुलाई घरसम्म पुर्याउने काम गरेको समाजका संस्थापक अध्यक्ष दीपक पौडेलले जानकारी दिए ।

‘लकडाउनले मजदुरी गर्नेहरुलाई असाध्यै पिरोलिरहेको छ,’ उनले भने, ‘बर्दियाबाट रोजीरोटी जोहो गर्न अधिकांश मजदुर पोखरा आएर काम गरिरहेका छन् । सरकारले आह्वान गरेको लकडाउन उल्लघंन गर्न पनि नसकिने र भएको खाद्यान्न पनि सकिएपछि समाजको पहलमा उनीहरुको उद्धार थालेका थियौं ।’

हालसम्म समाजले विभिन्न स्थानीय तहको पहलमा ४ सय बढी बर्दियाली मजुदरको उद्धार गरिसकेको पौडेलले जानकारी दिए ।

Advertisement

कास्कीका सहायक सिडिओ गुरुदत्त ढकाल, तानसेन नगरपालिका पाल्पाका प्रमुख अशोककुमार शाही, बगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्णप्रसाद बस्याल, वालिङ नगरपालिका स्याङ्जाका प्रमुख दीलिपप्रताप खाँण, फेदीखोला गाउँपालिका स्याङ्जाका अध्यक्ष घनश्याम सुवेदी र पोखरा महानगरका वडा १५, १६, १९ र २४ का अध्यक्षहरुको सहयोगले उक्त काम सम्भव भएको उनको भनाई छ ।

उद्धार आवश्यकलाई उद्धार र खाद्यान्न आवश्यक पर्नेलाई राहत ठाउँमै पुगेर उपलब्ध गराएको समाजका महासचिव हिमालय बख्रेलले जानकारी दिए । ‘लकडाउन उल्लघंन नहोस् भन्नका लागि हामीले सकेसम्म मजदुर दाजुभाईलाई यही राहत उपलब्ध गराएर बसाल्न खोजेका थियौं,’ उनले भने, ‘लकडाउन लम्बिने संकेत देखिँदै आयो । अनि सरकारी निकायहरुको पहलमा उद्धार थाल्यौं ।’

Advertisement

समाजले विपद्मा समस्या झेलिरहेका दाजुभाईलाई राहत उपलब्ध गराएर भोकै बस्न नदिन जानकारी आएको १ घन्टा भित्रमानै सम्बन्धीत ठाउँमै पुगि तत्काल राहत दिने व्यवस्था मिलाएको छ । राहत एकद्वार प्रणालीबाट होस् भनी स्थानीय तहको समन्वयमा मात्र काम गरिरहेको महासचिव बख्रेलको भनाई छ ।

समाजका संस्थापक अध्यक्ष दीपक पौडेलले सामाजिक अभियन्ता तथा पत्रकार सुस्मा पौडेलले समाजलाई सहयोग जुटाइदिएकै कारण अधिकांश मजुदरको उद्धार गर्न सफल भएको बताउँछन् ।

‘पर्वतको महालक्ष्मी इट्टाभट्टामा कार्यरत मजुदरको विषयमा पनि जानकारी लिएका थियौं । त्यहाँ रहेका ६१ जनालाई पहिले त्यहीँ राहतको व्यवस्था सहित बस्न भन्यौं । पछि घरै फर्कन चाहेपछि उनीहरुलाई बर्दियासम्म पुर्यायौं,’ उनले भने ।
परिवारको एकजना पनि सदस्य यस्तो महामारीमा बाहिर रहँदा अत्यधिक यातना महशुस हुने हुँदा घर फर्कने व्यवस्था मिलाउनु परेको उनी सम्झन्छन् ।

‘आज मंगलबार पनि लमजुङको दुधपोखरी गाउँपालिकामा रहेका ९ जनलाई राहत व्यवस्था गरिदिन वडाध्यक्षसमक्ष अनुरोध गरेका छौं,’ उनले भने, ‘समाजको अनुरोधलाई स्थानीय तहका जनप्रतिनिधिले सहजताका साथ सम्बोधन गरिदिनुभएकोले पनि राहत र उद्धारको काम सफल भइरहेको छ ।’

तपाईको प्रतिक्रिया