थाल र कोपरा नचिन्ने वौद्धिक दिवालीयाहरुको भीड हो त्रिवि ?

समाधान संवाददाता २०७७ वैशाख १६ गते १६:५७

विष्णु गौतम


लकडाउनमा १ महिनाभन्दा लामो समयसम्म घरको चौघेरोमा छट्पटिँदा दैनिक १० जनाभन्दा बढी जनाको एउटै खाले प्रश्नको जनाफ दिनु पर्छ । करिब १ सय ५० जनालाई दिएको जवाफको प्रश्न हो सर हाम्रो क्लास कहिलेवाट सुरु हुन्छ ? अनि हाम्रो कोर्स र परीक्षा के हुन्छ ? सबैलाई दिइने रेडिमेड उत्तर हो क्याम्पस जहिले खुले पनि समस्या भएन हामीले अनलाइनबाट कक्षा सञ्चालन गरौं, कोर्स क्याम्पस खुल्दा नखुल्दै सकिन्छ अनि परीक्षा त १५ दिन मेहनेत गर सबैको पासको ग्यारेन्टी । अनि सुरु हुन्छ अनलाइन कक्षा ।


माफ गर्नुहोला पासको ग्यारेन्टी गर्ने तागत र शक्ति मसँग छैन र घोटेर चम्चामा खुवाउने पासको औषधी पनि मसँग छैन, छ त मसँग मेरा विद्यार्थीहरुको लगाव र क्षमता । उनीहरुकै क्षमतालाई अनुमान गरेर भनेको हुँ १५ दिनमा पासको ग्यारेन्टी । तर पास हुनु मात्रै पढाइ होइन, सिकाइ सबैभन्दा ठूलो कुरा हो । नत्र सयौं पटक गणितमा फेल भएका महान वैज्ञानिक अल्बर्ट आइन्सटाइन कसरी फादर अफ द साइन्स बन्थे र ?

Advertisement


शिक्षकले गाइड गर्ने हो, सिकाइ र जिज्ञाशाको दायरा फराकिलो बनाउन प्रयास गर्ने हो, पास त आजभोलिको प्रविधि प्रयोग गरेर बजारमा पाइने क्याप्सुलहरु नै काफी हुुन्छन् । तर क्याम्पस प्रशासन र विश्वविद्यालयहरुले कहिले बुुझ्छन हाजिर गर्नु, चियामा चर्का गफ गर्नु, प्राध्यापक राजनीति गर्नु र विद्यार्थीलाई चित्त बुुझ्ने गरी नियमित पढाउनु फरक कुरा हुन् ।

विश्वविद्यालयका नयाँ र प्राविधिक विषयका कक्षाहरु विश्वविद्यालयमा गणना नभएका आशिंकहरुले पढाउने कुरा अहिलेका भिसी रेक्टर र रजिस्टार तथा विश्वविद्यालयका नाममा राजनीति गर्नेहरुले राम्ररी बुुझेका छन् जस्तो लाग्दैन । जो आफ्नो परिवार भित्र गणनामा पर्दैन त्यसलाई लकडाउनका बेला घरमै बसेर अनलाइन प्रविधिबाट पढाउ भन्न मिल्छ ?

Advertisement


गत चैत १० गतेदेखि नै सञ्चालित अनलाइन कक्षालाई नियमित कक्षासरह पाठ्यभारमा गणना गर्ने निर्णय कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले गरिसकेको छ । शिक्षक तथा विद्यार्थीको हाजिरीसमेत राख्न विश्वविद्यालयले निर्देशन दिएको छ ।

त्रिविका अधिकांश विभाग र क्याम्पसले जुम, गुगल, एमएस टिमबाट अनलाइन कक्षा चलाउँदै आएका छन् । कक्षा र हाजिरीको प्रमाणित सम्बन्धित विभागीय प्रमुखले गर्नुपर्ने व्यवस्था गरिएको हो । अनलाइन कक्षामा काम गर्ने प्राविधिक कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गर्नुपर्ने अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।


प्रत्येक अनलाइन कक्षाहरुको रेकर्ड राख्नुपर्ने र उक्त रेकर्ड सम्बन्धित प्राध्यापकले आफ्नो निकायमा इमेलमार्फत् पठाउनु पर्नेछ । यसो भनिरहँदा सबै विद्यार्थीहरुमा इन्टरनेट ल्यापटप वा पूर्ण क्षमतामा चलाउन मिल्ने स्मार्ट मोबाइलको व्यवस्था के होला ।


देशैभरका १६ सयभन्दा बढी श्रेणीविहीन शिक्षकले धानेर त्रिभुवन विश्वविद्यालयको भिसी रेक्टर रजिस्टार भन्दै जुँगामा ताउ लगाउने अधिकार त हामीले दिएकै छौं अनि हामीले नै पढाएर देशकै ठूलो र उत्कृष्ठ क्याम्पसको प्रमुखको पदवी लिँदा तपाईंलाई एक रति पनि मन पोल्दैन है ।


सायद देशका सबै आंगिक क्याम्पसहरुमा प्राध्यापक डाक्टर, प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, शिक्षक सहायक र आंशिक शिक्षक भन्ने श्रेणी विभाजन छ । आन्तरिक रुपमा त आंशिकलाई श्रेणी विहीनको दर्जामा राख्ने गरिएको छ । तपाईंहरुले चलाउने विभिन्न समूहहरुमा पनि आशिंकलाई कोपराको संज्ञा दिएर कुरा गर्नु तपाईंहरु जत्तिको विश्वविद्यालयको सम्पत्तिको रुपमा रहनु भएको प्राडाहरुको वौद्धिक दिवालियापन हो ।


हो म त्यही श्रेणीविहीन दर्जाको शिक्षक हुँ जहाँ पढाउन सम्वन्धित विषयमा स्नातकोत्तर गर्नु पर्छ तर दक्षताका आधारमा त्रिभुवन विश्वविद्यालयले गरेको वर्गीकरण हो । तर क्षमताका आधारमा भने होइन ।


बाइफोकल चस्माको भरमा हिँडडुल गर्दै लेख्दा हात काँप्ने र विद्यार्थी अगाडि उभिएर स्मार्ट प्रस्तुति दिन नसक्ने र प्रविधिका बारेमा सोध्दा न बाउले चलाए न बाजेले चलाए अब मलाई किन चाहियो भनेर चियाको सुर्कोसँगै गफ हाँक्ने विद्वान सरहरुबाट अहिले त्रिविले भनेको अनलाइन कक्षा सम्भव छ ।


देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा दैनिक १५ हजार विद्यार्थीहरुका सबै प्राविधिक नया र बढी विद्यार्थीहरुको चाप भएको विषयमा तिनै श्रेणीविहीन शिक्षकहरुले पढाइरहेका छन् । पृथ्वीनारायण क्याम्पसको नियमित कक्षाको ७० प्रतिशत कक्षा त आंशिकले नै धानेका छन् ।


त्यसो त कतिपय विषयहरुमा त सबै श्रेणीविहीन शिक्षक नै छन् जसमा अहिले नियमित कक्षा जरुरी छ । हो त्यहि कुरालाई ध्यान दिँदै अनलाइनबाटै भए पनि नियमित कक्षाको निर्देशन त्रिभुवन विश्वविद्यालयले दिएको हो ।


तर क्याम्पसको लिस्टमै दर्ता नभएका आंशिकलाई घरमा भएको भैंसी पाडो बेचेरै भए पनि कम्प्युटर, ल्यापटपको व्यवस्था गर अनि इन्टरनेटका प्रबन्ध गरेर कक्षा सञ्चालन भन्ने नैतिक आधार क्याम्पस प्रशासनसँग होला ?


नियमित शिक्षकलाई भन्ने आधार त उनीहरुसँग होला तर कति जना प्राध्यापक डक्टरहरु हुनुहोला प्रविधिमा अपडेट भएर कक्षा सञ्चालन गर्ने क्षमता राख्ने ? त्यसो त नयाँ र प्राविधिक विषयको कक्षा भार आंशिकले धानेका कारण हामीले विगत १४ वर्ष देखि समानताको लडाईं लडेको । महिनाभरी नियमित पढाउने शिक्षकलाई मासिक ज्यालादारीको व्यवस्था गर भनेका छौं ।


हामीले यसो भन्नु अन्तर्राष्ट्रिय श्रम अनुसारकै कुरा हो । समान कामको समान ज्याला माग्नु, महिनाभरी पढाएर २ छाक भात खान पुुग्ने व्यवस्था गरिदेऊभन्दा हामी कहाँ नेर गलत भयौं ? देशै भरका १६ सयभन्दा बढी श्रेणीविहीन शिक्षकले धानेर त्रिभुवन विश्वविद्यालयको भिसी रेक्टर रजिस्टार भन्दै जुँगामा ताउ लगाउने अधिकार त हामीले दिएकै छौं अनि हामीले नै पढाएर देशकै ठूलो र उत्कृष्ठ क्याम्पसको प्रमुखको पदवी लिँदा तपाईंलाई एक रति पनि मन पोल्दैन है ।


म पृथ्वी नारायण क्याम्पसमा पत्रकारिता पढाउँछु जसको कक्षा प्रविधिसँग सम्बन्धित नै हुुन्छ । त्यसैले प्रविधिको प्रयोग गरेर पठनपाठन गराउने कुरा हामी पटक पटक क्याम्पस प्रशासनसँग अनुरोध गर्दा पनि नभएको कुरा हो धन्य छ त्रिविलाई हामीले चाहेको कुरा वाध्यकारी बनाइदिएकोमा । यसो भनिरहँदा वर्षभरी पढाएर आएको ज्यालाले ५० हजारको ल्यापटप किन्ने क्षमता नहुने आंशिक शिक्षकलाई निर्देशन दिने नैतिक आधारको बारेमा १ वाक्य बोलेको भए कति राम्रो हुने थियो होला है भिसी साप ।

तपाईको प्रतिक्रिया