विकासको काम थाल्न निर्माण व्यवसायीसँग निवेदन माग

समाधान संवाददाता २०७७ वैशाख १७ गते २१:५४

एसके थकाली, जोमसोम

जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबार जिल्लाको पूर्वाधार विकासको काम सूचारु गर्न शर्तसहित आह्वान गरेको छ ।

स्थानीय प्रशासनले जिल्लामा भइरहेको विकासको काम गर्दा कोरोना भाइरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण कार्यलाई मध्यनजर गर्दै ११ बुदे शर्त सहितको प्रावधान तोकेको हो ।

Advertisement

स्थानीय प्रशासनले विकासको काम गर्न चाहने निर्माण कम्पनीलाई कुनै रोकतोक नहुने जनाएको छ। स्थानीय प्रशासनले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना, जिल्लाका भइरहेका सिँचाइ सम्वन्धी आयोजना, संघ, प्रदेश र स्थानीय तहका गौरवका आयोजनाको निर्माणकार्य सूचारु गर्न आह्वान गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।

यदि कुनै निर्माण कम्पनी, ठेकेदार र निर्माण सम्वन्धी अन्य व्यवसायीले काम सञ्चालन गर्न चाहेको खण्डमा स्थानीय प्रशासनलाई लिखित निवेदन बुझाएर अनुमति लिनसक्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले स्पष्ट पारे ।

Advertisement

स्थानीय प्रशासनले विकासको काममा आवश्यक पर्ने निर्माण सामग्रीको ढुवानी गर्न बिहान ६ बजेदेखि बेलुकी ७ बजे समय तोकेको छ । काम गर्ने मजदुर तथा जनशक्तिको फोटोसहित विवरण पेश गर्नुपर्ने, कोरोनाबाट स्थानीय बस्तीलाई असर नपुग्ने गरी कामदारलाई सामाजिक दुरी कायम गराईनु पर्ने, निर्माण स्थल नजिक खाने बस्नेको व्यवस्था गर्नुपर्ने, कामदार निर्माणस्थल छोडेर जथाभावी हिड्डुल गर्न नपाइने, संक्रमण रोकथाम गर्न सचेतना एवं स्वास्थ्य सुरक्षा उपकरणको व्यवस्था गराईनु पर्ने, सम्भावित संक्रमण देखिएमा क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण गर्न निकायमा समन्वय गर्ने छ ।

निर्माणस्थलमा प्राथमिक उपचारकाे व्यवस्था मिलाउनु पर्ने, निर्माणस्थलमा खटिएका कामदारको अनुगमन गर्न एक जना सुपरिवेक्षण व्यक्ति खटाएर अभिलेख राख्नु पर्ने, जिल्ला भित्र निर्माण सामग्री ल्याउँदा अनिवार्य सवारीको डिसइन्फेक्सन गर्नु पर्ने र सवारी साधन आवश्यक परेमा फोटो टासिएको परिचयसहितको सवारी चालक र सहचालक र सहयोगी मात्र रहने व्यवस्था मिलाउने शर्त तोकिएको छ ।

मुस्ताङमा हिउँदयामको जाडो महिना र विश्वमै महामारीको रुपमा उत्पन्न नोबाेल कोरोना भाइरसका कारण पूर्वाधार विकासको काम ठप्प हुँदै आइरहेको छ । कोरोना अघि राष्ट्रिय गौरवको बेनी÷जोमसोम ७६ किलोमिटर सडकको काम हुँदै आइरहे पनि करिडोरको जोमसोम –कोरला १ सय १० किलोमिटर सडकको काम विगत ६ महिना देखि रोकिएको थियो ।

जोमसोम–कोरला सडकको दोश्रो पटक म्याद थप भइसकेको छ भने बेनी–जोमसोम सडकको तेश्रो पटक म्याद थप भइसकेको छ । करिडोरले यसअघि बेनी–जोमसोम सडकमा टाईमकार्ड लगाएर भिर कटिङ, नाला निर्माण वाल लगाउने लगायतको काम गर्दै आइरहेको थियो ।

लक डाउनका कारण सडकमा सवारी आउजाउ नहुने र नियमित काम गर्न सहज हुने भएकाले करिडोरलाई काममा फर्कन आह्वान गरेको प्रजिअ अर्यालले बताए । यस्तै, हिउँदयामको जाडो, हिमपात पर्ने भएको र कोरोनाका कारण मुलुक लकडाउन भएसँगै संघ तथा प्रदेश र स्थानीय तहका गौरवका आयोजनाको काम पनि विगत ६ महिना देखि ठप्प छ ।

तपाईको प्रतिक्रिया