मुख्यमन्त्री गुरुङले गरे प्रधानमन्त्रीसँग भेटवार्ता

समाधान संवाददाता २०७७ वैशाख १८ गते ११:५८

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान १० बजेपछि मुख्यमन्त्री र प्रधानमन्त्रीबीच भेट भइरहेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री गुरुङ मंगलबार काठमाडौं गएका थिए । उनले बुधबार अर्थमन्त्री युवराज खतिवडालाई भेटी गण्डकी प्रदेशका लागि विभिन्न योजनामा बजेट राखिदिन अनुरोध गरेका छन् । बुधबारै उनले उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अरु नेताहरुलाई पनि भेटेका थिए । गण्डकीका योजनाबारे जानकारी गराउँदै बजेट माग गर्ने र समसामयिक विषयमा छलफलका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

‘प्रदेशका विकास, आगामी बजेट तथा योजनाका सम्बन्धमा प्रधानमन्त्रीसँग मुख्यमन्त्री ज्यूले छलफल गइरहनुभएको छ,’ प्रेस संयोजक न्यौपानेले सम्पर्कमा भने, ‘कोरोनाका कारण भइरहेको लकडाउनको मोडालिटी र प्रादेशिक स्तरबाट गर्न सकिने कामकाबारेमा छलफलको कार्यक्रम छ । समसामयिक राजनीतिक विषयमा त छलफल भैहाल्छ नि ।’

Advertisement

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पछिल्लो समय विकसित घटनाक्रममा पार्टी एकताका लागि योगदान पु¥याउने चाहनासहित पनि आफू काठमाडौं आएको मुख्यमन्त्रीले मंगलबार साँझ आफ्नो फेसबुक लाइभमा बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया