भर्चुअल कक्षाका प्रश्न धेरै चुनौती धेरै

समाधान संवाददाता २०७७ वैशाख १८ गते १२:४७

योगराज लामिछाने
‘विभाग र अन्य विद्यार्थी साथीहरुलाई विद्युतीय माध्यमका कक्षा अनुकुल हँुदा मलाई प्रतिकुल हुँदैन।’यसो भनेर मोबाइल सन्देशमार्फत जवाफ दिएँ । त्रिभुवन विश्वविद्यालय प्रशासनबाटमोबाइलमै जिज्ञासा आएको थियो । विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्देशिका निर्माणकै सिलसिलामा त्यसरी सोधिएको रहेछ ।

विद्यार्थीको आधारभूत वस्तुपरक अवस्थाको तथ्यांक लिन परिपत्र गरेपछि अंग्रेजी केन्द्रीय विभागले विद्यार्थीसँगै सोध्यो । दर्शनाचार्य दोस्रो सेमेस्टरमा पढिरहेको विद्यार्थीका नाताले औपचारिक प्रश्नको जवाफ जिम्मेवार र बफादार विद्यार्थी बनेर दिएँ । वयस्क र अनुभवी विद्यार्थीका रुपमा त्रिवि र विभागको सकारात्मक पहल कदमीलाई प्रोत्साहन गर्ने उद्देश्यले त्यसो भनेँ । तर जवाफमा आफूलाई अनुकुल हुने भन्दै मैले गरेको घुमाउँरो लिखित प्रतिबद्धता कार्यान्यवन गर्न म कति सफल हुन्छु, मलाई आफूमाथि नै शंका छ । आउनेजाने गरिरहने अनि मेघगर्जन सुन्नासाथ लामै समय हराउने विद्युत सेवाप्रति शंका छ । मन्दगतिमा चल्ने, घरी नचल्ने इन्टरनेट सेवा प्रदायक कम्पनीसँग म आश्वस्त छैन ।

परदेशबाट छोराछोरीले पठाइदिएको एप्पलको मोबाइल यहाँ कतिपय आमाबाबुले फोनकल उठाउन प्रयोग गरेकै हालत छ मेरो कम्प्युटरका मामलमा ।कम्प्युटर पनि मुलत टाइपराइटर झैं चलाउँदै आएको छु । मरीमेटी जुटाएका प्रविधिप्रति नै मेरो चरम अविश्वास छ।‘सेटिङ’अन्तर्गतको सानो समस्यालाई पनि सुल्झाउन प्राविधिक नै गुहार्नुपर्ने मेरो दक्षता र सीपप्रति कम्प्युटरलाई दया लाग्दो हो भन्ठान्छु । अनि पूर्वानुमानभन्दा निकै परको, पोखराको मौसममा जानकार जोकोहीको बिल्कुल विश्वास छैन । यस्तो सन्दर्भमा विद्युतीय माध्यमका कक्षा कसरी प्रभावकारी बनाउन सकिएला?शिक्षकको तयारी र सम्पूर्ण विद्यार्थीहरुको पहुँचलाई सबैको प्रवृत्तिगत र प्रविधिगत बिकटता छिचोल्दै समयको आवश्यकताबनेको विद्युतीय माध्यममा कक्षा अगाडि बढाउन सकिएला?प्रश्न धेरै छन् । चुनौती धेरै छन् ।

Advertisement

कोरोना महामारीको सन्त्रासबीच शिक्षक र विद्यार्थीले आफूलाई मानसिक रुपमा अध्ययन अध्यापनका लागि तयार गर्नु नै गाह्रो काम छ । शिक्षणको बन्दोबस्ती मिलाउन प्रशासनलाई गाह्रो छ । पूर्वाधार तयार गरेरमात्रै कहाँ सुख ? शिक्षक आउनजाने कसरी ? त्यो तारतम्य मिलाउने कसरी ? प्रश्न धेरै छन् । चुनौती धेरै छन् ।

सामान्य इमेल खोल्न समय लाग्ने इन्टरनेटबाटै पढाउने ? कि क्षमता बढाएर द्रुत गतिको बनाउने ? क्षमता बढाउने आर्थिक क्षमता कसरी बढ्ला ? फेरि विद्यार्थीलाई शिक्षण संस्थाले शुल्कमा छुट दिने ? यी र यस्ता प्रश्न धेरै छन् । चुनौती धेरै छन् ।

Advertisement

पहिल्यैदेखि यस्ता सामग्री भएकासँग पनि आवश्यक प्राविधिक साक्षरता कति होला ?नजानिकनै चलाउँदा उल्टै प्रविधि नै ढिला हुँदै जाने समस्या पनि कति आउला ?अमेरिका जस्तो प्रविधिमैत्री देशमा पनि ‘बुमवर्ग बिजनेस वीक’का अनुसारत्यहाँका १५ लाख प्राध्यापकमध्ये १० लाख ५० हजारसँग विद्युतीय माध्यममार्फत अध्यापनको अनुभव छैन । अनि हामीकहाँ ? कसले पो अध्ययन गरेको छ र !

कछुवाको गतिमा चल्ने अनि बीचबीचमा आराम गर्ने खरायो प्रवृत्ति बोकेका इन्टरनेट सेवाले विद्युतीय माध्यममार्फत गरिने अविछिन्न शिक्षण एवं संवादमा क्रमभंगता ल्याइदिँदा समग्र शिक्षण सिकाइ प्रभावकारी बन्न सक्दैन । विद्युत प्राधिकरणको एउटै खम्बा वरिपरि मन्दिरको छेवैको पीपल बोटमा भक्तजनहरुले बेरेको धजाजस्तै गुजुल्टिएका टेलिकम र केबल टेलिभिजनका तारहरु माझ तारजडित इन्टरनेट प्रदायक संंस्थाहरुका लाइन, अनि एउटा मर्मत गर्दा अर्कोलाई क्षति पुग्नुले सबैको सेवालाई सामूहिक रुपमा कमजोर बनाएको छ ।

मोबाइल फोनमार्फत पनि जोडिन सकिने विद्युतीय माध्यमबाट सञ्चालित कक्षामा फोनको सानो पर्दामा सहभागी सबैको हाउभाउ र अनुहारको अभिव्यक्ति अध्यापकको मष्तिस्कसम्म कसरी प्रतिबिम्बित होला ?वास्तविक बुझाइ के कति भयो अनि अव्यक्त प्रतिक्रिया के रह्यो भनी अनुमान लगाउन मुश्किलै पर्छ । आजको शिक्षण पद्धति एउटा डुङ्गा चालकले श्रद्धालुहरुलाई फेवाताल किनारबाट बाराही मन्दिर दर्शन गराई फेरि किनारमै पुर्याइदिए जस्तो त छैन ।त्यसमा पनि अनलाइन कक्षामा विद्यार्थीको आवश्यक सहभागिताको अभावमा अध्यापन चलचित्र हेर्नुभन्दा फरक हुँदैन । त्यसो त सहभागीले समयको कुशल व्यव्स्थापन गर्नुपर्ने र आपूmलाई आत्मानुशासनमा राख्नुपर्ने यस विधिमा कुनै टेलिभिजको राजनीतिक बहस कार्यक्रममा, विशेष गरी भारतीय न्युज च्यानलमा, एक सहभागीले बहसमा पटकपटक अवरोध गरी सिंगै कार्यक्रम कब्जा गर्न खोज्ने संस्कृतिले निम्त्याउने समस्याको सम्भावना विद्युतीय माध्यमका कक्षामा पनि उत्तिकै रहन्छ।

विश्वसनीय र प्रभावकारी प्रविधिको अभावमा त्यही प्राविधिक कमजोरीलाई दोष दिएर आफ्नो मुल जिम्मेवारीबाट बिमुख हुनखोज्ने कतिपय विद्यार्थी, शिक्षक एवं अन्य सरोकारवालाको प्रवृत्तिको समाधान कोरनाकै ओखती खोज्नु जस्तै चुनौतीपूर्ण नभए पनि सजिलो भने अवश्य छैन ।

समय र आर्थिक प्रबन्ध मिलाई कक्षाकोठासम्म पुगिसकेपछि मानसिक दबाब मुक्त भएर अध्ययन अध्यापन अगाडि बढाउँदै आएका हाम्रा लागि प्रविधिले मध्यस्थता गर्ने यस्ता कक्षाहरुमा धेरैतिर ध्यान पु¥याउनुपर्ने हुँदा थप मानसिक तनाव र भावनात्मक जोर व्यहोर्नुपर्ने देखिन्छ । पूर्वीय दर्शन अनुसार घर नै त्यागेर अध्ययनका लागि पूरै समर्पित नभएपनि हाम्रो चलिआएको प्रणाली अनुरुप शिक्षण संस्थामा जानुपर्ने र चारखालभित्रको कक्षाकोठामा बस्नुपर्ने मान्यता छ । तर अनलाइनमार्फत हुने शिक्षण सिकाइमा, घरमै भौतिक रुपमा सशरीर एक्लैआफ्नै कक्षमा बसेर‘भर्चुअल’अध्ययनका लागि आपूmलाई अनुकुलित पार्न धेरैलाई निरन्तर अभ्यास र लामो समय लाग्छ ।

शिक्षण सिकाइमा प्रविधिसँग लामो सहकार्य गर्दै आएका शिक्षण संस्थाहरुले यस महामारीका वेला सम्पूर्ण अध्ययन अध्यापनलाई अनलाइन बनाउँदा खासै असहजता महसुस नगरेता पनि कोरानाकै कारण हाम्रो देशका शिक्षण संस्थाहरुले सञ्चालन गर्ने विद्युतीय माध्यमका कक्षा वास्तवमा नयाँ प्रयोग, नौलो सिकाइ र अनौठो अनुसन्धान एवं अनुभव पनि हो ।

यस्ता कक्षालाई कतिपय अनलाइन कोर्स सञ्चालकहरुले अपव्याख्या गरी ‘आखिर सवै हाम्रै ठाँऊमा आए, आखिर सवै शिक्षा एउटै हो’ भनी विश्वविद्यालय शिक्षाको औचित्यतामा धावा बोल्दै आफ्नो व्यवसाय विस्तार गर्ने हतियार त बनाउँदैनन्? के विश्वविद्यालयहरु त्यसतर्फ चनाखो छन् ?

भोलिका दिनमा विद्युतीय कक्षा मार्फत कक्षा सञ्चालन गर्नपूर्वाधार बनिसकेको भन्दै यही प्रणालीलाई मात्र प्राथमिकता दिने संस्कारको उदय भयो भने शिक्षकको भूमिका कमजोर हुँदै, विश्वविद्यालयको औचित्यता शिथिल हुँदै शिक्षामा पनि ‘आउट सोर्सिङ’ले जरा गाड्ने देखिन्छ । यसले समग्र शिक्षा वास्तविक बुझाइमा केन्द्रित नभई ब्यापारीक वस्तु वन्ने वातावरणका लागि मलजल त गर्दैन? विधिवत् सञ्चालनको अभावमा विद्युतिय माध्यमका कक्षा ‘युट्युव लर्निङ’ मा त परिणत हुँदैन ?

तमाम चुनौतीका बावजुद, समयको माग र आवश्यकताको सिदान्त अनुरुप तत्काल शैक्षिक क्षति न्यूनीकरण गर्न शिक्षण संस्था र विद्यार्थीका लागि सरकारको पहलमा न्यूनतम शुल्क लाग्ने गरी भरपर्दो ताररहित इन्टरनेट सेवाको व्यवस्था गरी विभिन्न शिक्षण संस्थाले अपनाउन आटेको विद्युतीय माध्यमका कक्षा सञ्चालन जुन तहसम्म सकिन्छ लचकताका साथ अगाडि बढाउनुको विकल्प छैन । शिक्षण पनि एक किसिमको सिकाइ नै त हो । र, यस्ता कक्षा सञ्चालनमा धेरै शिक्षकहरु पारंगत नरहेको यथार्थताबीच ‘प्रविधिमैत्री हुनु अनिवार्य रहेछ’ भन्ने विषयलाई आत्मसाथ गर्दै हाललाई जुगाड नै सही, सिक्दै सिकाउँदै मर्यादित कक्षा सञ्चालनका ‘प्रोटोकल’ पालना गर्दैै अगाडि बढ्नुबाहेक शैक्षिक क्षति न्यूनीकरणका लागि अर्को बाटो छैन ।

तर, विद्युतीय माध्यमबाट सञ्चालित कक्षा र बैठकहरुको श्रव्यदृश्य सामग्री विभिन्न सामाजिक सञ्जालमा संप्रेषण गर्नु वर्तमान अवस्थामा नवविकसित सामान्य विषय बनेको बताउँदै त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग प्रमुख प्राध्यापक डाक्टर अनिरुद्र थापाले हालै सामाजिक सञ्जालमार्फत भनेझैं प्राज्ञिक प्रयोगकर्ताले विद्यार्थी, सहकर्मी र स्वयं आफ्नै गोपनियताको सम्मान गर्दै सामान्य जनजीवनप्रति दैनिक सरोकार नराख्ने विशुद्ध प्राज्ञिक प्रसंगहरु छताछुल्ल सामाजिक सञ्जालमा पस्कने भद्दा शैलीबाट मुक्त नभइकन विद्युतीय माध्यमका कक्षालाई मर्यादित बनाउन भने अवश्य सकिँदैन ।

तपाईको प्रतिक्रिया