महानगर भन्छ जहाजै डुबेको छैन, अनलाइन कक्षा किन ?

समाधान संवाददाता २०७७ वैशाख १८ गते १९:०५

प्याब्सन अध्यक्ष पनि भन्छन्, आत्तिने बेला भएको छैन


विद्यालयले सञ्चालन गरिरहेका अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएपछि धेरैमा कौतुहताल जाग्यो किन आयो यस्तो निर्देेशन ।
अनलाइन कक्षाले समाजमा विकृत ल्याएको भन्दै त्यस्ता कार्य रोक्न उजुरी परेको थियो ।

बिहीबार शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरी अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न भनेको छ । कोरानाका कारण बन्द भएका विद्यालयले पठनपाठनमा प्रभाव परेको भन्दै घरमै रहेका विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन सूचना जारी गरिरहेका छन् । कतिपय निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेको खबर आएका छन् ।

‘अनलाइन कक्षा सन्चालन गर्दा सम्पूर्ण विधार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विधार्थी तथा अभिभावकहरुलाई मानसिक दबाबसमेत पर्ने गरेकाले’ महाशाखाका उपसचिव गंगाबहादुर गुरुङले जारी गरेको सूचनामा भनिएको छ ।

‘जहाजै डुबेको त छैन नि, त्यत्रो ५० ५० दिन स्कुलहरु विदा हुन्छ, विदाहरु छन्, स्कुल चलाउने दिन जति पनि छ’, गुरुङले समाधानसँग भने । चलाउन खोज्नेहरुले अनुमति माग्नुपर्ने उनले बताए । ‘प्रस्ताव आयो भने महानगरपालिकाको शिक्षा समितिले प्रस्ताव हेरेर अनुमति दिन्छ,’ उनको भनाइ छ । एउटै घरका दुई तीन जना बच्चालाई अभिभावकले कम्प्युटर किनेर दिन नसक्ने र अभिभावकमा बोझ पर्ने उनले बताए । ‘यो अनलाइन कक्षाले त आर्थिक विकृति ल्याउने भयो नि,’ उनले भने ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा पनि ९ कक्षासम्मका विद्यार्थीको पठनपाठनका लागि आत्तिनुपर्ने समय नभएको बताउँछन् । उनले अहिले चलिरहेका अनलाइन कक्षा प्रविधिको प्रयोगात्मक अभ्यासमात्रै भएको विचार राखे ।

उनले भने, ‘यसका सकारात्म र नकारात्म दुवै पाटा छन् । प्रतिकूल अवस्थालाई अनुकूलमा ल्याएको भनेर पनि बुझ्न सकिन्छ, भएको प्रविधि प्रयोग गर्ने सिकाइ पनि भएको छ । अर्काेतिर अभिभावकको आर्थिक हैसियत कम्प्युटर र ल्यापटक बच्चालाई दिन नसक्ने पनि हुनसक्छ ।’

कम्प्युटरमा पढाइ हुन थाल्दा बच्चाहरुले छिमेकी वा साथीको महँगो कम्प्युटर र ट्याब माग्दा कतिपय अभिभावकले दिन नसक्ने अवस्थासमेत रहेको उनले सुनाए ।

सामान्यतया वैशाखको दोस्रो साता सुरु हुने शैक्षिक सत्रका लागि अहिल्यै ढिला भइनसकेको बताउँदै शर्माले लकडाउन खुलेपछि पढाइ सिध्याउन कठिन नहुने पनि बताए । अहिले बच्चाहरु घरमै अभिभावकसँग रमाउने मौका पाएको पनि उनको भनाइ छ ।

कुमुदिनी होम्स विद्यालयका संस्थापक अशोक पालिखे नेपाल सरकारले नै अनलाइन कक्षा प्रोत्साहन गरेको बताउँछन् । जिल्ला शिक्षा समितिका सदस्यसमेत रहेका उनी भन्छन् प्रदेश सरकारले पनि अनलाइनको सोच ल्याएको छ । अनलाइन कक्षाले विद्यार्थीलाई विस्तृत ज्ञान दिन्छ ।

‘अनलाइन कक्षा भनेको ज्ञान थपिदिने हो । कोर्स पढाएर जाँच लिने होइन । व्यवहारिक ज्ञान दिने हो । कसैले शुल्क लिएको छ भने कारबाही गर्नुपर्‍यो । काठमाडौंमा कतिपय स्कुलले कोर्स नै चलाएर पढाइ चलिरहेको छ’ पालिखेले भने ।

अनलाइन चलाइरहेकालाई प्रोत्साहन गरेर झन् यसलाई फैलाउन नगरपालिकाले सहयोग गर्नुपर्ने पालिखे बताउँछन् । उनले कुमुदिनीमा एसईईका विद्यार्थीलाई निशुल्क अनलाइन कक्षा दिइरहेको सुनाए ।

Advertisement

…………..
पोखरा महानगरपालिकाले निकालेको सूचना ।

Advertisement

तपाईको प्रतिक्रिया