पत्रकारलाई प्रदेश सांसद मीना गुरुङले दिइन् प्रेस ज्याकेट

पोखरा
नेपाल पत्रकार महासंघ कास्की शाखालाई गण्डकी प्रदेशका सांसद मीना गुरुङले प्रेस ज्याकेट सहयोग हस्तान्तरण गरेकी छन्। सांसद गुरुङले महासंघको लोगो अंकित प्रेस ज्याकेट बिहीबार पोखरामा महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन्।
सांसद गुरुङले करिब ३८ हजार मूल्य बराबरको ५० थान उक्त ज्याकेट सहयोग गरेकी हुन्। सांसद गुरुङले यस अघि पत्रकारहरुको हकहितको लागि विभिन्न सहयोग गर्दै आएकी छन् ।
यसैबीच, पत्रकार महासंघ कास्कीले फोटो पत्रकार महासंघ गण्डकीलाई २० थान प्रेस ज्याकेट सहयोग हस्तान्तरण गरेको छ । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरस(कोभिड–१९) को प्रभाव भइरहँदा पनि फिल्डमा हिड्ने पत्रकारलाई उनीहरुको सुरक्षा र पहिचानका लागि ज्याकेट वितरण गरिएको महासंघले जनाएको छ ।
यसअघि महासंघले पहिलो चरणमा १ सय पत्रकारहरुलाई ज्याकेट लगायत अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले बताए । महासंघमा आवद्ध अन्य पत्रकारलाई केही समयपछि प्रेस ज्याकेट वितरण गरिने महासंघले जनाएको छ ।
त्यसैगरि लकडाउनका कारणले प्रभावित १७ जना पत्रकारहरुलाई महासंले यसअघि पहिलो चरणमा खाद्य सामग्रीसहित राहत उपलव्ध गराएको छ । पोखरा महानगरपालिकाले उक्त सहयोग गरेकाे हो ।
महासंघ कास्की शाखाले आफ्ना सबै सदस्यहरुको दुर्घटना बिमा गर्ने र स्थलगत समाचार संकलनमा रहेका पत्रकारहरुको पोखरा महानगरपालिकाको सहयोगमा पारिवारिक स्वास्थ्य बिमा गर्ने तयारी समेत गरेको छ । कास्कीमा करिब ३ सय जना पत्रकार महासंघमा आवद्ध छन्।
तपाईको प्रतिक्रिया