उच्च जोखिममा काम गर्दै पत्रकार

समाधान संवाददाता २०७७ वैशाख १८ गते १९:५४

काठमाडाैं

कोभिड–१९ सङ्क्रमण देखिएका जिल्लाका पत्रकारले स्रोतसाधन तथा स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेका पाइएको छ ।

Advertisement

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको कोरोना सङ्क्रमित जिल्लाको संयुक्त अनुगमन पश्चात सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी सङ्क्रमित रहेको उदयपुरको भुल्के क्षेत्रमा पत्रकारले आवश्यक स्वास्थ्य सामग्रीको अभावमा समाचार संकलन गरिरहेका अनुगमन टोलीका संयोजक तथा महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

नेपालमा सबैभन्दा बढी प्रदेश नं १ को उदयपुर त्यसपछि प्रदेश नं २ को पर्सा र बारामा सङ्क्रमण देखिएको छ । “पत्रकारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गरेको पाइएन”, प्रतिवेदनमा भनिएको छ, “पारिवारिक दबाब र सङ्क्रमणको खतरा मोल्दै जनतालाई सुसूचीत गराउने दायित्वलाई उदयपुरका सञ्चारकर्मीले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको अनुगमनका क्रममा पाइएको छ ।” महासङ्घ र काउन्सिलको टोलीसमक्ष सञ्चारकर्मीहरुले आफूहरु उच्च जोखिममा रहेको, स्वास्थ्य सामग्री लगायतका स्रोतसाधनको अभाव रहेको, स्वास्थ्य परीक्षणको व्यवस्था नभएको जस्ता समस्या व्यक्त गरेका महासंघका महासचिव विष्टले जानकारी दिनुभयो ।

जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीलाई सरकार र सम्बन्धित सञ्चार गृहले कुनै सहुलियत नदिएको गुनासो टोली समक्ष पत्रकारहरुले गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ । टोलीले सङ्क्रमणको त्रासदीपूर्ण अवस्थामा काम गरिरहेका पत्रकारका लागि सरकारले तत्काल राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य परीक्षणको व्यवस्था गर्न र स्वास्थ्य सामाग्री लगायत पूर्वसर्तकताका साधन तत्काल व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको रहेको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया