मुस्ताङमा होम क्वारेन्टाइनकाे नियमित अनुगमन

समाधान संवाददाता २०७७ वैशाख १८ गते २०:०३

एसके थकाली, जोमसोम

मुस्ताङका विभिन्न गाउँ गाउँमा जिल्ला भित्रिएका नया व्यक्तिले होम क्वारेन्टाइन मापदण्ड पालना गरे नगरेको जाँच गर्न जिल्ला स्थित सुरक्षाकर्मीले अनुगमन थालेका छन् ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति तथा स्थानीय पालिका स्तरीय समितिको पहलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले होम क्वारेन्टाइनमा बस्नेको अनुगमन गस्ती सुरु गरेको हो । विदेशबाट फर्किएका, हिउँदयामको जाडो छल्न बेशी झरेका, घुम्ती विद्यालयको रुपमा बेशी झरेका स्कुले विद्यार्थी, रोजगार र विभिन्न व्यापार व्यवसायमा बेशी झरेका व्यक्तिलाई स्थानीय तहको पहलमा यसै हप्ता जिल्लामा ल्याई उद्दार गरिएको थियो ।

Advertisement

गाउँ भित्र्याइएका करिब १३ सय मुस्ताङीलाई स्थानीय तहले होम क्वारेन्टाइनको एकान्तबासमा सुरक्षित बस्न लगाएको थियो । होम क्वारेन्टाइनमा बस्नेहरुले एकान्तवास बस्ने पूर्व सर्त पालना गरेनगरेको अनुगमन तथा निगरानी गर्न ३ वटै सुरक्षाकर्मीलाई जिम्मेवारी दिईएको कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक प्रजिअ वेदप्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार जिल्ला भित्रिएकाहरुको स्थानीय जनप्रतिनिधि तथा गाउँ मुखियाहरुले समेत अनुगमन र निगरानी गर्ने गरेको प्रजिअ अर्यालले बताए । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अहिले दिनुहँ जस्तो होम क्वारेन्टाइन अनुगमन, स्वास्थ्य परीक्षण र नागरिक सचेतनामूलक कार्यक्रम गर्ने गरेको लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उनले भने, ‘दिनहुँजस्तो कोरोना भाइरस सचेतनाको सुरक्षाकर्मी माइकिङ गर्ने गरेका छन् । सुरक्षा निकाय र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सबैको स्वास्थ्य परीक्षण गरिरहेको छ ।’

Advertisement

यस्तै वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा पनि सुरक्षाकर्मीले स्वास्थ्य परीक्षण, होम क्वारेन्टाइन निगरानी र सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको वारागुङका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया