वामदेवको कुर्सीमोह र केपी ओलीको ललिपप

समाधान संवाददाता २०७७ वैशाख १९ गते ११:२४

सुरेन्द्र थापामगर

नेकपाका नेता वामदेव गौतमको प्रधानमन्त्रीमा चर्चा यतिबेला फेरि १ पटक चुलिएको छ । नेकपा भित्रको आन्तरिक द्वन्द्वले उनलाई मिलनबिन्दुको हतियार बनाएको छ । वामदेव गौतम हौसिएका पनि छन । नेकपा भित्रको आन्तरिक किचलो समाधान गर्न बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री के पी ओलीले वामदेव गौतमलार्ई भावी प्रधानमन्त्री र अर्का नेता माधव नेपाललाई अध्यक्षसहित तेस्रो वरियातमा राख्ने प्रस्ताव ल्याएपछि वामदेवको चर्चा आएको हो ।
अहिले उनी संघीय संसदको सदस्य छैनन् । संविधान संशोधन गरेर वा उपनिर्वाचन मा जिताएर उनलार्ई प्रधानमन्त्री बनाउने नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव आएको छ । नेकपा भित्रको द्वन्द्व राजनीतिक दल तथा संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएपछि मात्र होइन योभन्दा अगाडि देखिनै रहिआएको हो । नेकपाभित्र नेकपाको कार्यकर्ताभन्दा गुटको कार्यकर्ता हुन मन पराउने प्रवृत्ति हावी भएका कारण गुट मौलाउँदै आएको छ ।

शीर्ष नेताहरुले नै गुट बनाउन मलजल गरेका छन् । राजनीतिक दलमा समूह हुनु नराम्रो होइन तर गुट बनाएर विरोधी समूहको छाला काढ्ने सम्मको हर्कत गर्नु पार्टीप्रतिको बेइमानी हो । समकालीन नेताहरु व्यर्थको इगो पालेर बसेका देखिन्छन् ।

Advertisement

हिजो सँगै जेलमा बस्दा एउटाको घाउमा अर्कोले मलम पटृी लगाएका ती दिनहरु किन बिर्सेका होलान् खै ? सँगै देश र जनताका लागि आफ्नो ज्यान हत्केलामा राखेर निरंकुशताविरुद्ध लडेका सहयोद्धा यतिबेला कुर्चीका लागि छिनाझम्टी गरेको देखेर जगत हाँसेको छ । इमान्दार कार्यकर्ताको मन दुखेको छ । पार्टीका नेताहरु एकले अर्कालार्ई निषेध गरेर जाने हदसम्म ओर्लिनु खेदजनक छ । निर्वाचनमा आफ्नो गुटका आसेपासेलार्ई मात्र टिकट दिने, पार्टी कमिटी निर्माण गर्दा गुटका मान्छे हेर्ने गलत प्रवृत्तिका कारण वर्तमान नेकपा भित्रको गतिरोध आएको हो ।


जनमतबाट आएको प्रधानमन्त्रीलाई बेमौसमा हटाउँदा राजनीतिक अस्थिरता त निम्तिन्छ नै । पटक पटक सरकार फेरबदल गर्दा देश तथा दलले अपुरणीय क्षति बेहोर्नु पर्छ ।

Advertisement

कार्यकर्ताको योग्यता क्षमता र योगदानभन्दा आफ्नो चाकडी मन पराउने नेता भएपछि पार्टीमा विग्रह भइरहन्छ । कम्युनिस्टहरु विशेष धातुले बनेका हुन्छन् भनेर पहिले पहिले भनिन्थ्यो । यसको सोझो अर्थ कम्युनिस्टहरु व्यक्तिगत स्वार्थ त्यागेर समतामूलक समाज निमार्ण गर्छन् भन्ने नै हो । एकले अर्को कमरेडलार्ई छिर्के हानेर तथानाम गाली गर्ने, पदका निम्ति जे पनि गर्ने, पार्टी भड्खालोमा गए जाओस पद प्रमुख मान्ने प्रवृत्ति कम्युनिस्टका लागि पटक्कै सुहाउँदैन । आजका कम्युनिस्ट नेताहरुको चरित्र हेर्दा र बोली सुन्दा लाग्छ हाम्रा नेताले पद र सत्ताका निम्ति मात्र आफूलार्ई यतिका लामो समयसम्म सघर्षमा होमेका रहेछन् झंै हुन्छ । आमूल परिवर्तनको अभियानमा लागेर जेलनेल भोगेका यी नेताहरुको हिजोको त्याग र बलिदान अत्यन्त गौरवपूर्ण छ ।

पञ्चायती कालका कालरात्रिका समयमा प्रत्येक पल मृत्युसँग पौंठेजोरी खेल्दै जनताको घर आगनमा जनतासँगै रोटीमकै खाँदै हिडेका कष्टपूर्ण विगत भुलेकै कारण आजको दशा निम्तेको हो । हिजो मनमोहनको ९ महिने शासनकालमा कम्युनिस्टहरु साँच्चै आमुल परिवर्तका हिमायती रहेछन् भन्ने कुरा देखिएको थियो । यिनलार्ई शासन सत्ता सञ्चालन गर्न दिने हो भने दिन दुखीहरुको भलो हुन्छ भन्ने आभास देखिएको थियो । त्यसपछिका कम्युनिष्ट सरकारको शासनशैली हेर्दा जुन जोगी आए पनि कानै चिरेको उखान चरितार्थ भएको छ । करिब २ तिहाइको नजिक रहेको वर्तमान सरकारलार्ई काम गर्ने सुवर्ण अवसर छ । कमजोर प्रतिपक्ष र संघ प्रदेश र स्थानीय तहमा अधिकांश आफ्नै पाटीको सरकार रहेको अवस्थामा इतिहास रच्ने बेला छ तर सरकारले भने जति गति लिन सकेन । सरकार सञ्चालन दल आन्तरिक द्वन्द्वमा नराम्रोसँग फसेको जटिल अवस्था छ ।

यसको चरम उत्कर्ष यतिबेला प्रधानमन्त्रीले केपी शर्मा ओलीले राजीनामा दिनु पर्छ भन्ने सम्मको आवाज आफनै दलबाट आयो । प्रचन्ड, माधव नेपाल, वामदेव, झलनाथ खनालले बालुवाटार बैठकमा प्रधानमन्त्रीको पद र पार्टी अध्यक्षको पदबाट बर्हिगमनको माग गरे । प्रधानमन्त्री केपी ओलीले जति घेराबन्दीमा परे पनि दुवै पद नछाड्ने अडान लिएका छन् । बरु ३ अध्यक्ष भएर पार्टी हाक्ने नयाँ प्रस्ताव ल्याएका छन् । दुवै पक्ष आफ्नो अडानमा टसकोमस नहुने हो भने यतिबेलासम्मको नेकपा भित्रको विवाद हेर्दा पार्टी एकताबद्ध भएर अगाडि बढ्छ कि बढ्दैन भन्ने धरमर देखिन्छ । बुद्धिमतापूर्वक पार्टी भित्रको वर्तमान संकट समाधान गरिएन भने इतिहासमा पछुताउनुवाहेक हामीसँग विकल्प रहँदैन । एकले अर्को पक्षलाई पेलेर जाने रणनीतिमा यी नेताहरु गए भने नेकपाको भविष्य संकटमा पर्ने निश्चित छ । यतिखेर नेकपाको भविष्यसग देशको भविष्य पनि गाँसिएको हुँदा आम नागरिकले समेत नेकपाको विवाद शान्तिपूर्वक समाधान भएको देख्न चाहेका छन् । नेकपा एमाले र माओवादी एकीकरण भएपछि मानिसहरुमा जुन उत्साह र उमंग थियो त्यो उत्साहलाई नेकपाले आत्मसात गर्न सकेको छैन । झन् यसमाथि पार्टी फुटको संघारमा पुग्दा नेकपाका सज्जन कार्यकर्ताको मन कुँडिएको छ । कम्युनिस्टको आचरण, शैली कम्युनिस्ट जस्तो छैन भनेर आम नागरिकले केही समयदेखि भन्दै आएका छन् ।


अब नेकपा फुटबाट जोगिने हो भने पाटीमा १ पद १ व्यक्तिकोे नियम लागु गर्नु पर्छ । तल्ला कमिटीदेखि केन्द्रीय तहसम्म यो नियमलाई कडाइसाथ पालना गरेपछि नेकपा भित्रको धेरै समस्या समाधान हुन्छ । जनमतबाट आएको प्रधानमन्त्रीलाई बेमौसमा हटाउँदा राजनीतिक अस्थिरता त निम्तिन्छ नै । पटक पटक सरकार फेरबदल गर्दा देश तथा दलले अपुरणीय क्षति बेहोर्नु पर्छ । यतिबेला प्रधानमन्त्रीको राजीनामा माग्नु घातक हुन्छ । पार्टीमा विषम परिस्थिति सिर्जना भएको हुँदा पाटीै बचाउन प्रधानमन्त्री केपी ओलीले अध्यक्ष पद अर्का अध्यक्ष प्रचण्डलाई जिम्मा दिँदा पनि हुन्छ । प्रचण्ड, माधव नेपालले पद खोजेको हो कि गलत प्रवृत्तिको अन्त्य चाहेका हुन् उनीहरुले शिद्ध गर्नुपर्छ । भारतमा प्रधानमन्त्री मोदी भाजपाको अध्यक्ष नभएर पनि एकछत्र शासन गर्न सक्षम छन् । उनको लोकप्रियतामा कुनै कमी छैन । तसर्थ दुबै पक्षले आआफ्नो हठ त्यागेर जनता, पाटी र सिंगो देशका लागि इतिहासको यो घडीमा आफूलाई समपर्ण गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया