बेलायत बस्ने परियार दम्पतीले पठाएको राहत मार्फामा वितरण

समाधान संवाददाता २०७७ वैशाख १९ गते १६:३७

एसके थकाली, जोमसोम

दुर्गम हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका ६३ दलित समुदायलाई शुक्रबार राहत वितरण भएको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण लामो समयदेखिको लकडाउनले बिहान र बेलुकी २ छाक टार्न मुस्किल परेका वडा–२ मार्फाका विपन्न, असहाय, अपांग र ज्याला मजदुरी गर्ने दलित समुदायलाई राहत वितरण भएको भोङमोर साना सहकारी संस्थाकी अध्यक्ष कमला लालचन अधिकारीले जानकारी दिइन् ।

मार्फा घर भई लामो समय देखि युकेमा बस्दै आएका सकबहादुर परियार र पवित्रा परियार दम्पतीले विश्व श्रमिक दिवसको अवसर पारेर गाउँका विपन्न दलित समुदायलाई राहत उपलब्ध गराएको जनाएका छन् ।

Advertisement

सहयाेगकर्ता परियारका भाइ विमल नेपालीको समन्वयमा मार्फा वडाध्यक्ष मानवहादुर विक र गाउँ मुखिया मोहनसिंह लालचनको रोहवरमा १ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको राहत वितरण गरिएकाे हाे ।

परियार दम्मपतीले विपन्न दलित समुदायलाई चामल, तेल, चिनी र नुन आदि वितरण गर्न युकेबाट आर्थिक सहयोग गरेका थिए । यसअघि स्थानीय तहले प्रदेश सरकारको राहत कार्यविधि अनुसार राहत वितरण गर्दा स्थानीय विपन्न दलित समुदायको पहुँचमा राहत पुग्न सकेको थिएन ।

Advertisement

लकडाउनले विकास निर्माण तथा दैनिक ज्यालीदारीको काम रोकिएपछि दलित समुदायलाई दैनिक छाक टार्न असहज परेको गाउँ मुखिया मोहनसिंह लालचनले उल्लेख गरे । प्रवासमा रहेर पनि दलित समुदायको आर्थिक समस्यालाई सम्वोधन गर्दै परियार दम्पतीले विदेशमा राहतका आर्थिक सहयोग गरेको मुखिया लालचनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया