राहतको लाइनमा बस्दा ढले, अस्पतालबाट कहिले उठ्ने थाहा छैन

समाधान संवाददाता २०७७ वैशाख १९ गते १६:५५

अनुप पौडेल, पोखरा

झ्यालबाट बाहिर हेर्दा अस्पतालको पार्किङ देखिन्छ । ५ दिनदेखि बाहिरी दुनियाँ देख्ने ठाउँ त्यही झ्यालमात्रै हो । त्यही दृश्य देख्न पनि उनले अरुको सहारा लिनुपर्छ । भविष्यमा आफ्नै जिन्दगीको दृश्य कस्तो हुने हो ? सोच्न सकेका छैनन् । मात्रै कहालिएका छन् ।

गोरखाका कालीबहादुर गुरुङलाई कहिलेसम्म त्यसरी नै बसिरहनुपर्ने हो भन्ने थाहा छैन । फेवासिटी हस्पिटलको सर्जिकल वार्डको बेड नम्बर ९ मा उनी जीवनमरणको दोसाँधमा छटपटाइरहेका छन् ।

१४ वैशाखमा मात्रै उनको टाउकोको अप्रेसन भएको थियो । अप्रेसन त भयो तर अहिले उनको आधा शरीर नै चल्दैन । ‘अप्रेसन सफल भयो भन्ने कि असफल भन्ने । अप्रेसनपछि बोल्नै छोड्नुभयो । हातभन्दा मुनिको दाहिने हर चल्दैन,’ कालीबहादुरका छिमेकी सागर गुरुङले सुनाए, ‘अब थप उपचार गर्न परे के गर्ने भन्ने कुनै उपाय छैन ।’

ज्याला मजदुरी गरेर चल्दै आएको उनको अबको जिन्दगी कसरी चल्ने हो थाहा छैन । वैशाख १४ गते घडीमा बिहानको ८ बज्दै थियो । राहत थाप्न मजदुरहरु पोखराको पृथ्वीचोकमा भेला भएका थिए ।

राहत पाउने आसमा लाइन बस्दाबस्दै भुइँमा ढले । सँगै भएका साथीभाइले अस्पताल लैजान साधनको खोजी गरे । तर अस्पताल पुर्‍याउन कुनै गाडी पाइएन ।

पोखराको लामाचौर बस्ने गरेका उनलाई साथीभाइले तरकारी बोक्ने गाडीमा राखेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याए । तत्कालै त्यहाँ भर्ना गरियो ।

डाक्टरले टाउकोको सिटी स्क्यान गर्नुपर्छ भने । तर दुर्भाग्य प्रदेशकै ठूलो सरकारी अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएको थियो । डाक्टरले मनिपाल शिक्षण अस्पताल लैजान सुझाव दिएपछि ४ किलोमिटर परको अस्पताल लगियो ।

‘गण्डकीका डाक्टरले मनिपालमा सिटी स्क्यान गर्नु भन्नुभयो । त्यहाँ सिटी स्क्यान गरेपछि टाउकोमा रगत जमेको थाहा भयो । त्यसपछि गण्डकीले फेवासिटी पठायो,’ कालीबहादुरका छिमेकी सागरले भने ।

फेवासिटी लगेपछि डाक्टरले टाउकोको अप्रेसन गर्नुपर्छ भने । उपचार खर्च सुन्दा कालीबहादुर र उनकी श्रीमतीको मन छाँगाबाट खसेजस्तै भयो । पोखरामा आफन्त कोही छैनन् ।

छिमेकीले जेनतेन पैसा जुटाएर अप्रेसन गर्ने वातावरण बनाइदिए । ‘पोखरामा चिनजानका कोही छैन । गाउँमा जग्गा जमिन भएको भए त्यही बेचेर काम चल्थ्यो । त्यो पनि छैन,’ गुरुङकी श्रीमती तिरमायाले सुनाइन् ।

३९ वर्षकी तिरमाया आफू पनि दमकी रोगी हुन् । तापनि पाइयो भने अरुको घरमा लुगा धुने भाँडा माझ्ने गर्थिन् । अहिले उनी पनि अस्पतालमै श्रीमानसँग छन् । १३ वर्षका छोरा र १० वर्षकी छोरी बुवा निको हुने आशमा छन् । तिरमायालाई आफ्नोभन्दा पनि छोराछोरीको चिन्ता छ ।

‘ज्यामी काम गरेर दिनभर कमाएको पैसाले बिहान/बेलुकाको छाक टथ्र्यो । यहाँ आफ्नो मान्छे कोही छैन । अब छोराछोरीलाई कसले पढाइदिन्छ ?’ भावुक हुँदै तिरमायाले भनिन् । गुरुङ परिवारलाई १ साता पहिलेसम्म भोकले सताएको थियो । आजकल भोक कम रोगले ज्यादा सताइरहेको छ ।

कालीबहादुर र तिरमायासँग खानका लागि केही नभएर पीठो घोलेर छोराछोरीलाई खुवाएको अनुभव छ । पछि त्यहाँ राहत बाँड्दैछ भन्ने सुनेपछि राहत लिन पुगेका उनी घर फर्किन पाएनन् ।

राहतको लाइनमा कालीबहादुरसँगै उभिएका किरण पुन पनि ३ दिन भयो घर गएका छैनन् । ‘लाइनमा बस्दाबस्दै ढल्नुभयो । त्यसपछि तरकारी बोक्ने गाडीमा राखेर अस्पताल पुर्‍यायौं । अहिले केही परे सहयोग गर्न म पनि यतै बसेको छु,’ किरणले सुनाए ।

५ घन्टा लगाएर अप्रेसन गरेपछि गुरुङलाई बिहीबारदेखि सर्जिकल वार्डमा सारिएको छ । छिट्टै निको हुने आशमा झ्याल छेउको बेडमा रातो ब्लयाङकेट ओडेर सुतिरहेका उनी सायद आज मजदुर दिवस हो भन्नेमा पनि बेखबर छन् ।

तपाईको प्रतिक्रिया