पत्रकारलाई राहत प्याकेज : चामलका बाेरा हाेइन लेखनवृत्ति

समाधान संवाददाता २०७७ वैशाख २० गते १५:४९

भरत कोइराला

Advertisement

विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभरका पत्रकारहरुकाे साझा पर्व हाे । यसपटक पत्रकारहरुले सडकमै ओर्लेर आपसमा ऐक्यवद्धता जनाउँदै प्रेस स्वतन्त्रता दिवस भने मनाइरहेका छैनन् । किनकि विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को चपेटामा छ । विश्वका २ सय १० राष्ट्रमै पुगेको यसको संक्रमणका कारण आपसमा हातेमालो गर्नुभन्दा सामाजिक दूरी बनाइराख्नुमै स्वस्थ्य जीवनका लागि उत्तम हुने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अनुरोध गरिरहँदा नेपाली मात्र होइन संसारभरका पत्रकार आफ्नो दिवस सीमित घेरामा बसेर मनाउन वाध्य छन् ।

अर्कातर्फ कोरोना मानिसबाट मानिसमा सर्ने रोग भएकाले फ्रन्टलाइनमा बसेर काम गर्ने थुप्रै पत्रकारले ज्यान गुमाएका छन् भने हजारौंलाई संक्रमण भइसकेको छ । कतिपयको पेशा नै धरापमा परेको छ । आर्थिक क्षेत्र अधोगतिमा गइरहेको छ । किनकि विश्व एक किसिमले लकडाउनमा छ ।

Advertisement


विश्वका अरु मुलुकको प्रसंग छाडेर नेपालमै सीमित रहँदा त अवस्था झन् भयावह छ । कोभिड १९ ले थला पारेको विश्व अर्थतन्त्र उकालो लाग्न थुप्रै लाग्छ । कोभिड १९ को महामारी चलिरहँदा जति असर परेको छ त्यसको कयौं गुना असर यसको नियन्त्रणपछि देखिने छ । मै हुँ भन्ने शक्ति राष्ट्रहरु त आगामी दिनको अर्थतन्त्रको अनुमान गरेर तर्सिरहेका छन् भने हाम्रो जस्तो थिति नबसेको मुलुकको के नै कुरा भयो र ?

यो लेख तयार गर्दैगर्दा अमेरिकामा रहेका एक साथीसँग अमेरिकी अर्थतन्त्र र त्यहाँको रोजगारीमा कोभिड–१९ ले पारेको असरबारे जानकारी लिँदा उनले भनेका थिए, ‘यहाँको सरकार जिम्मेवार छ, हरेक कुरा सिस्टममा छ, तथ्यांक प्रणालीमा कुनै समस्या छैन । फर्म भरेको ३ दिनमा खातामा राहत रकम जम्मा हुन्छ । कामविहीन भएकाहरुलाई सरकारले बेरोजगार भत्ता दिइरहेको छ । पहिलाको भन्दा जिविकाको लागि सजिलो पो भएको छ त ।’

आश्चर्य ! कहाँ अमेरिका कहाँ नेपाल । कहाँ ती मित्र कहाँ आफ्नो गति । बिहान ५ घरबाट निस्केपछि राति ११ बजेसम्म निरन्तर काममा व्यस्त । त्यति गर्दा पनि मध्यमस्तरको जीवन निर्वाह हुने गरी आर्जन गर्न कठीन । अझै यसमाथि मुलुक लकडाउनमा छ । मै हुँ भन्ने मिडिया हाउस पनि अहिले शून्य विज्ञापनमा छन् । काठमाडौं र बाहिरी सहरका सयौं पत्रिका अहिले बन्द छन् । रेडियोले प्रशारण समय घटाएका छन् । अनलाइन सञ्चारमाध्यमको प्रभाव झनै बढेको छ । तर लकडाउनमा अर्थतन्त्र चलायमान नभएकै कारण जुनैखालै माध्यमका मिडियामा विज्ञापन आउने कुरै भएन । औंलामा गन्न मिल्ने केही मिडिया बाहेकले पत्रकार र कर्मचारीलाई तलब खुवाउन सकेका छैनन् ।

कतिपय मिडिया हाउसलाई त कोभिड–१९ गज्जबकै बहाना भएर आयो । यही बहाना पारेर पत्रकारलाई तलब खुवाउनबाट पछि मात्रै हटेनन् प्रकाशन नै बन्द गराउनेसम्मका काम भए । आखिर यही मुलुकको पत्रकार न परियो । जसै लकडाउन सुरु भयो महिना मरेपछि बज्ने एसएमसको घन्टी उसै बज्न छाडे । बैंकको किस्ता, अरु तिरनतारन र घरायसी खर्च पो कसरी धान्ने भन्ने पिरलो सुरु भइ त हाल्यो । जसरी आउँथ्यो उसैगरी खर्च हुने भएपछि बैंक ब्यालेन्स हुने त कुरै भएन । यसैबाट सुरु हुन्छ तनाव । यो समस्या सबैजसो नेपाली पत्रकारमा छ । धन्नै नगरपालिकाले वितरण गर्ने राहत प्याकेजका लागि नाम लेखाउन परेको छैन । न्यून आम्दानी हुनेहरुको अवस्था त झन् कति बिजोग छ कल्पनै गर्न सकिन्न ।

२४ पेजसम्म आउने पत्रिका अहिले ८ र १२ पेजमा सीमित भएका छन् । अनि मिडिया हाउसहरुले आन्तरिक परिपत्र गरेर कसैलाई बेतलबी बिदामा बस्न त कसैलाई विकल्प खोज्न सक्ने गरी मौका दिएका छन् । दसकौंसम्म काम गरेका र गिनेचुनेका पत्रकार पनि यतिबेला अब के गर्ने भनेर पुर्पुरोमा हात लगाउन थालेका छन् । पत्रिका छाडेर टिभी, टिभी छाडेर अनलाइन, अनि एउटा अनलाइन छाडेर अर्को अनलाइन जाने अवसर पनि अब पाइने छैन । किनकि अर्थ बजार चलायमान नहुँदा विचरा मिडिया हाउस पो कसरी कर्मचारी धान्न सक्ने अवस्थामा रहलान् र ।

यतिबेला एउटा ज्वलन्त प्रश्न तेर्सिएको छ । वर्षौदेखि स्थापित अनि मनग्गे विज्ञापन छाप्ने पत्रिका र मिडिया हाउसले लकडाउनको पहिलो महिनामै लौ अब मुस्किल छ है भनेर हात उठाउन सुहाउने हो र ? जो पत्रकार र कर्मचारीले आफ्नो जीवनको महत्वपूर्ण समय त्यही मिडियाका लागि खर्च ग¥यो उसलाई संकटका बेला तलब खुवाउनु त परै जाओस् जागिरै छाडेर जान भन्नु पटक्कै तर्कसंगत होइन । हो मिडियाको आम्दानी र खर्चको अनुपातमा धेरै भिन्नता हुँदैन । तर कतिपय मिडिया हाउस पहिलादेखि नै ‘भल्चर क्यापिटालिजम्’ मा अभ्यस्त छन् उनीहरुले नै सुरुमै हात उठाएको पाइयो हाम्रो मुलुकमा ।

अहिलेसम्मको अवस्था हेर्दा र यसैगरी सतर्कता अपनाउने र विदेशबाट आउने क्रमलाई रोक्ने हो भने कोभिड–१९ को महामारीले अन्यत्रजस्तो आक्रान्त पार्ने छैन नेपालमा । तर मिडिया हाउसबाट ठूलो मात्रामा पत्रकार र कर्मचारीले जागिर गुमाउनु पर्ने चाहिँ पक्कापक्की छ । त्यसो त मिडिया हाउसका आन्तरिक परिपत्रले हल्लीखल्ली मच्चाएपछि नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेको छ । उक्त विज्ञप्तिले सकारात्मक प्रभाव पारेको संकेत मिलेको छ । जसका कारण मिडिया हाउसले निर्णय सच्याएको खबर पनि बाहिरिएको छ । काल पल्किसकेका बेला कतिन्जेल पो जोगाउन सकिन्छ र । आखिर वाहाना जो छ कोभिड–१९ को ।

नेपालमा पत्रकार महासंघ छ । अझ दलको कोटरीबाट नियुक्त हुने गरी बनाइएको न्यूनतम पारिश्रमिक निर्धारण समिति छ । प्रेस काउन्सिल पनि आफूलाई परेको बेला सक्रियता देखाउँछ । दलैपिच्छेका पत्रकार संगठन पनि छन् । तर पत्रकारलाई दुःख परेका बेला वक्तव्य निकालेर टार्ने बाहेक केही हुन सकेको छैन । अनि अग्रसर भए पनि कार्यान्वयन हुने होइन कसैको निर्णय र आग्रह ।

महासंघले गरेका निर्णय र आग्रह कुनै मिडिया हाउसले किन पालना गर्ने ? किनभने मिडिया हाउसका सञ्चालकको आआफ्नै दादागिरी जो छ । त्यही भएर अधिकांश मामलामा महासंघ अन्त्यमा चिसै पानीले नुहाउन वाध्य छ । अर्को पारिश्रमिक निर्धारणवाला समितिको कुरै नगरौं । जसले वर्षौसम्म मिडिया चलाएर दर्जनौं पत्रकारको श्रम शोषण गरे उनीहरु नै यसको नेतृत्वमा पुगे । अनि उनीहरुले कुन नैतिकतामा आधारमा पारिश्रमिकका लागि वास्ताविक आवाज उठाउँछन् र ?


पत्रकारलाई नगद वा अरु कुनैखाले राहत प्याकेज ल्याउनुभन्दा लेखनवृत्तिको व्यवस्था गर्नु उत्तम उपाय हो । रेडियो, टिभी, अनलाइन र छापा जुनसुकै माध्यम भए पनि तोकिएका विषयमा समाचार प्रकाशन/प्रशारण भएपछि महासंघको सिफारिसमार्फत लेखनवृत्ति प्रदान गर्नुपर्छ ।

अहिले नेपाल पत्रकार महासंघले पत्रकारका लागि राहत प्याकेज मागेको छ सरकारसँग । प्रदेश सरकाररुले पनि यस बारेमा सोच्न थालेका छन् । यस्तो अवस्थामा पत्रकारलाई कस्तो राहत दिँदा उपयुक्त होला भनेर सोधे । तर आफैलाई चित्तबुझ्दो जवाफ दिन सकिएको छैन । कति रकम दिए पत्रकार खुशी होला वा उसको जीविका चल्ला त ? निम्न आम्दानी भएका लाखौं नागरिकको चुलो बाल्नुपर्ने छ सरकारले । यस्तो अवस्थामा पत्रकारका लागि विशेष प्याकेज ल्याऊ भन्नु पनि असुहाउँदो लाग्छ । अनि पत्रकारका लागि केही व्यवस्था नगर्दासम्म सरकार ढुक्क पनि हुन सक्दैन । आखिर प्रेसको शक्ति उसले बुझेको छ नि । थोरै नै भए पनि ‘पत्रम् पुष्पम्’ नगरिदिए आलोचनाको ओइरो खेप्नुपर्छ भनेर ।

पत्रकारलाई नगद वा अरु कुनैखाले राहत प्याकेज ल्याउनुभन्दा लेखनवृत्तिको व्यवस्था गर्नु उत्तम उपाय हो । रेडियो, टिभी, अनलाइन र छापा जुनसुकै माध्यम भए पनि तोकिएका विषयमा समाचार प्रकाशन/प्रशारण भएपछि महासंघको सिफारिसमार्फत लेखनवृत्ति प्रदान गर्नुपर्छ । यसले एकातिर पत्रकारको लेखनशैली सुधार हुन्छ अर्कोतिर उनीहरुको थोरै भए पनि आम्दानी हुन्छ । यसका लागि मिडिया क्षेत्रका विज्ञको सल्लाह लिएर महासंघसँगको सहकार्यमा सरकारले सहकार्य गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहका सरकारले समन्वय गर्दै दोहोरो नपर्ने गरी यस्ता खालका कार्यक्रम ल्याउन अब ढिलाइ गर्नु हुँदैन । पत्रकार महासंघलाई एकमुष्ठ रकम दिएर सरकार पत्रकारलाई खुशी पारें भनेर मख्ख पर्ने अवस्था आउन दिनु हुँदैन ।

ज्यानै जाेखिममा पारेर फिल्डमा


मार्च १ पछि २३ मुलुकका ५५ सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाउनुका साथै ठूलो संख्यामा पत्रकार संक्रमित भएका छन् ।

विश्वभर र नेपालका पत्रकार अहिले कोभिड–१९ को रिपोर्टिङमा जोखिम मोलेरै भए पनि खटिएका छन् । कोभिड–१९ ले हालसम्म ५५ जना पत्रकारले ज्यान गुमाएका छन् । सञ्चारकर्मी महामारीको समाचार संकलनमा खटिँदा सुरक्षा सामग्रीकोे अभाव रहेको प्रेस अभियान (पिइसी) नामक संस्थाले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ । मार्च १ पछि २३ मुलुकका ५५ सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाउनुका साथै ठूलो संख्यामा पत्रकार संक्रमित भएका छन् । धेरै पत्रकारहरूले आफ्नो जीवनको पर्वाह नगरी समाचार संकलन गर्नुपर्दा यसबाट धेरै पत्रकार संक्रमणको सिकार भएको उक्त संस्थाको निष्कर्ष छ ।


पत्रकारले समाचार संकलनका क्रममा अस्पतालमा जाँदा, वा डाक्टर, नर्स, राजनीतिक नेता, विशेषज्ञ, वैज्ञानिक, बिरामीहरूसँग अन्तर्वार्ता लिनुपर्दा उनीहरूलाई यो महामारीका समय ठूलो जोखिम रहेको छ । प्रकोपको सुरुमा कयौं देशहरुमा सामाजिक तथा शारीरिक दूरी कायम गर्ने, क्वारेन्टाइनमा बस्ने र मास्क लगाउने निर्देशनजस्तो ‘अनिवार्य सुरक्षात्मक उपाय’ लागु हुन सकेको छैन । सामाजिक दूरी कायम गरेर पत्रकारले समाचार संकलन गर्न सक्छ त ?
महामारीका बेला फ्रन्टलाइनमा काम गर्ने स्वाथ्यकर्मी, सुरक्षाकर्मी जस्तै सञ्चारकर्मीले पनि स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने र यसका मापदण्डका बारेमा विश्वचर्चित मिडिया एजेन्सीहरुले गाइडलाइन नै तयार गरेका छन् । सही समयमा सही सूचना सञ्चार उपभोक्तासम्म पुर्‍याउनका लागि जुन खतरा मोलेर पत्रकार फिल्डमा खटिएका हुन्छन् । त्यही अनुसार सतर्कता अपनाउनुपर्ने सबैजसो संस्थाको मतैक्य छ ।


ग्लोबल इन्भेस्टिगेटिभ जर्नानिजम् नेटवर्कले यसबारेमा अरुले भन्दा अलि बढी नै चासो दिँदै आएको छ । यो महामारीका बेला पत्रकारले अपनाउनुपर्ने मेडिकल, डिजिटल र कानुनी सुरक्षाका बारेमा यो संस्थाले कोभिड–१९ संक्रमणका सुरुआती दिनदेखि नै चर्चा गर्दै आएको छ । हो, यो महामारी रोगविरुद्ध युद्धको बेला हो । युद्धमा होमिने हर कोही सिपाही अरुलाई आक्रमण गर्ने हतियार र आफू सुरक्षित हुने कवचबाट सुजज्जित हुन जरुरी छ । नेपालका सञ्चारमाध्यम र सञ्चारसम्बद्ध संस्थाले यसबारेमा पर्याप्त ध्यान दिएको भने पाइएको छैन । छिटपुट रुपमा पत्रकारलाई मास्क, पञ्जा, कतिकतै पिपिई सेट समेत दिँदै आएको छ । पत्रकारको स्वास्थ्य बिमाका प्रसंगहरु आएका छन् । यसका लागि पत्रकार महासंघले थोरबहुत काम गरेकै छ । तर के यो पर्याप्त हो त ? यस्ता महामारीका बेलामा कसरी पत्रकारिता गर्ने भन्ने बारेमा सिकाउन जरुरी छैन ? भर्चुअल रुपमै सही छोटो अवधिका अभिमुखीकरण पक्कै जरुरी छ पत्रकारका लागि ।

त्यति मात्र होइन पूर्वी एसिया र अमेरिकी मुलकमा समेत सेन्सरसिप, इन्टरनेट बन्द, मनोमानीरुपमा पत्रकारहरूलाई हिरासतमा राख्ने, शारीरिक र मौखिक हमला, आपतकालीन कानुन लागु गरेर हालका साताहरुमा प्रेस स्वतन्त्रतामा प्रतिबन्ध लगाउने अभ्यास भएका छन् । विश्वसनीय सार्वजनिक जानकारीको पहुँच अरु बेलाभन्दा महामारीका बेला हुने भए पनि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण हुने क्रम बढेको छ ।


‘इन्फोडेमिक’ काे दाेष पनि पत्रकारले नै बाेक्नुपर्ने


नेपालमा मात्र होइन विश्वव्यापी रुपमा हेर्ने हो भने सही सूचना भन्दा अपवाह नै छिटो फैलिन्छ । यसमा हामी सचेत बन्नै पर्छ ।


यस्तो बेलामा चलाइने अनेकथरी हल्ला र अफवाहले पनि पत्रकारिता जगतमा धब्बा लगाएको छ । यसबाट बच्नु पर्ने पत्रकारका लागि अर्को चुनौती छ । डब्ल्युएचओ प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले कोभिड–१९ सँगै अहिले विश्व गलत सूचना र अफवाहसँग संघर्षरत रहेको पटक पटक भन्दै आएका छन् । गलत सूचना र अफवाहलाई अहिलेको दोस्रो रोगको संज्ञा दिएको छ डब्ल्यूएचओले । यसका लागि उसले ‘इन्फोडेमिक’ शब्दको प्रयोग गरेकाे छ ।


स्रोतको पहुँमा पुगेर पटकपटक परीक्षण गरेर पत्रकारले समाचार प्रवाह गर्नुपर्ने छ । कहिलेकाँहि स्रोत नै गलत हुनसक्छ यसर्थ स्रोतको सूचना पुनः परीक्षण गर्ने जिम्मा पनि पत्रकारकै हो । सही र पत्यारिला सूचना प्रवाह गर्नसके दीर्घकालसम्म त्यसको सकारात्मक प्रभाव पर्छ । नेपालमा मात्र होइन विश्वव्यापी रुपमा हेर्ने हो भने सही सूचना भन्दा अपवाह नै छिटो फैलिन्छ । यसमा हामी सचेत बन्नै पर्छ ।
यस्ता महामारीका बेलामा कयौं मानिसहरु पीडामा हुन्छन् । उनीहरुको पीडा उघिन्ने मात्र होइन कि उनीहरुलाई सक्दो सहयोग गर्नु पनि पत्रकारको कर्तव्य हो । पत्रकारिताका अध्येता भानुभक्त आचार्य भन्छन्, ‘तिनको बारेमा समाचार मात्रै बनायौं कि तिनका बारेमा पनि सोच्यौं ? समाचारका कतिपय पात्रहरुलाई सक्नेजति मद्दत गरौं ।’ हामीले पीडाका मात्रै भन्दा पनि अब कसरी पीडालाई भुल्ने भन्ने खालका सामग्री पस्कने बेला भएन र ?

तपाईको प्रतिक्रिया