त्रासका बीच भय र पक्षधरमुक्त पत्रकारिता कसरी गरौं सरकार ?

समाधान संवाददाता २०७७ वैशाख २१ गते १४:४४

अनिशा श्रेष्ठ


लकडाउनको त्रासमा झ्यालबाट घरि–घरि बाहिर चिहायो । अनि पट्यार लागेपछि सुरु हुन्छ फेरि सामाजिक सञ्जालसँगको सामीप्यता । आज बिहानको दैनिकी भने फरक रह्यो । उठेलगत्तै ध्यान मोबाइलमै पुग्यो । म्यासेन्जरमा म्यासेजको ओइरो नै रहेछ । धेरैजसो म्यासेज ‘आज मे ३, विश्व प्रेस स्वतन्त्र दिवस, सम्पूर्ण सञ्चारकर्मी÷ पत्रकार साथीहरुमा हार्दिक शुभकामना’ लेखेका थिए । त्यसपछि न्युज पोर्टल र गुगलमा पनि खोज्न थालें । काम नै के थियो र लकडाउनले बाहिर निस्कन पनि त भएन । अनि भेटिए म तातेताते गर्ने बेलादेखिका प्रेस स्वतन्त्रतासँग जोडिएका किस्सा र कहानीहरु । यो वर्षको दिवसको नाराले भने मलाई अलि अचम्म पनि पार्‍यो । नारा रहेछ ‘भय र पक्षधरतामुक्त पत्रकारिता ।’


हाम्रा प्रधानमन्त्रीले कोरोनाको बारेमा सञ्चारकर्मीको भूमिकाको बारेमा बोलेको कुरा सुन्दा उदेक । लाग्छ त्यसैले त सञ्चारकर्मी भएर पनि खुलेर काम गर्ने मन बनेन । अनि अरुको सहाराले कोरोना र वर्तमान राजनीतिक परिवेश चौघेरोमै बुझ्ने गरेको छु ।

Advertisement


पढ्नेबित्तिकै हाँसो पनि उठ्यो, के म अहिले यहि नाराको परिधिभित्र पत्रकारिता गरिरहेकी छु त ? यसो भनिरहँदा अनि गुगलमा प्रेस स्वन्त्रताका बारेमा विज्ञहरुले प्रेसका बारेमा बोलेको कुरा पढ्दै र हेर्दै जाँदा एकै साथ भेटिए हाम्रा प्रधानमन्त्री केपी अो ली र भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल । माफी चाहन्छु मैले हाम्रा प्रधानमन्त्रीलाई अन्य देशका प्रदेशका मुख्यमन्त्रीसँग तुलना गरेर अपमान गर्न खोजेको हुँदै होइन र त्यो पनि गरिँदैन किनभने आफ्ने आँङ कन्याएर छारो निकाल्ने काम पनि त गरिँदैन नि ।

हुन त कुनै देशको कानुन वा अन्तर्राष्ट्रिय नियममा लेखिएको छैन, प्रेस भने राज्यको चौथो अंग हो भनेर । तै पनि मिडियाले राज्यका लागि खेल्ने सकारात्मक कुराहरुलाई मूल्यांकन गरेर यसो भनिएको होला । त्यहि मूल्य र मान्यतालाई सिरोपन गर्दै हामी पनि मिडियालाई चौथो अंगका रुपमा बुझ्ने गरेका छौं । कोराेना र पछिल्ला अभिव्यक्ति हेर्दा हाम्रा प्रधानमन्त्रीले यो कुरा बुझेको जस्तो लागेन ।

Advertisement

नत्रभने संसार कोरोनाको संक्रमणमा परेको बेला सञ्चारकर्मीले कोरोना र त्यससँग सम्बन्धित कुराहरुको वास्तविक अवस्थाका बारेमा घरमै बसेका जनतासमक्ष पुर्‍ याउने कामको किन विरोध गर्थे र ? यस्तो अवस्थामा सरकारले खेल्न नसकेको भूमिकालाई मिडियाले उठान गर्दा प्रत्येक पटकका औपचारिक कुराकानीमा मिडियाकै खण्डन गर्नु पर्ने कारण के रहेछ । अनि लेखेको विषयलाई अनुसन्धान नगरिकन त्यसको सत्य तथ्य नबुझिकन राष्ट्रको नाममा कार्यकारी प्रमुखले विरलै मात्र गर्ने सम्बोधनमा किन सञ्चारकर्मीको आलोचना गरिन्छ त । अनि लेखेकै भरममा किन मुद्दा लगाएर कलमलाई बोधो पार्न खोजिन्छ ?


२ तिहाई प्राप्त हाम्रा प्रधानमन्त्रीले जति खुलेर सञ्चारकर्मीको विरोध गरे त्यति नै दिल्लीका मुख्यमन्त्री केजरीवालले कोरोनाको विषयमा समाचार लेख्ने सञ्चारकर्मीको खुलेर प्रसंशा गरे । जसले गर्दा कोरना नियन्त्रणमा सञ्चारकर्मीहरुले पनि खुलेर राष्ट्रको सहयोग गरे जुन अनुपातमा फैलने सम्भावना थियो त्यो हुन पाएन । तर हाम्रा प्रधानमन्त्रीले कोरोनाको बारेमा सञ्चारकर्मीको भूमिकाको बारेमा बोलेको कुरा सुन्दा उदेक । लाग्छ त्यसैले त सञ्चारकर्मी भएर पनि खुलेर काम गर्ने मन बनेन । अनि अरुको सहाराले कोरोना र वर्तमान राजनीतिक परिवेश चौघेरोमै बुझ्ने गरेको छु ।

स्कुल पढ्दा तरबारभन्दा कलम बलियो विषयमा पढाउने शिक्षकलाई मन खोलेर गाली गर्न मन लागेको छ । मैले बुझे देखिनै अहिलेसम्म कलम कहिल्यै भएको छैन बलियो त तरबार नै भएको छ । यस्तो गलत पढाउने शिक्षकलाई तपाईंहरुले के गर्नु हुन्छ कुन्नि ?

पक्षधरताका कुरा त के गर्नु, हाम्रो पत्रकारिता यो विषयबाट मुक्तभएको समाचार त आजका दिनसम्म पढेको सुनेको र हेरेको कुनै सम्झना नै छैन । अपवादवाहेक म दाबाका साथ भन्न सक्छु कान्तिपुर होस् वा नयाँ पत्रिका अनि समाधान होस् वा आर्दश समाज नेकपाको ब्टिमा समाचार लेख्ने सञ्चारकर्मी नेकपावाहेक अरु दलको समर्थक राख्नु भएको छ ? अनि नेपाली कांग्रेस ब्टिमा केन्द्रित भएर समाचार लेख्ने सञ्चारकर्मी प्रेस युनियन समर्थकवाहेक भेटेको छैन । हाम्रोमा वाध्यता पनि छ राजनीतिक दलका नेतृत्वले दिने समाचारका कुराहरु आफ्ना समर्थकलाई बढी प्राथमिकता दिन्छन् ।


अनि मिडिया हाउसहरुको पनि आफ्नै योजना हुन्छ नत्र भने किन फलानो व्यवसायीले यति करोडको गाडी चढे भन्ने समाचार पत्रिकाको पहिलो पृष्ठमा छापिन्थे र । अनि फलानो व्यक्ति बिरामीका कारण विगत १ हप्तादेखि घरमै आरामगरिरहनु भएको छ भन्ने समाचारले प्राथमिकता पाउँथ्यो र । बरु फलानो बिरामी हुँदा जनतालाई यो समस्या प¥यो भन्ने विषयमा समाचार छापिएको भए कति राम्रो हुने थियो ।


संसारभरकै पत्रकारिताको शैली यस्तै हो । त्यसैले त विश्व प्रेस स्वतन्त्रता दिवसको नारा नै ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भनेर राखिएको होला । त्यसैले सबै परिवर्तन गर्न नसकिएला तर भय र पक्षधरतामुक्त पत्रकारिताको थोरै भए पनि उपयोग गरौं । जय पत्रकारिता ।

तपाईको प्रतिक्रिया