गण्डकी प्रदेशमा दादुरा र डेंगुका १० जना बिरामी भेटिए

अनुप पौडेल, पोखरा
कोरोना भाइरसको त्रास फैलिरहेका बेला गण्डकी प्रदेशमा दादुरा र डेंगुका बिरामी भेटिएका छन् । आइतबार ५ जना दादुरा र ५ जना डेंगुका बिरामी भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गोरखामा ४ र नवलपुरमा १ गरी ५ जनामा दादुरा देखिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । यस्तै म्याग्दीमा ४ र कास्कीमा १ गरी ५ जना डेंगु संक्रमित भेटिएका छन् ।
गोरखाका ४ जना ९ महिनादेखि १७ वर्ष उमेर समूह भित्रका बालबालिका रहेको निर्देशक शर्माले बताए । ‘गोरखाका ४ जना बालबालिका हुनुहुन्छ । नवलपुरमा भने २३ वर्षीय पुरुषमा दादुरा देखिएको जानकारी आएको छ,’ निर्देशक शर्माले भने । दादुराका बिरामी भेटिएको ठाउँमा खोप कार्यक्रम सुरु गर्ने तयारी भइरहेको उनले बताए ।
डेंगु संक्रमित सबैलाई घरमा आराम गर्न सुझाव दिएर पठाइएको छ । कास्कीमा भेटिएका संक्रमित ७५ वर्षीय वृद्ध हुन् । ती वृद्ध स्याङजा घर भइ पोखरा १७ बिरौटा बस्दै आएका छन् ।
डेंगु के हो ? कसरी बच्ने ?
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । सोही जातको लामखुट्टेको टोकाइबाट बच्न सके यो रोगबाट पनि बच्न सकिन्छ । कालो सेतो छिर्का हुने यी लामखुट्टेले मल्टिपल बाइट गर्छन् ।
२० देखि ३० सेन्टिग्रेड यस्ता लामखुट्टेलाई उपयुक्त तापक्रम हो । यो तापक्रममा यो लामखुट्टे निकै सक्रिय हुन्छन् ।३३ सेन्टिग्रेडमा अलिक इनएक्टिभ बन्छ ।
डेंगु हुनबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, पानी जम्मा गरिएका भाँडा घोप्टयाएर राख्ने र घरवरपर पानी जम्न नदिने गनुपर्छ ।
डेंगु लागेपछि उच्च ज्वरो आउने, जोर्नी तथा हाडहरु दुख्ने, वान्ता हुने, खाना खान मन नलाग्ने र शरीरका विभन्न अंगबाट रगत बग्नेलगायतका लक्षण देखिने गर्दछ । यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने भएकाले आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।
लामखुट्टेले टोकेर भाइरस शरीरमा पसेपछि १ देखि ५ दिनसम्म निकै सक्रिय बन्छ । ६ दिनपछि शरीरको एन्टीबडीले त्यो भाइरसबिरुद्ध लड्न थाल्छ र १५ दिनपछि मानिस सामान्य अवस्थामा फर्कन्छ ।
के हो दादुरा ?
दादुरा बिषाणुबाट हुने अतिसंक्रामक रोग हो । यो रोग बालबालिकामा बढी देखिन्छ । यो रोग बालबालिकाहरू समूहमा जम्मा हुने र भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्न सक्छ ।
दादुरा लागिहाले यसको कुनै औषधि छैन । कूपोषित बालबालिका तथा रोग प्रतिरोधी क्षमता कम भएकालाई कडा खालको दादुरा हुन्छ।
दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्छन् ।
भाइरसबाट लाग्ने रोग भएकाले यसबाट बच्न भाइरसविरुद्धको खोप लगाउनुपर्छ। नेपालमा यो खोप निःशुल्क उपलब्ध छ।
तपाईको प्रतिक्रिया