लकडाउनमा गाउँमै बर्थिङ सेवा

समाधान संवाददाता २०७७ वैशाख २२ गते २१:०१

एसके थकाली, जोमसोम

Advertisement

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाउँदै आएको लकडाउनले हिमाली जिल्ला मुस्ताङका दुर्गम भेकका स्थानीयबासी सुरक्षित प्रसूतिसेवा ( वर्थिङ ) सेवा प्राप्त गर्न बञ्चित छन् ।

लामो समयदेखिको लकडाउनले जिल्लामा सार्वजनिक तथा निजी सवारी साधन चल्न छोडेपछि दुर्गम भेकका महिलाहरुले सुरक्षित प्रसूति सेवा लिन अप्ठ्यारो परेको हो । कोरोना कहरले उब्जाएको लामो लकडाउनको सदुपयोग गर्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटका स्वास्थ्यकर्मीले अहिले संस्थामा रहेको १० वर्ष पुरानो प्रसूति उपकरण सामग्री मर्मत गरी पुनः सञ्चालनमा ल्याएका छन् ।

यसअघि सुत्केरीलाई सदरमुकाम जोमसोम लैजानु पर्ने बाध्यतालाई हल गर्दै जीर्ण अवस्थाको पुरानो प्रसूति उपकरण प्रयोगमा ल्याइएको स्वास्थ्य संस्थाका इञ्चार्ज सुवास अधिकारीले जानकारी दिए । यसअघि २०६५ सालमा उक्त स्वास्थ्य चौकीलाई प्रसूति उपकरण सामग्री उपलब्ध गराइएको भए पनि सञ्चालनमा आउन सकेको थिएन ।

प्रसूति सेवासँगै ग्रामीण क्षेत्रका महिलाको अकाल मृत्युदर न्यूनीकरण हुने सस्थाका इञ्चार्ज अधिकारीले दाबी गरे । वारागुङ मुक्तिक्षेत्र–१ ले एकजना करारमा दक्ष स्वास्थ्यकर्मी खटाएपछि बर्थिङ सेन्टर ( प्रसूति सेवा ) सञ्चालनमा सजिलो भएको हो । बर्थिङ सुरु भएसँगै ग्रामीण भेगका महिलाले आफ्नै स्थानमा सहज रुपले प्रसूति सुविधा लिनसक्ने स्वास्थ्यकर्मी अनिता शाहीले बताइन् ।

Advertisement

लकडाउनले जोमसोम अस्पतालमा ल्याई सुत्केरी गराउन अप्ठ्यारो परेकाले गाउँकै स्वास्थ्य संस्थामा प्रसूति सेवा दिन सकिएको उनको भनाइ छ । आइतबार झारकोटकी ल्हामो गुरुङलाई सुरक्षित प्रसुति गराइएको थियो । प्रसूतिपछि खुसी हुँदै स्थानीय ल्हामो गुरुङले लकडाउनका बेला गाउमै प्रसूति सेवा दिएकोप्रति स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन् । सीमित श्रोत साधनमात्र रहेको उक्त स्वास्थ्य संस्थामा आर्थिक अवस्था सवल नभएको बुझिएको छ । जसका कारण कार्यालयको नियमति कामकाजमा समस्या पर्ने गरेको संस्थाले जनाएको छ ।

स्थानीय तहले पनि आर्थिक सहयोग दिएको छैन भने केही संस्था र स्थानीय गाउँ समाजका व्यक्तिले आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको इञ्चार्ज सुवास अधिकारीले दुखेसो पोखे । अस्पतालमा अहेव, अनमी र कार्यालय सहयोगी गरी ३ जना कर्मचारी मात्र भएको बताए । संस्थालाई गाउलेनै झोङमा इन्टरनेट जडान गर्ने तयारिमा छ । खिङ्गा गाउँ समाजका स्थानीय छेवाङ नर्वु गुरुङले आर्थिक तथा औषधी सहयोग गरेका छन् ।

यस्तै, पाल्केन गुरुङले संस्थालाई बिजुली बल्ब र स्थानीय खान्डु गुरुङले स्वास्थ्यकर्मीलाई खद्यान्न तथा ग्यास उपलब्ध गराएका छन् ।

तपाईको प्रतिक्रिया