फरार वडाध्यक्षद्वारा आत्मसर्मपण

समाधान संवाददाता २०७७ वैशाख २३ गते १०:४९

म्याग्दी

प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसर्मपण गर्नुभएको छ । गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद गरेको थियो ।

हात हतियार तथा खरखजना मुद्दा चलाइएपछि शेरपुजा फरार हुनुभएको थियो । अनुसन्धानमा सहयोग गर्न र कानूनीरूपले मुद्दाको प्रतिवाद गर्न शेरपुजा आफैँ आइतबार प्रहरीकहाँ पुग्नुभएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो । उहाँका अनुसार प्रशासनबाट निजी हतियार राख्ने अनुमति नलिएका शेरपुजाको घरबाट बरामद भएको गोली प्रयोगशालामा परीक्षण गर्दा बाह्र बोरको भएको पुष्टि भएको छ । “उहाँ आफैँ अनुसन्धानमा सघाउने हिसाबले आउनुभएको हो”, प्रनाउ कुँवरले बताउनुभयो ।

चैत २९ गते बिहान ‘नेकपा गापा अध्यक्ष दीपक कार्की बिखर्ची मित्रले झैँ सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछु’ भनेर फेसबुकमा स्टाटस राखेका शेरपुजाले केही समयमा हटाउनुभएको थियो ।

शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उममेद्वार भएर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँलाई काँग्रेसका नेताहरुले प्रहरी कार्यालयमा ल्याएर आएका थिए । स्थानीय चुनावअघि काँग्रेसमा प्रवेश गर्नुभएका शेरपुजा काँग्रेसको रघुगङ्गा पालिका कार्यसमितिको सचिव हुनुहुन्छ ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उहाँ मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आबद्ध हुनुहुन्थ्यो । अवैध हातहतियार वा गोलीगठ्ठा राखेकाले शेरपुजाविरुद्ध अदालतमा हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइएको थियो । फौजदारी अभियोग लागेपछि उहाँको पद निलम्बन हुने कानूनी व्यवस्था छ । अदालतले उहाँलाई दोषी ठहर गरे र पुनरावेदनमा पनि असफल भएमा वडाध्यक्ष पद गुम्नेछ ।



तपाईको प्रतिक्रिया