सुनचाँदी व्यवसायी संघले आफ्ना कालीगढलाई दियो राहत

समाधान संवाददाता २०७७ वैशाख २३ गते १५:२६

पोखरा

सुनचाँदी व्यवसायी संघ कास्कीले जिल्लामा रहेका कालिगढलाई राहत सामग्री वितरण गरेको छ । चुलो बाल्नै समस्या भएकामध्य नेपाली र भारतीय गरी ४ सय ३० कालिगढलाई आइतबार राहत सामग्री बाँडिएको हो ।

संघका निवर्तमान अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चन्द्रकिशोर गौतमको संयोजकत्वमा राहत वितरण गरिएको थियो । राहतमा चामल, दाल, तेल, नुन, सोयाबिन, केराउ लागायत सामग्री छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी व्यवसायी संघ कास्कीको राहत कोष र सदस्यहरुको सहयोगमा उक्त राहत वितरण गरिएको संयोजक गौतमले बताए ।

Advertisement

उनले ३ दिनसम्म निरन्तर रुपमा कालिगढलाई राहत बाँडेको उल्लेख गरे । ‘विश्वमा कोरोना भाइरसले मानव समुदायलाई नै ठूलो जोखिम परेको छ,’ उनले भने, ‘विगत २ महिनायता देश लकडाउनमा रहेको अवस्थामा निम्न आय भएका कामदारको घरमा खाद्यान्न अभाव भएको छ । यो राहतले केहीमात्रामा भएपनि सहयोग पुग्छ ।’ मानवीयतालाई नै ठूलो सम्झेर धेरै सदस्यले आर्थिक सहयोग गरेको र वितरण व्यवस्थापनमा खटिएको उनले जनाए ।

राहत वितरण कार्यक्रममा सुनचाँदी व्यवसायी संघका अध्यक्ष एवं पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीले भूकम्प होस् या कोरोना भाइरस, जुनसुकै राष्ट्रिय विपत्तिमा पनि निरन्तर सहयाग गर्ने बताए । स्वर्णकार कल्याण समितिका अध्यक्ष भुवन लोहनीले आपत्ती पर्दा संघले राहत वितरण गरेर कालिगढको समस्यामा मल्हमपट्टी लगाएको भन्दै आभार प्रकट गरे । सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी सदस्य दुर्गाबहादुर सुनारले विभिन्न जिल्लामा राहत बाँड्न महासंघलाई सुझाव दिए । उनले त्यसमा ४० प्रतिशत महासंघले खर्च व्यहोर्ने बताए ।

Advertisement

राहत वितरणको चरणमा ४ लाख ११ हजार रुपैयाँ बराबरको खाद्य सामग्री राहतस्वरुप वितरण गरिएको संघका कार्यवहाक महासचिव तारा गौतमले जानकारी दिए । पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडा सदस्य गौतम बिजुक्छे लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया