अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले १० हजार कर्मचारी हटाउने

समाधान संवाददाता २०७७ वैशाख २३ गते १५:४४

न्यूयोर्क, २३ वैशाख (रासस–एएफपी)

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी उड्डयन क्षेत्रमा काम गर्ने मजदूरहरु हटाउन लागेको हो । जीई भनिने यस कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रारम्भमा मार्चमा २ हजार ६०० कर्मचारी कटौती गर्ने जनाएको थियो ।

कम्पनीले उड्डयन क्षेत्रका कारखानाबाट करिब २५ प्रतिशत रोजगारी कटौती गर्ने अर्थात १३ हजार कर्मचारी हटाउने लक्ष्य राखेको छ । बोइङले पनि गत साता नागरिक बिमान उत्पादन कारखानामा कार्यरत करिब १० प्रतिशत अर्थात १६ हजार कर्मचारी हटाउने घोषणा गरेको थियो । बोइङका ७८७, ७७७ र ७३७ म्याक्स शृंखलाका बिमानहरु निर्माणमा अबरोध आएपछि उत्पादनमा व्यापक कटौती भएको छ ।

Advertisement

बोइङको यस समस्याका कारण जीई कम्पनीले पनि क्षति व्यहोर्नु परेको छ । जीई कम्पनीले बोइङ र एयरबस दुबैका लागि इन्जिन निर्माण गर्दछ । गत फेब्रुअरीको तुलनामा दोस्रो चौमासिकमा विश्वभर नै हवाई उड्डयनमा ८० प्रतिशतले कमी आउने जीईको अनुमान छ । जीईले आफ्ना करिब ५२ हजार कर्मचारीलाई यस विषम परिस्थितिका बारेमा लिखित जानकारी पनि दिइसकेको छ ।

जीईका सिइओ डेभिड जोयसले कर्मचारीहरुलाई पठाएको पत्रमा कम्पनीको व्यवसाय जोगाउन पनि कर्मचारी कटौतीजस्तो कठिन निर्णय गर्नु परेको बताउनुभएको छ । यो कर्मचारी कटौतीको मुख्य उद्देश्य नै यस वर्ष करिब ३ अर्ब डलर बचत गर्नु हो ।

Advertisement

यसबाहेक, बिमानहरुको मर्मतका क्षेत्रमा कार्यरत आधाभन्दा बढी कर्मचारीले तीन महिनादेखि काम पाएका छैनन् । नयाँ कर्मचारी भर्ना रोकिएको छ भने बोनस बाँड्ने अवस्था छैन । जीईको पहिलो चौमासिकमा आम्दानीमा झण्डै ८ प्रतिशतले कमी आई २० अर्ब ५० करोड डलरमा सीमित भएको छ ।

तपाईको प्रतिक्रिया