राहतमा खाद्यान्न होइन जलकुम्भी फाल्ने काम

समाधान संवाददाता २०७७ वैशाख २३ गते १६:३०


पोखरा


राहत चाहिन्न बरु काम देऊ । फेवातालमा माछा मारेर परिवार पाल्दै आएका जलारी समुदायले यस्तै माग गर्दै आएका थिए । तै पनि पहिलो खेप पोखरा महानगरपालिकाले फेवाताल किनारका जलारी ५५ परिवारलाई दाल, चामल र नुनतेल दियो ।


अहिले भने जलारी समुदायले भनेजस्तै गरी महानगरपालिकाले उनीहरुलाई राहतमा काम दिएको छ । त्यो काम हो फेवातालको जलकुम्भी झार फाल्ने । अहिले जलारी समुदायका घरको एकजनाका दरले तालमा गएर जलकुम्भी निकाल्दै किनार लगाइरहेका छन् । ‘अवस्था दयनीय भएको परिवारका ३ जनासम्मलाई काम दिइएको छ,’ एकजना जलारीले समाधानसँग भने ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाका अनुसार जलारीलाई काम दिन महानगरपालिकाले २ लाख ६२ हजार रुपैयाँ बजेट छुट्याएको छ । तालबाट जलकुम्भी झिकेवापत एकजनाले दैनिक ३ सय ५० रुपैयाँ ज्याला पाउँछन् ।

Advertisement

१८ वैशाखदेखि जलारीले तालबाट जलकुम्भी झार निकालिरहेका छन् । महानगरपालिकाले छुट्याएको बजेटबाट पहिलो खेप ७ सय ५० जनाले काम पाउँछन् । फेवा किनारका जलारीले माछा मारी दैनिक आम्दानी गर्थे । तर कोरोना भाइरसको महामारी फैलिन नदिन घोषित लकडाउनका कारण माछा मार्ने र बेच्ने काम ठप्प छ ।

तपाईको प्रतिक्रिया