विराटनगरमा उपचाररत ६ जना निकाे भए, उपचारपछि फर्केका ३ जनामा फेरि संक्रमण

पाेखरा
विराटनगरमा उपचार गराइरहेका उदयपुरका २८ जना कोरोना संक्रमितमध्ये ६ जनालाई निकाे भएकाे छ ।
विराटनगर– १० स्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका उदयपुरका २८ जनासहित ३१ जना कोरोना संक्रमितमध्ये ६ जना निको भएका हुन् । उनीहरूलाई बुधबार बिहान अस्पतालले डिस्चार्ज गरेकाे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
मन्त्री घिमिरेले भने, ‘निको भएका ६ जनालाई बुधबार बिहान डिस्चार्ज गरिएकािे छ । उनीहरु सबै उदयपुरको भुल्केस्थित मस्जिदबाट ल्याइएका १३ जनामध्येका हुन् ।
पछिल्लो तीनपटकसम्म उनीहरूको स्वाबको रिपोर्ट नेगेटिभ आएको कोसी अस्पताल प्रमुख डा. संगीता मिश्राले बताइन् ।
निको भएर डिस्चार्ज भएकाहरु सबै ३० देखि ३४ वर्ष उमेर समूहका छन् । डिस्चार्ज सबैलाई विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिनेछ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. मिश्राले जानकारी दिइन् ।
उपचार गराएर फर्केका ३ जनामा फेरि संक्रमण
निको भएर घर फर्किसकेका काठमाडौँमा १ जनासहित तीनजनामा फेरि कोरोना भाइरसको संक्रमण पुष्टि देखिएको छ।
काठमाडाैैंकाे सनसिटी अपार्टमेन्टमा यसअघि संक्रमण देखिएर मुक्त भइसकेका पुरुषमा, वीरगञ्जका एक जनामा र रौतहटका एकजनामा मंगलबार फेरि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
चैत ५ मा बेलायतबाट फर्केका ती पुरुष र उनकी आमामा यसअघि संक्रमण देखिएर उनीहरु १० दिनमा संक्रमणमुक्त भई फर्केका थिए। ती पुरुषमा फेरि मंगलबार पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, मस्जिदमा बस्दै आएका १ जमाती र भारतबाट फर्केका रौतहटका १ युवकमा पनि संक्रमण दोहोरिएको हो। उनीहरु दुवैजना स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएका थिए।
तपाईको प्रतिक्रिया