गण्डकी प्रदेशमा लक डाउन खुकुलो बनाएर गाउँका विद्यालय खोल्ने तयारी

समाधान संवाददाता २०७७ वैशाख २४ गते ६:४९

आउने‍ वर्ष बजेट बढाइने

पाेखरा

गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष शिक्षा क्षेत्रमा बजेट बढाउने भएकाे छ । विद्यालय र शिक्षकलाई प्रविधिमैत्री बनाउनका लागि बजेट बृद्धि गर्न लागिएको हो । शिक्षा पत्रकार समूहले कोरोना प्रभाव र गण्डकी प्रदेशले शिक्षा व्यवस्थापनका लागि मंगलबार गरेको भर्चुअल प्रेस मिटमा सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले बताइन् ।

Advertisement

लक डाउन लम्बिँदै जाँदा परिक्षाफल प्रकाशित गर्न र नयाँ शैक्षिकसत्र सञ्चालनमा अन्यौल भइरहेका बेला सामुदायिक विद्यालयमा प्राविधिक कठिनाइले अनलाइन कक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन लागिएको उनले बताइन् ।

गण्डकी प्रदेशमा केही निजी स्कुलले मात्र सिमित अनलाइन कक्षा चलाएका छन् । केही विद्यालयले अभ्यास गरे पनि पोखरा महानगरपालिकाले सबै विद्यार्थीको पहुँच गराएर मात्र त्यस्ता कक्षा सञ्चालन गर्न भन्दै रोक लगायो । शिक्षामा सबैको पहुँच हुनुपर्छ । तर, विपन्न वर्गसंग बालबालिकासंग स्मार्ट फोन, टिभी र ल्यापटप छैन, मन्त्री पुनमगरले भनिन्, यस्तो स्थितिमा गाउँलाई कडाईका साथ लकडाउनमा राखेर विद्यालयमै कक्षा सञ्चालन गर्नेबारे छलफल हुँदैछ ।

Advertisement

कोरोना महामारी र लक डाउनका कारण विद्यालयहरुले परिक्षाफल प्रकाशित गर्न सकेका छैनन् । अधिकांश शिक्षकहरु प्रदेशबाहिरका भएकाले उनीहरु रोकिँदा विद्यालयहरुको नतिजा तयारीमा कठिनाई भएको मन्त्री पुनमगरले बताइन् । शिक्षक आए कोरोना भित्रिने डर छ, नआएसम्म परिक्षाफल प्रकाशित गर्न सकिएको छैन, उनले भनिन्, नयाँ शैक्षिकसत्र सुरु गर्न पनि प्रदेशबाहिरबाट शिक्षकहरु फर्किनुपर्ने स्थिति छ ।

गण्डकी सरकारले प्रदेशलाई सिल गरेर लकडाउन खुकुलो बनाउने र गाउँगाउँमा विद्यालय खोल्ने तयारी गरेको मन्त्री पुनमगरले बताइन् । पहिलो चरणमा थोरै विद्यार्थी रहेका गाउँका विद्यालयहरु खोलिनेछन् । तर, ती विद्यालयमा पनि बाहिरी प्रदेशका शिक्षकहरु नहुँदा पठनपाठन प्रभावित हुनेछ । विकल्पका रुपमा स्थानीय शिक्षित युवाहरुलाई स्वयंसेवक शिक्षकका रुपमा नियुक्ति गर्न प्रदेश र स्थानीय सरकारबीच छलफल चलिरहेको मन्त्री पुनमगरले बताइन् ।

धेरै विद्यार्थी रहेका विद्यालयमा भने विद्यार्थीबीच दूरी कायम गराएर भिन्न सिफ्टमा कक्षा संचालन गर्नेबारे छलफल हुँदैछ । प्रविधिको पहुँच रहेका सहरी क्षेत्रका विद्यार्थीलाई भने मोबाइल, रेडियो र टेलिभिजनबाट अनलाईन कक्षा सञ्चालन गर्न लागिएको छ । प्रदेश बाहिरका शिक्षक भित्र्याउनु र गाउँगाउँमा क्वारेन्टाइनमा परिणत भएका विद्यालयलाई पुरानै स्थितिमा फर्काउनु चुनौती रहेको मन्त्री पुनमगरले बताइन् ।

गण्डकी प्रदेशको बाग्लुङमा २ संक्रमित भेटिए पनि उनीहरु निको भएर घर फर्किसकेका छन् । अन्य जिल्लामा पनि कोरोनाको कम जोखिम रहेको विश्लेषणसहित प्रदेश सरकार लकडाउन खुकुलो पार्ने योजना बनाएको हो । अन्तर्क्रियात्मक भर्चुअल प्रेस मिटमा काठमाडाै‌ं, प्रदेश ५ र गण्डकी प्रदेशका २४ पत्रकार सहभागी थिए ।

तपाईको प्रतिक्रिया