सुक्खा पहिरोले पाइप बगायो, खानेपानीको समस्या

समाधान संवाददाता २०७७ वैशाख २५ गते १५:३१

बलेवा

सुक्खा पहिरोका कारण बागलुङ बजारमा ल्याइएको खानेपानीको मुख्य पाइप नै बगाएपछि बजार क्षेत्रमा खानेपानीको समस्या भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको जिरेदीमा सुक्खा पहिरोले खानेपानीको मुख्य पाइप बगाएपछि बागलुङ बजार क्षेत्रमा खानेपानीको समस्या भएको हो ।

केही दिन पहिला बाढीसँगै आएको पहिरोले बगाएको पाइप मर्मतकै चरणमा थियो । बुधबार मर्मत सम्पन्न गरेर पानी सञ्चालन गर्ने क्रममा माथिबाट आएको पहिरोका कारण पाइप पुनः बगाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो । काँठेखोला गाउँपालिका–७ रेशमा रहेको भुँदीखोलाबाट बागलुङ बजारमा ल्याइएको पिउने पानीको पाइप वर्षासँगैको पहिरोले बगाएपछि अघिल्ला चार दिनदेखि बागलुङ बजारका अधिकांश स्थानमा खानेपानी आपूर्ति बन्द भएको थियो । सञ्चालन गर्ने प्रयास हुँदाहुँदै सुक्खा पहिरोले दुःख दिएको शर्माले बताउनुभयो ।

रेशको जिरेदीस्थित भुदीखोलामा निर्माणाधीन पक्की पुलमाथिबाट आएको सुक्खा पहिरोले पानीको मुख्य पाइप बगाएपछि बागलुङ बजारको उपल्लाचौर, वडारचौर र श्रीनगरटोललगायतका स्थानमा खानेपानीको समस्या भएको छ । संस्थाका कर्मचारीसहितको टोली निरन्तररूपमा खटिएर डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सकेर पाइप जडान गरेपछि पुनः सुक्खा पहिरो आएर पाइप बगाएको शर्माले जानकारी दिनुभयो । “पाइप मर्मतका लागि प्राविधिकसहितको टोली परिचालन गरी काम अगाडि बढाइएको भए पनि मर्मत कार्य पूरा हुन एक साता लाग्ने छ”, प्रबन्धक शर्माले भन्नुभयो । “निर्माणकार्य जारी छ” उहाँले भन्नुभयो, “भुदीबाट ल्याएको पानी बजारमा आउन एक साता लाग्न सक्छ ।” पानी आउने मुख्य पाइप नै बगाएपछि पानी वितरणमा समस्या भएको उहाँको भनाइ छ ।

Advertisement

लकडाउनका कारण अधिकांश उपभोक्ता गाउँ गएको र बाँकी उपभोक्ताले आकासको पनि सङ्कलन गरेर काम चलाएको उहाँले बताउनुभयो । खानेपानी आपूर्तिका लागि अस्थायीरूपमा पाइप जडान गरेर खानेपानी आपूर्तिमा सहज बनाउने प्रयास भइरहेको थियो । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेशखोला मुहान र भुदीखोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अहिले रिठेखोलाबाट तीन दशमलव पाँच लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर प्रतिसेकेन्ड र भुदीबाट २० लिटर प्रतिसेकेन्ड पानी दैनिक आउने गरेको छ । पहिरोले पाइप बगाएर पानी बन्द हुँदा बागलुङ बजारका चार हजार धारा प्रयोग गर्ने ३० हजारभन्दा धेरै उपभोक्ता प्रभावित भएका छन् ।

तीन वटा मुहानबाट ल्याइएको पानी बजार क्षेत्रभित्र पर्याप्त नभएकोले काठेखोला मुहानबाट लिफ्ट सिस्टमबाट पानी ल्याउने कामसमेत संस्थाले अगाडि बढाएको छ । बागलुङ नगरपालिकाभित्रका उपभोक्तालाई सफा र स्वच्छ खानेपानी खुवाउने उद्देश्यले बागलुङ नगरपालिका–३ काँठेखोलाको पानी लिफ्ट प्रणालीबाट बागलुङ बजारमा ल्याउन लागिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताउनुभयो । नयाँ योजनाबाट प्रतिसेकेन्ड ७० लिटर पानी आउने गरी तयारी भइरहेको उहाँको भनाइ छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया